काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।
मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्था थप बिग्रेको हो। जोशीलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको नर्भिक अस्पतालले जनाएको छ।
जोशीलाई गत फागुन १३ मा मस्तिष्कघात भएको थियो। केही दिनको उपचारपछि उनको स्वास्थ्यमा सुधार भएको थियो।
तर पछिल्लो समय उनको स्वास्थ्य अवस्था बिग्रेको चिकित्सकहरूले बताएका छन्।
‘आफैंले श्वासप्रश्वास गरेपछि केही दिन भेन्टिलेटरको सपोर्टबिना राखिएको थियो। अवस्था बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेका छौं। हाल भेन्टिलेटरमै उहाँको उपचार जारी छ,’ अस्पतालले बुधबार बिहान विज्ञप्ति निकालेर भनेको छ ।
डाक्टर राजिव झा नेतृत्वको चिकित्सक टोलीले जोशीको उपचार जारी राखेको छ।
उनमा सुगर, उच्च रक्तचाप लगाएतका स्वास्थ्य समस्या रहेका थिए ।