समुदायमा १३.९ प्रतिशतमा कोरोना

समुदायमा १३.९ प्रतिशतमा कोरोना

२०७७, मंसिर २७ शनिवार

  • 1.6K
    SHARES

  • समुदायमा १३.९ प्रतिशतमा कोरोना

    मंसिर २७, काठमाडौं ।

    कोभिड–१९ को सङ्क्रमण १३.९ प्रतिशत समुदायमा फैलिएको एक अध्ययनले देखाएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा देशभरि गरिएको एन्टिबडी परीक्षणबाट १३.९ प्रतिशत सङ्क्रमण समुदायस्तरमा फैलिएको महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।  

    यही असोजमा महाशाखाले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्नका लागि अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरेर ‘सेरो प्रिभिलेन्स’ सर्वेक्षण गरेको थियो । उनले अनुसन्धानमा प्रदेश नं २ र वाग्मती प्रदेशमा सङ्क्रमणको जोखिम बढी भएको देखाएको बताए ।  

    उनका अनुसार तराई र पहाडभन्दा हिमालमा सङ्क्रमणको जोखिम त्यति नभएको अध्ययनले देखाएको छ । अध्ययनमा १५ देखि ४५ वर्ष उमेर समूहका मानिसलाई सङ्क्रमण बढी भएको पाइएको छ । बालबालिकाका पनि सङ्क्रमण भएको पाइएको छ ।

    “बालबालिका लक्षण मात्र नदेखिएर सङ्क्रमण नभएको भन्ने थियो”, उनले भने, “बालबालिकालाई भित्रीरुपमा सङ्क्रमण भएको अध्ययनले देखाएको छ ।”

    उनले अध्ययनबारे थप मन्त्रालयले जानकारी दिने बताए । महाशाखाले प्रत्येक प्रदेशका ३० वटा वडामा रहेका मानिसको रगतको नमूना सङ्कलन गरेर समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर एन्टिबडी परीक्षण गरेको थियो ।

    एक वडामा १५ जनाको दरले नमूना सङ्कलन गरिएको छ । यसरी प्रत्येक प्रदेशमा ४५० जनाको दरले तीन हजार १७० जनाको नमूना सङ्कलन गरिएको थियो । महाशाखाले पूर्वी रुकुम र रसुवाबाहेक सबै जिल्लामा नमूना परीक्षण गरेको थियो ।  

    परीक्षणका लागि बालबालिका, बृद्धा, महिला, युवालगायत विभिन्न उमेर समूह र समूहका ट्राभल हिस्ट्री भएका तथा नभएका मानिस तथा सङ्क्रमित भएका र नभएका व्यक्तिको नमूना सङ्कलन गरिएको थियो । 

    महाशाखाले सङ्कलन गरेको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराएको थियो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सङ्क्रमण समुदायमा देखिए पनि मन्त्रालयबाट आधिकारिकरुपमा जानकारी नगराएको बताए ।

    उनले ‘सेरो प्रिभिलेन्स’ रिपोर्ट मन्त्रालयमा आएपछि आधिकारिकरुपमा समुदायस्तरमा के छ भन्ने देखाउने बताए ।  

    २०७७, मंसिर २७ शनिवार०२:३५:२८
    प्रतिक्रिया
    सम्बन्धित समाचार