सीमानाकामा ६४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण

सीमानाकामा ६४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण

२०७७, चैत्र १७ मंगलवार

  • 1.5K
    SHARES

  • सीमानाकामा ६४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण

    बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा एन्टिजेन विधिबाट ६४ जनाको कोरोना परीक्षण गरिएको छ ।

    कोरोना भाइरस सङ्क्रमण रोकथामको प्रयासस्वरुप सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’मार्फत नेपाल फर्किने नागरिकको चैत १० गतेदेखि उक्त विधिबाट  परीक्षण शुरु गरिएको  हो । 
     
    नाकाबाट फर्किने सबैको नभएर भारतका अति कोरोना प्रभावित क्षेत्रबाट फर्केका नागरिक, ज्वरो आएका नागरिकको मात्रै कोरोना परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।  

    हालसम्म ६४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको छ । कुनै पनि व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए नभएको जानकारी एन्टिजेन परीक्षणबाट पत्ता लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

    कुनै पनि व्यक्तिमा कोरोना भए नभएकाबारे स्थलगतरुपमै पत्ता लगाउने छोटो र सजिलो प्रविधि एन्टिजेन परीक्षण भएको जनाइएको छ ।

    पछिल्ला दिनमा भारतमा कोरोना भाइरस सङ्क्रमण र मृत्युदर वृद्धि भएको देखिएपछि प्रदेशका सीमावर्ती जिल्लामा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्ने सम्भावना बढेको छ। छिमेकी देश भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै सुदूरपश्चिमका नाकाहरुमा पनि उच्च सतर्कता अपनाइएको छ ।

    भारतका कोरोना प्रभावित क्षेत्रबाट फर्केकाहरुको नाकामा अनिवार्य एन्टीजेन विधिबाट कोरोना परीक्षण हुँदै आएको हो ।  कोरोनाको दोस्रो लहरको जोखिम भएकाले स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा जोड दिइएको छ ।

    यसअघि जिल्ला प्रशासन कार्यालय बैतडीले पनि जोखिम बढ्नसक्ने भन्दै सतर्कता अपनाउनका लागि १० बुँदे आदेश जारी गरिसकेको छ ।  

    २०७७, चैत्र १७ मंगलवार०७:३३:२७
    प्रतिक्रिया
    सम्बन्धित समाचार