नगरसभामा जनताका समसामयिक समस्याका बारेमा छलफल

नगरसभामा जनताका समसामयिक समस्याका बारेमा छलफल

२०७७, माघ ५ सोमवार

  • 1.8K
    SHARES

  • नगरसभामा जनताका समसामयिक समस्याका बारेमा छलफल

    माघ ५, भादगाउँ ।

    भक्तपुर नगरपालिकाको चालु आठौँ नगरसभामा जनताका समसामयिक समस्याका बारेमा छलफल भएको छ ।

    गत पुस २९ गते शुरु भएको भक्तपुर नगरको आठौँ नगरसभाको दोस्रो दिन आइतबार बसेको बैठकमा कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णय, नक्सापासमा देखिएको जनगुनासो, नगरपालिकाको सेवा प्रवाहलगायतका विषयमा छलफल भएको हो ।

    नगरसभामा सभाका अध्यक्ष नगरप्रमुख सुनिल प्रजापतिले स्मार्ट सिटीको नाममा काठमाडौँ उपत्यकामा ठूलाठूला नयाँ शहरको विकासले खानेपानीको अभाव, अपराध सङ्ख्यामा वृद्धि, प्रदूषण, ट्राफिक चापलगायतका समस्याहरु निम्तिने बताउँदै स्मार्ट सिटीको अवधारणाले गरीब जनता विस्थापित हुँदै जाने खतरा रहेको औँल्याए ।

    उनले नगरपालिका नगरका सार्वजनिक सम्पत्ति तथा पर्ति जग्गा संरक्षणमा निरन्तर लागिरहेको जानकारी दिँदैं दरबार क्षेत्रस्थित ९९ चोक संरक्षण गर्ने नीतिअनुरुप नगरपालिका अगाडि बढिरहेको प्रष्ट पारे । 

    कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय किसानविरोधी भएको भन्दै उनले कृषिमा विदेशी लगानी भित्र्याउँदा अनेक खालको विकृति र बेरोजगारीको समस्याहरु आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताए ।

    उनले भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित धुवाँ, धुलो र रसायन फाल्ने उद्योगहरू सरकारी नीतिअनुसार तत्काल स्थानान्तरणको लागि नपाले पहल गरिरहेको जानकारी दिँदै भक्तपुर क्यान्सर अस्पताल नेपाल सरकारको स्वामित्वमा गएपछि जनताले सस्तो सेवा सुविधा पाउने बताए । 

    सभाको विशेष समयमा सभासद्हरु श्यामसुन्दर मातां, हरिरत्न गोर्खाली, जितेन्द्र मुनंकर्मी, राजेन्द्र माक, इन्द्रबहादुर प्याठ, शिवप्रसाद बाला, सूर्यप्रसाद श्रेष्ठ, रत्नकाजी नायभारी, कृष्णगोपाल चौगुठी, बलराम न्हिसुतु र गोविन्द दुवालले समसामयिक राजनीति, नगरवासीहरुको समस्या र नगरपालिकाले जनताको पक्षमा गर्नुपर्ने कार्यहरुलगायतका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

    उनीहरुले सरकारले कृषि क्षेत्रमा नवउदारवादी नीति लागू गर्न खोजेमा आपत्तिजनक भएको र कोभिड नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका उल्लेखनीय हुन नसकेको बताए ।

    सभासद्हरुले नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयलाई दक्ष जनशक्तिसहितको इ–लाइब्रेरी बनाउनुपर्ने, आधुनिक किसिमको बीउविजन उत्पादनमा जोड दिनुपर्ने, नक्सापासमा देखिएको जनगुनासो सम्बोधन गर्नुपर्ने, सम्भावित दुर्घटना न्यूनीकरणका लागि पार्किङ व्यवस्थापनमा ध्यान पुर्याउनु पर्ने, देशमै मल कारखाना स्थापना गर्नुपर्नेलगायतका धारणाहरु व्यक्त गरेका थिए । 

    बैठकमा उठेका जिज्ञासामाथि शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्य रविन्द्र ज्याख्व, निर्माण समितिका संयोजक उकेश कवाँ, कृषि समितिका संयोजक राजकृष्ण गोरा र देको मिवा इतापाके आवास योजना उपभोक्ता समितिका सदस्य हरिप्रसाद बासुकलाले जवाफ दिएका थिए । 

     सभामा न्यायिक समितिका सदस्य हरिराम सुवालले ‘श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालन नियमावली—२०७७’ छलफलका लागि प्रस्तुत गरे । नगरसभाको अर्को बैठक माघ ६ गते मङ्गलबार दिनको १ बजे बस्ने गरी स्थगित भएको सभा अध्यक्ष प्रजापतिले बताए । 

    २०७७, माघ ५ सोमवार०६:४९:०९
    प्रतिक्रिया
    सम्बन्धित समाचार