बौद्ध । काठमाडौं महानगरपालिका वडा नं ६ सुबिगाउमा निर्माण गरिएको सामुदायिक भवन उद्घाटन गरिएको छ ।
श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोग तथा हाम्रो स्वच्छ टोल सुधार समितिको समन्वयमा निर्माण गरिएको उक्त भवनको शनिबार एक कार्यक्रमका बीच प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले उद्घाटन गरेका हुन् ।
करिब ४० लाखको लागतमा दुइ चरणमा निर्माण गरिएको उक्त दुइ तले सामुदायिक भवन उद्घाटन कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ६ का वडा सदस्य देव बज्राचार्य श्री बौद्धनाथ क्षेत्र विकास समितिको कायकारी निर्देशक शान्ती माया तामाङ, सदस्यहरु पशुपतिनाथ (श्याम)खतिवडा, रग्वा शेर्पा, शैलेश श्रेष्ठ, इन्जीनियर रमेश धिमाल, आयोजक संस्थाका पदाधिकारीहरु सहित स्थानीयको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता हाम्रो स्वच्छ टोल सुधार समितिका अध्यक्ष हिरामाया लामाले गरेकी थिइन् ।

राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले पानसमा दिप प्रज्वलन गर्नुको साथै उक्त भवनको शिलालेख अनावरण गरि उद्घाटन गरेका हुन् । कार्यक्रममा हाम्रो स्वच्छ टोल सुधार समितिका सदस्य आशामाला तामाङले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेकी थिइन ।
भवन उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले आयोजकलाइ धन्यवाद दिदै उक्त सामुदायिक भवनलाई बहुउपयोगमा ल्याउन पर्ने बताए । उनले उक्त भवनको संरक्षण गरि हेर्न लायक बनाउन निरन्तर लागिरहन अनुरोध समेत गरेका थिए । उक्त भवन सामुदायिक हितको निम्ति प्रयोगमा ल्याउन अनुरोध गरेका थिए ।
भवन निर्माण संगै समुदायलाइ आवश्यक पर्दा बिवाह, छेवार, भोज भतेर लगायत सामाजिक रितिरिवाजका कार्यक्रमका साथै सार्वजनिक, सांस्कृतिक कार्यक्रम, तालिमगोष्ठी संचालन गर्न सहज हुने बिश्वास ब्यक्त गरे । भवन नहुँदा त्यस्ता कार्यक्रम ब्यक्तिका घर बिध्यालयका कोठा र चौतारीमा भेला बैठक आयोजना गर्नु पर्ने र कतिपय अवस्थामा झरीमा रुझ्दै र चर्को घाममा कार्यक्रम आयोजना गर्नुपर्ने बाध्यता पनि भवन बने संगै हटेको बताए ।

उनले उक्त समुदायमा रहेका बालबालिकालाई अतिरिक्त कक्षा संचालन गर्न पनि भवन उपयुक्त रहेको बताए। उनले दिउँसो बिध्यालय जाने बालबालिकाहरुलाई उक्त सामुदायिक भवनमा बिहान र बेलुका निस्शुल्क अतिरिक्त कक्षा (ट्युसन) संचालन समेत गर्न सकिने बताए ।
त्यसो गर्दा बालबालिकाको शैक्षिक सुधार हुने उनको भनाई छ । उनले त्यसको लागि श्री बौद्धनाथ क्षेत्र विकास समितिले सहयोग गर्ने समेत बताएका थिए। उनले आजका बालबालिका भोलिका कर्णधार भएका हुँदा उनीहरुलाई असल संस्कार सहितको शिक्षा आजको आवश्यकता भएको बताए ।
बालवालिकालाई असल संस्कार र शिक्षा प्रदान गर्न सकिएन भने तिनै बालवालिका नै भबिष्यमा बोझ बन्न पुग्ने बताउदै बालबालिकालाई असल संस्कार र शिक्षा दिन जरुरी रहेको बताए । त्यसैलाइ मध्यनजर गर्दै क्षेत्र विकास समितिले शिक्षामा नया योजना ल्याउन लागेको पनि बताएका थिए ।
अध्यक्षताको आसन बाट बोल्दै हाम्रो स्वच्छ टोल सुधार समितिका अध्यक्ष हिरामाया लामाले श्री बौद्धनाथ क्षेत्र विकास समितिलाई धन्यवाद दिदै आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोगको अपेक्षा राखेकी थिइन् ।
