काठमाडौं । संसद् अधिवेशनको पूर्वसन्ध्यामा दुई मन्त्रीसहित २६ सांसदहरू कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई एकान्तवासमा रहेका छन्।
मन्त्रीहरू भानुभक्त ढकाल र जुली महतो एवम् अन्य सङ्क्रमित सांसदहरूलाई आगामी साता प्रधानमन्त्रीको विश्वासको मत लिने प्रतिनिधिसभाको बैठकमा मत हाल्ने अवसर मिलाउनमा संसद सचिवालयलाई चटारो देखिएको छ ।
कोभिड सङ्क्रमणको दोस्रो लहर पहिलो भन्दा धेरै घातक रहेका कारण उपत्यकासहित देशका अधिकांश जिल्लामा निषेधाज्ञा छ ।
सोमवार विशेष अधिवेशन अगावै आइतवार बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले सङ्क्रमित सांसदहरूका लागि मतदानको व्यवस्था गर्ने प्रक्रियाबारे निर्णय गर्ने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताएका छन्।
विश्वासको मत लिने प्रस्ताव सफल वा असफल बनाउन थोरै सांसदहरूको सङ्ख्याले समेत फरक पर्ने भएकाले सबैलाई मतदानको व्यवस्था कसरी गर्ने सभामुख छलफलमा रहेका बताइएको छ ।
बुधवार र बिहीवार संसद् भवन नयाँ बानेश्वरमा २०५ जना सांसदको परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट आउँदा १८ जनामा सङ्क्रमण पुष्टि भएको संसद् सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार सबैभन्दा धेरै सत्ताधारी नेकपा एमालेका १६ जना सांसदलाई सङ्क्रमण पुष्टि भएको छ भने जनता समाजवादी पार्टीका पाँच जना, नेपाली काँग्रेसको तीन जना र माओवादी केन्द्रका दुई जना सांसद सङ्क्रमित छन्।
एमालेका सङ्क्रमितमध्ये दुईजना मन्त्री र एकजना पूर्वप्रधानमन्त्री समेत रहेको सचिवालयले जनाएको छ।
सत्ताधारी नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सङ्क्रमित सांसदहरूलाई छुट्टै हलमा मतदानको व्यवस्था गरेर भए पनि विश्वासको मत लिने कार्यक्रम नरोकिने बताएका छन् ।
उनका अनुसार २७ गते नै विश्वासको मतमा मतदान गरेर प्रतिनिधिसभा अधिवेशन अन्त्य गरिनेछ।
कुनै पनि सङ्क्रमित सांसदहरू अस्पतालमा भर्ना भएमा के हुने ? यसको चित्तबुझ्दो जवाफ नखोजि गरिने अधिवेशनले निर्दिष्ट काम पुरा नगरि स्थगित हुने त हैन भन्ने आशंका बढाएको छ । दैनिक ५० जना भन्दा बढिको मृत्यु भईरहँदा सत्ताको खेलमा पार्टीहरु लागेर जनताको जिवन भन्दा बाहिर राजनीतिक दल रहेको प्रमाणित गरिरहेका त छैनन्, जनताका प्रश्न छन् ।