काठमाडौं । अन्तरराष्ट्रिय सामाजिक संस्था लायन्स क्लवको नेपाल मल्टिपल काउन्सिल चेयर पर्सनमा लायन मनबहादुर रोक्का चयन भएका छन् ।
यहि जेठ १० गते भर्चुअल माध्यमबाट आयोजना गरिएको भेलामा डिस्ट्रिक्ट ३२५ बि १ का पुर्व गभर्नर रोक्कालाई पुर्व काउन्सिल चेयर पर्सन लायन इन्द्र खत्रीले वर्ष २०२१-२०२२ का लागि काउन्सिल चेयर पर्सनमा चयन भएको घोषणा गरेका थिए ।
कार्यक्रममा हाल नेपालमा संगठीत रहेका चार वटै डिस्ट्रिक्ट ३२५ ए १, ए २, बि १ र बि २ अन्तरगतका सल्लाहकार, पुर्व गभर्नर, नवनिर्वाचित गभर्नर र भाइस गभर्नरहरुको उपस्थिति रहेको थियो ।
त्यसै गरि भेलाले भाइस काउन्सिल चेयर पर्सनमा लायन केशव पाण्डे, काउन्सिल सेक्रेटरीमा लायन रेवत कार्की, काउन्सिल ट्रेजररमा लायन रामप्रसाद भट्ट र काउन्सिल जोईन्ट सेक्रेटरीमा लायन विशेश्वर आचार्यलाई चयन गर्दै वर्ष २०२१-२०२२ का लागि काउन्सिल अफ गभरनर्स समेत गठन गरेको छ ।
लायन्स क्लव अफ काठमाडौं सामाखुशीमा आवद्ध रोक्का जुझारु र नयाँ खोजमा विश्वास राख्ने गभर्नरका रुपमा चिनिन्छन् ।
संसारभर फैलिएको कोरोना महामारीका कारण रोक्काको गभर्नरको कार्यकाल वर्ष २०२०-२०२१ प्रभावित बनेको थियो । त्यो पिडालाई समेत शिक्षाको रुपमा लिएर वर्ष २०२१-२०२२ मा केहि न केहि फरक काम गर्ने रोक्काले प्रतिवद्धता जनाएका छन् ।
नेपालमा लायनिजमको जरा गाड्ने श्रेय भने पुर्व गभर्नर लायन गौतममान श्रेष्ठलाई दिने गरिएको छ ।