काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा नेपालले आजबाट औपचारिक सुरुवात गर्दैछ। आफ्नो पहिलो खेलमा नेपालले राति ९:१५ मा नेदरल्यान्ड्सविरुद्ध डालसमा प्रतिस्पर्धा गर्नेछ।
समूह ‘डी’मा रहेको नेपालले नेदरल्यान्ड्ससँगै अन्य तीन टेस्ट राष्ट्रको सामना गर्नेछ। नेपालको समूहमा श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन्।
जारी विश्वकपमा दुई ओटा समूहलाई ग्रुप अफ डेथका रूपमा हेरिएको छ। जसमा नेपाल रहेको समूह ‘डी’ एउटा हो। जहाँ तीन टेस्टसहित नेदरल्यान्ड्स र नेपाल जस्ता बलिया एसोसिएटेड देशहरू रहेका छन्।
नेपालको सुपर- ८ मा पुग्ने लक्ष्यमा आजको पहिलो खेलनै महत्त्वपूर्ण हुनेछ। आत्मविश्वास र टेस्ट टोलिमाथि मानसिक दबाब बनाउन पनि आज नेपालले नेदरल्यान्ड्सलाई पराजित गर्नुपर्नेछ। तर, नतिजा आफ्नो पक्षमा नआएमा भने नेपालको अघिल्लो चरण प्रवेश सम्भावना पहिलो खेलबाटै कमजोर हुनेछ।
नेपाल र नेदरल्यान्ड्सबीच टी- २० अन्तर्राष्ट्रियमा अहिलेसम्म १२ खेल भएका छन्। नेपाल ५ खेलमा विजयी हुँदा नेदरल्यान्ड्सले ६ खेल आफ्नो पक्षमा पारेको छ। एक खेल नतिजाविहीन भएको थियो। नेपालले जितेका ५ मध्ये ३ खेल घरेलु मैदान टीयुमा छन्। यसै वर्षमात्र नेपालले गत मार्चमा तीन खेल खेलेको थियो।
त्रिकोणात्मक सिरिजमा लिगचरणमा दुई खेल र फाइनलमा एक खेल खेलेको थियो। लिग चरणको पहिलो खेल नेदरल्यान्ड्सले जितेको थियो भने दोस्रो खेलमा नेपालले जितेको थियो। फाइनलमा भने नेदरल्यान्ड्स विजयी हुँदै सिरिज कब्जा गर्न सफल रह्यो।
नेपाली टोलीका कप्तान रोहित पौडेलले १० वर्षपछि विश्वकप खेल्न लाग्दा केही नर्भस फिल भएपनि टोली आत्माविश्वासी भएर मैदानमा उत्रिने बताए। उनले ठूलो सपना पुरा गर्नका लागि टिम तयार रहेको भन्दै जिम्मेवारीपूर्ण प्रदर्शन गर्ने विश्वास ब्यक्त गरे।
डच प्रशिक्ष रयान कुकले नेपालविरुद्धको सिरिजमा रहेका खेलाडीहरुमा केही परिवर्तन गरेको र टिममा अनुभवी र नयाँ खेलाडी रहेको बताए। उनले विश्वकपमा सबै टिमहरू उतिकै बलियो हुने र त्यसमा नेपाल पछिल्लो समय निकै उत्कृष्ट प्रदर्शन गर्दै आएकाले यो खेललाई महत्त्वपूर्ण रूपमा लिएको बताए। -एजेन्सी ।