आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैन : औषधि व्यवस्था विभाग

आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैन : औषधि व्यवस्था विभाग

२०८०, भाद्र १३ बुधवार

  • 897
    SHARES

  • आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैन : औषधि व्यवस्था विभाग

    काठमाडौँ । औषधि व्यवस्था विभागले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस)मा प्रयोग हुने औषधिको अभाव नभएको जनाएको छ । 

    आँखा पाक्ने रोगका बिरामी बढेपछि केहीले औषधि अभावको हल्ला फिँजाए पनि पर्याप्त मात्रामा औषधि भएको विभागको भनाइ  छ । 

    विभागका महानिर्देशक नारायणप्रसाद ढकालले आँखा पाक्ने रोगको औषधि पर्याप्त मात्रामा रहेको जानकारी दिए । “आँखा पाक्ने सङ्क्रमण बढेसँगै केहीले औषधिको अभाव छ भनेर हल्ला फिँजाएर कालोबजारी गर्न खोजेको देखिन्छ”, उनले भने, “तर हामीसँग पर्याप्त मात्रामा आँखामा पाक्ने औषधि ‘आई ड्रप’ छ । आँखा अस्पताल र अस्पताल अगाडि रहेका औषधि पसलमा यो औषधि पाइन्छ ।”

    एभरेष्ट पारान्टेरलल्स् सञ्चालक उमङ्ग रानासरियाले आँखा पाक्ने सङ्क्रमण बढे पनि औषधिको अभाव हुन नदिएको बताए । “सङ्क्रमण बढेसँगै औषधिको माग बढेको छ  तर हामीले बढेको मागबमोजिम  आपूर्ति गरिरहेका छौ”, उनले भने, “आँखा अस्पतालमा हामीले प्रशस्त मात्रामा औषधि उपलब्ध गराएका छौ ।”

    सञ्चालक रानासरियालका अनुसार माग बढेसँगै अहिले उत्पादन पनि तीन गुणा बढी भइरहेको छ । अहिले मासिक ९० हजार भाइल औषधि उत्पादन गरिरहेको उनको भनाइ थियो । 

    नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले आँखामा हाल्ने ‘आई ड्रप’को अभाव हुन नदिन र  मागअनुसार आपूर्ति भइरहेको बताए । 

    आँखा पाक्ने रोगका लक्षणहरू आँखा रातो हुनु र चिलाउनु, आँखाबाट आँसु बगिरहनु वा कचेरा/चिप्रा लाग्नु, आँखाको ढकनी रातो हुनु, सुन्निनु, आँखा बिझाउनु/दुख्नु र घाममा वा उज्यालोमा हेर्न गाह्रो हुनुजस्ता समस्या भाइरल ‘कन्जङ्क्टिभाइटिस’ मा हुने गर्दछ ।

    भाइरल ‘कन्जङ्क्टिभाइटिस’को सङ्क्रमण भएपछि जथाभाबी आँखा नछुने, आँखा छुनु परेमा साबुन पानीले राम्ररी हात धुने गर्नुपर्दछ । 

    यस्तै बाहिर घाममा निस्कँदा कालो चस्मा प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका  सामान अन्य व्यक्तिलाई प्रयोग गर्न दिनुहुँदैन ।

    २०८०, भाद्र १३ बुधवार०५:००:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार