काठमाडौँ । नेपाल टेलिकमले मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश Group SMS पठाउन सकिने सुविधा ल्याएको छ। टेलिकमले मंगलबारदेखि कात्तिक २१ गतेसम्म प्रयोग सकिने गरी सुविधा ल्याएको हो।
यो अफर अन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने सामूहिक सन्देश सेवा उपलब्ध हुनेछ। प्रति सन्देश मात्र ५० पैसामा पठाउन सकिने यस प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा एक हजार मात्र लाग्नेछ।
त्यसैगरी २,५०० मा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने प्याक र ५ हजारमा १० दिन भित्रमा १०,००० एसएमएस पठाउन सकिने प्याक उपलब्ध हुनेछ।
कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने सुविधामा लाग्ने दस्तुरमा कुनै पनि कर समावेश नगरिने टेलिकमले जनाएको छ।
यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्नेछ ।
यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो contact मा भएका नम्बरहरु excel sheet मार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ।