काठमाडौं । नेकपा एमाले स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश मुख्य मन्त्री शंकर पोखरेलले ज्येष्ठ नागरिकको सम्मानमा कुनै पनि कमिहुन नदिने बताएका छन् ।
ज्येष्ठ नागरिकले राष्ट्र निर्माणमा पुर्याएको योगदान स्वरुप नै वृद्दभत्ता बढाएर तीन हजारबाट चार हजार पुर्याएको आईतवार राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवालय भर्चुअल बैठकमा मुख्य मन्त्री पोखरेलले भनेका थिए ।
कोभिड महामारीका कारण अर्थतन्त्र कमजोर अवस्थामा रहेता पनि जवानीमा राष्ट्र निर्माण एवं प्रजातन्त्रका लागि योगदान गरेकै कारण आज उहाँहरु सम्मानको हकदार हुनुहुन्छ, पोखरेलले थपेका थिए ।
हिजो प्रजातन्त्रका लागि युवा एवं ज्येष्ठ नागरिक संयुक्त रुपमा लडेका थिए तर प्रजातन्त्र सुदृढ गर्दै समाजवाद सम्म पुग्न रचनात्मक तथा हस्तक्षेपकारी भूमिका खेल्न समेत युवालाई पोखरेलले आव्हान गरेका छन् ।
'लोकतन्त्रको हिमायती ठान्ने नेपाली कांग्रेस दलिय प्रणालीलाई ध्वस्त पार्न लागि परेको देख्दा चिन्ता लागेको छ', पोखरेलले सम्बोधनका क्रममा भनेका थिए ।
जेठ १६-१७ गते दुई दिन चल्ने बैठकको अध्यक्षता संघका अध्यक्ष बचन बहादुर सिंहले गरिरहेका छन् । उनी २०७७ माघ २५-२६ मा काठमाडौंमा भएको भेलाबाट अध्यक्षमा चयन भएका थिए ।
संघको यस बैठकबाट सहअध्यक्ष किरण पौडेललाई कार्यकारी अधिकार प्राप्त पुर्ण अध्यक्षको जिम्मेवारी प्रदान गर्ने पनि बताईएको छ ।