झापाका स्थानीय तहले बुझाएनन् पूर्ण खोपको प्रतिवेदन

झापाका स्थानीय तहले बुझाएनन् पूर्ण खोपको प्रतिवेदन

२०८०, जेठ ३२ बिहिवार

  • 829
    SHARES

  • झापाका स्थानीय तहले बुझाएनन् पूर्ण खोपको प्रतिवेदन

    बनियानी । झापाका १४ स्थानीय तहले पूर्ण खोप सुनिश्चितताको प्रतिवेदन बुझाएका छैनन् ।

    पालिकास्तरको नगर खोप समन्वय समितिले वैशाख महिनाभित्रै पूर्ण खोप सुनिश्चित भएको तथ्याङ्कसहितको प्रतिवेदन जिल्ला खोप समन्वय समितिलाई बुझाउनुपर्ने भए पनि हालसम्म नबुझाएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो ।

    जिल्लाका १५ स्थानीय तहमध्ये कनकाई नगरपालिकाले मात्र प्रतिवेदन बुझाएको छ । प्रतिवेदन नबुझाएका कारण जिल्ला खोप समन्वय समितिको बैठक बस्न नसकेको प्रमुख बाराकोटीले बताउनुभयो ।

    “खोप नलगाउने बालबालिकामा सङ्क्रमणको जोखिम धेरै हुन्छ”, उहाँले भननुभयो । बालबालिकामा देखिने महामारी नियन्त्रण, न्यूनीकरण र पूर्वतयारीका लागि पूर्ण खोपको विवरण आवश्यक हुने उहाँको भनाइ छ ।

    पालिकाबाट आएको प्रतिवेदनका आधारमा जिल्लालाई प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिन्छ । सरकारले दिने आवश्यक सहयोग र नगरपालिकाले बजेटमा समेट्नुपर्ने कुराका लागि पनि खोपको तथ्याङ्क आवश्यक हुन्छ ।

    भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईले पूर्ण खोपको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले आइतबारदेखि अनुगमन गरिने बताउनुभयो । नगरमा खोप लगाउन छुटेका एक सय १२ तथा खोप नै नलगाएका दुई जना फेला परेको उहाँले जानकारी दिनुभयो ।

    २०८०, जेठ ३२ बिहिवार०७:११:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार