काठमाडौँ । भट्टराई कुलवंश प्रतिष्ठानको २७ औ वार्षिक साधारण सभा तथा ९ औ केन्द्रीय महाधिवेशन तयारी अन्तिम चरणमा पुगेको छ ।
यहि चैत्र २०/२१ गते पोखरामा हुने महाधिवेशनका लागि एक समिति र ९ वटा उपसमिति नै निर्माण गरेर दुई महिना अगावै कार्ययोजना अगाडी बढाइएको थियो । तदनुरुप समिति र सबै उपसमितिले तिब्र गतिमा आफ्ना गतिविधि अगाडी बढाएका प्रचारप्रसार समिति सहसंयोजक अजित कुमार भट्टराईले बताए ।
यसपटक सातै प्रदेश समिति तथा ६६ जिल्ला गठन भइसकेको आयोजकले जनाएका छन् । त्यसै गरि विदेशमा म्यानमार, सिक्किम, आसाम, बंगाल राज्य समितिबाट समेत प्रतिनिधिहरु महाधिवेशनमा सहभागी हुने छन् ।

प्रतिनिधिका विषयमा विधानतः स्पष्ट व्यवस्था भएका कारण निर्वाचित तथा मनोनित प्रतिनिधिहरु मात्र अधिवेशनमा सहभागी हुन सकिने प्रावधान रहेको छ ।
प्रतिष्ठानको संगठन विस्तार भइरहँदा वंशावलीमा नाम छुट नै प्रमुख समस्या देखिएको वागमती प्रदेश अध्यक्ष नारायण भट्टराईले बताए । त्यसै गरि विधानमा थप परिमार्जन आवश्यक देखिएको पनि उनले बताएका छन् । यस अधिवेशनले पदाधिकारी तथा सदस्यहरु समेत निर्वाचित गर्ने छ ।
अधिवेशनमा भागलिन केन्द्रीय पदाधिकारी तथा सदस्यहरु आज बेलुका सम्ममा पोखरा पुग्ने बताइएको छ । महाधिवेशन व्यवस्थापन मुल समितिको संयोजकमा प्रतिष्ठान गण्डकी प्रदेश अध्यक्ष शैलेन्द्रमोहन भट्टराई रहेका छन् ।
कुलवंश प्रतिष्ठानको केन्द्रीय कार्यालय झापा दमकमा रहेको छ ।