काठमाडौं । नेपाल पत्रकार महासंघमा अध्यक्षका लागि विपुल पोखरेलको जित सुनिश्चित भएको छ । भरखरै मत गणना सकिएपनि नुवाकोटसहित केहि जिल्लाको मत परिणाम आउन ढिलाई भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरिसकेको छैन ।
तेर्ह हजार मतदाता रहेको महासंघमा पोखरेलले २ हजार १ सयभन्दा बढीको अग्रता लिएका छन् । निर्वाचन समितिका अनुसार अधिकांश उनकै प्यानलका उम्मेदवार विजयी भएका छन् । अन्तिम नतिजा साँझ ५ बजे हुने बताइएको छ ।
नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
एमालेको ओली समूह निकट प्रेस चौतारीले जनता समाजवादी पार्टीसम्वद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित ९ वटा संघसँग मिलेर निर्मला शर्मालाई अध्यक्षको उम्मेदवार बनाएको थियो । गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
महासंघ पदाधिकारी चुन्न महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन भएको हो ।