काठमाडौं । भगवान गौतम बुद्धको २५६८औं जन्म जयन्तीको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना हुने भएको छ ।
जेठ १० गते अर्थात वैशाख पूर्णिमालाई व्यापक वनाउन श्री बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा जेठ ५ गतेदेखि १० गतेसम्म सप्ताहव्यापी कार्यक्रम हुने भएको हो ।
बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिनलाई वैशाख पूर्णिमाको दिन बुद्ध जयन्ती र बौद्ध दिवस भव्य रुपमा मनाउन लागिएको क्षेत्र विकास समिति अध्यक्ष राजकुमार लामाले बताए ।
कार्यक्रम विद्यार्थी लक्षित हुँदै युवा, प्रौढ सबैलाई समेट्ने गरि आयोजना हुनेछन् । जेठ ५ गते शनिबार तामाङ कल्याण गुठीमा विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता बिहान ८ बजेबाट गरिने छ । यस्तै, ६ गते आईतबार बौद्ध स्तुप परिसरमा बिहान ८ बजेबाट विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुनेछ ।

यसैगरी, जेठ ७ गते सोमबार बिहान ८ बजेबाट बौद्ध स्तूप परिसरमा कविता वाचनर कवि गोष्ठी कार्यक्रम सञ्चालन हुनेछ भने जेठ ८ गते मंगलबार बौद्ध स्तूप परिसरमै विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता बिहान ८ बजेबाट सुरू गरिने आयोजकले जनाएको छ ।
जेठ ९ गते बुधबार भने बौद्ध धर्म र बौद्ध शिक्षा प्रवचन कार्यक्रम रहेको छ । यस्तै, जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन बौद्ध स्तूप परिसरमा बिहान ६ बजेदेखि शान्ति दौड, प्रभातफेरिर खिर वितरण बिहान ८ बजेबाट गरिने र औपचारिक कार्यक्रम बिहान ९ बजे रहेको आयोजकले जनाएको छ । यसैगरी, दिउँसो तिनबजेदेखि बौद्ध स्तूप परिसर, बौद्ध पिपलबोट, बौद्ध टुसाल हुदै ह्ययात होटल गेटसम्म शान्ति -याली गरिनेछ ।
वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन छ । काठमाडौँको बौद्ध, स्वयम्भूनाथ, चाबहिलमा रहेको चारुमति विहार लगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्ध लगायत स्थानमा उक्त दिन विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ ।
संसारभरि फैलिएको बुद्ध दर्शनको उद्गम विन्दु नेपालमा भएकाले नेपाललाई शान्तिको देश पनि भनिन्छ । गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीले भगवान विष्णुका १० अवतार मध्ये एक अवतार मान्दछन् ।
