प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक व्यवस्थानुसार भएको जिकिर

प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक व्यवस्थानुसार भएको जिकिर

२०७७, माघ २० मंगलवार

  • 1.3K
    SHARES

  • प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक व्यवस्थानुसार भएको जिकिर

    माघ २०, काठमाडौं ।

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइको चौथो दिन आज महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको बहस हुँदाहुदै समयाभावका कारण मङ्गलबार पुनः हुने तय भएको छ ।

    सरकारका प्रमुख कानूनी सल्लाहकार खरेलले बहुमतप्राप्त दलको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार भएर नै प्रतिनिधिसभा विघटन गरेको तर्क राखे ।

    “संविधानमा प्रतिनिधिसभा पाँच वर्षको हुने व्यवस्था छ, त्यो कार्यकाल पूरा नभएमा संविधानले विघटनसम्बन्धी व्यवस्था अगावै निर्वाचन गर्न सक्ने व्यवस्था छ ।”

    कानूनको शासन अवलम्बन गर्ने हो भने जनताको जनमतको सम्मान गर्नुपर्ने तर्क राख्दै उनले थपे, “बहुमतको सरकार छ, जनताले चुनेर पठाएका छन्, म जनताप्रति जिम्मेवार हुनुपर्छ भन्ने प्रधानमन्त्रीको लिखित जवाफ नै छ ।”

    उनले नेपालको संविधानको धारा ७६ (७) मा प्रतिनिधिसभा विघटनको व्यवस्था भएको जिकिर पनि गर्नुभयो ।

    नेपालको संविधानको धारा ७६ को (७) को उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने भन्ने व्यवस्था  छ ।

    महान्यायाधिवक्ता खरेलले वर्तमान सरकार पाँच वर्षका लागि बने पनि कार्यकाल पूरा गर्न नपाउँदा संविधानबमोजिम विघटन गरी निर्वाचनमा गएको तर्क राखे ।  

    रिट निवेदकका तर्फबाट आइतबार बहस सकिएपछि आजदेखि सरकार पक्षको बहस शुरु भएको हो । रिट निवेदक र कानून व्यवसायी गरी ६८ जनाले बहस गरेका थिए ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । यही माघ ४ गतेदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस शुरु गरिएको हो ।

    गत पुस ११ गतेदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो ।

    उक्त विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२, २९ गते हुँदै यही माघ २ गते संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको हो ।

    रिट निवेदक १३ मध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएकाले क्षेत्राधिकारका विषयमा लामै बहस र छलफल भयो ।
     
    गत पुस १० गते संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।

    आदेशानुसार राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखले गत पुस १९ गते महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गरिसकेका छन्  ।

    अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिश र निर्णयको सक्कल प्रति राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउने तथा प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्ट्रार समेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश जारी गरेको थियो ।

    अदालतका सहयोगी (एमिकस क्युरी) मा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहनुभएको छ ।

    प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गरेका थिए । 

    रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ ।

    त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, भण्डारी, दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर ओली, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र अच्युतप्रसाद खरेलले निवेदन दायर गरेका थिए । 

    कानून व्यवसायीले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिश र सो सिफारिशका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही तथा सो सिफारिशका आधारमा भएगरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा, १३३ को उपधारा, २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ । 

    २०७७, माघ २० मंगलवार०७:२०:४८
    प्रतिक्रिया
    सम्बन्धित समाचार