एशियन कप छनोट फुटबलमा नेपाल र बङ्गलादेश भिड्दै

एशियन कप छनोट फुटबलमा नेपाल र बङ्गलादेश भिड्दै

२०७९, आश्विन २ आइतवार

  • 1.2K
    SHARES

  • एशियन कप छनोट फुटबलमा नेपाल र बङ्गलादेश भिड्दै

    काठमाडौँ ।बहराइनमा जारी एएफसी यू–२० एशियन कप फुटबल छनोट खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दै छ । 

    बहराइनको शेख अलि बिन मोहमद अल खालिफा रङ्गशालामा नेपालले समूह चरणको चौथो तथा अन्तिम खेलमा बङ्गलादेशको सामना गर्ने भएको हो । 

    नेपाल र बङ्गलादेश बीचको खेल आज राति ८ः४५ बजेदेखि सुरु हुनेछ । छनोट खेलमा लगातार तेस्रो हार बेहोरेको नेपाल बङ्गलादेश विरुद्धको खेलमा पहिलो जीत हात पार्दै प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ ।

    नेपाल पहिलो खेलमा भुटानसँग २–० गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल कतारसँग ३–१ तथा तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० गोल अन्तरले पराजित भएको थियो । हारसँगै नेपालको एशियन कप खेल्ने सपना समाप्त भइसकेको छ ।

    विभिन्न पाँच राष्ट्र सहभागी समूह ‘बी’ मा नेपाल अङ्क तालिकाको अन्तिम स्थानमा छ । 

    त्यस्तै बङ्गलादेश भने दोस्रो जीतको खोजीमा छ । बङ्गलादेश ३ खेलमा ४ अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा छ । बङ्गलादेशले भुटानलाई हराएको थियो भने बहराइनसँग गोलरहित बराबरी खेलेको थियो । 

    यसैगरी भुटानले चार खेलमा तीन अङ्क जोडेको छ । यस समूहबाट आयोजक बहराइन र कतारमध्ये एक टोली समूह विजेता बन्दै सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एशियन कपमा स्थान बनाउनेछ । 

    जारी छनोट खेलमा आयोजक बहराइनको सात अङ्क रहेको छ भने कतारको नौ अङ्क छ । करार र बहराइनबीचको खेल पनि आजै हुनेछ । उक्त खेल राति ११ः४५ बजे हुनेछ । 

    २०७९, आश्विन २ आइतवार०१:४९:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार