काठमाडौं । समाजसेवाको क्षेत्रमा अग्रणी नाम हो अन्तरराष्ट्रीय स्तरको क्लव लायन्स क्लव । रक्तदानका क्षेत्रमा रहेर यसले पुर्याएको योगदान अतुलनिय नै छ । पछिल्लो समय सुकिलामुकिला र धनाढ्यहरु मात्र लायन्समा आबद्ध छन्, तारे होटलमा गएर हजारौं लाखौंको भोजभतेर गर्छन्, चिल्ला गाडीमा सररर सयर गर्छन् । यो लायन्सलाई लगाईएको जघन्य आरोप छ ।
"सम्पर्क भाषाको रुपमा अंग्रेजी भाषा हुनै पर्ने र अलिकति पढालेखाको समूह आवद्ध भएका कारण यस्ता आरोप लगाईएको हो", लायन्सका नेपाल च्याप्टर संस्थापक गौतममान श्रेष्ठले केहि समय अगाडि भनेका थिए । तर आज यत्रो महामारीमा तिनै सुकिलामुकिला लायन्सहरु कहाँ छन् ?
नेपालमा लायन्सका ४ वटा डिस्ट्रिक्ट ए १, ए २, बी १, बी २ मा गरि करिव ४२००० सदस्य आवद्ध छन् । न्युनतम २० जनाबाट क्लव गठन गर्न सकिने लायन्समा ७०० भन्दा बढि क्लवहरु देशै भरि सक्रिय रहेको बताइएको छ । सामाजिक सेवाका क्षेत्रमा आँखा अस्पताल संचालन गरिरहेको लायन्सले २०७२ सालमा आएको भुकम्प होस् या कोरोना महामारीको पहिलो लहरमा आफ्नो भावनाअनुरुप 'हामी सेवा गर्छौं' भन्ने नारालाई चरितार्थ गरेका थिए ।
जिल्लाको नेतृत्वले विभिन्न कार्यक्रम आयोजना गर्ने, निर्देशन दिने, सहजिकरण गरेर अतुलनिय मानवसेवाको क्षेत्रमा लायन्स हुनु पर्छ भन्दा सदस्य क्लबहरु पनि जुरुक्कै उठेका थिए । क्लव मात्र हैन पदाधिकारी तथा सदस्यहरुले पनि महत्वपूर्ण योगदान पुर्याएका थिए ।
दोस्रो लहरको महामारी युरोपतिर फैलिँदै लकडाउन सम्म पुग्दाखेरि नै अन्तरराष्ट्रीय स्तरको क्लवले नेपालमा पनि खबरदारी गर्न शुरु गर्न पर्थ्यो । त्यो निर्णयमा त पुग्न सकेन तर राज्य संयन्त्र राजनीतिक खिचातानिमा अल्झिएको लायन्सलाई थाहा नहुने कुरै भएन । तत्पश्चात दोस्रो लहरको भाईरसले संक्रमितको संख्या बढ्दै मृत्यु नै बढ्दा समेत अन्तरराष्ट्रीय लायन्समा अनुरोध सम्म गरेको जानकारीमा आएको छैन ।
४२००० सदस्य र उसका परिवारको अवस्था के छ अक्सिजन नपाई पो मरिरहेका छन् की यी कुरामा ध्यान दिन कुन नितिगत निर्णयले बाधा पुर्याउला ? अक्सिजन उद्योग पूर्णरुपमा संचालन गर्न र नयाँ प्लान्ट स्थापनामा सहयोग गर्न ढिलाई भईसकेन र ? यत्रो महामारीमा लायन्सले गर्ने सहयोग लाखौं हुन सक्छन् ।
हुन त पोखरा महानगरपालिका सँगको सहकार्यमा लायन्स ३२५ बी१ ले ५० बेडको कोभिड अस्पताल संचालन गर्ने निर्णय गरिएको जानकारीमा आएको छ, तर कहिले सम्म हो संचालन हुने ? अब तेस्रो लहरको कोभिड पनि आउने आँकलन विज्ञले दिईरहेका छन् । यससँग जुध्न लायन्सको योजना के छ ? यस्तै अवस्थामा हो 'वि सर्भ' या 'हामी सेवामा तत्पर छौँ पुष्टि हुने हो ।