एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनसँग लज्जास्पद हार बेहोरेको छ ।
शनिबार राति ब्राइटनको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेड ब्राइटनसँग ४- ० ले पराजित भएको हो । खेल अवधिभर म्यानचेस्टर युनाइटेड निरिह जस्तै देखिन्थ्यो ।
ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस जेनिस, बेन मी र बायर्न एमबेउमोले समान एक(एक गोल गरे। ब्राइटनले सुरुवाती ३५ मिनेटमै ४-० को अग्रता बनाएको थियो।
खेलको १० औँ मिनेटमा डासिल्भाले गोल गरी ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए। १८ औँ मिनेटमा जेनिसले गोल गर्दै ब्राइटनको अग्रता दोब्बर पारे। ३० औँ मिनेटमा बेन मीले गोल गरी ब्राइटनलाई ३-० ले अगाडि बढाए। ३५ औँ मिनेटमा एमबेउमाले गोल गर्दै ब्राइटनलाई ४-० ले शानदार जित दिलाए।
जितपछि ब्राइटन २ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा छ। लगातारको हारसँगै युनाइटेड पुछारमा छ।
यस्तै, गए राति नै भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले सहज जित निकालेका छन्
सिटीले घरेलु मैदानमा बर्नेमाउथलाई ४-० ले पराजित गर्यो। लगातार दोस्रो जित निकाल्ने क्रममा आर्सनलले लेस्टर सिटीलाई ४-२ ले हरायो।
यस्तै, अन्य खेलमा साउथह्याम्पटन र लिड्स युनाइटेडले २-२, ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेले।