गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार

गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार

२०७७, मंसिर २९ सोमवार

  • 2.9K
    SHARES

  • गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार

    मंसिर २९, सिमीकोट । 

    जिल्लाको दक्षिण भेगस्थित सर्केगाड गाउँपालिकाबाट एकजना गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । वडा नं ७ रोडिकोड, कार्कीबाडा गाउँका ३३ वर्षीया जमुना कार्कीको आइतवार  उद्धार गरिएको हो ।

    शिशु उल्टो भएर बसेकाले कार्कीले जन्म दिन सक्नुभएको थिएन । चार दिनदेखि बिरामी पर्नुभएकाले उनलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिए ।  

    चार दिनदेखि व्यथा लागेकी कार्कीको पेटमा शिशु उल्टो भएर ज्यान जोखिममा भएका भन्दै आफन्तले उद्धारका लागि जिल्ला अस्पताल र जिल्ला प्रशासनमा खबर गरेपछि आइतवार उद्धार गरिएको हो ।

    गाउँका स्वास्थ्य संस्थामा जटिल स्वास्थ्य समस्या उपचारका लागि स्रोत साधन नहुँदा हेलिकप्टरबाट जिल्लाबाहिर लिनुपर्ने बाध्यता छ । सर्केगाडबाट जिल्ला सदरमुकाम सिमकोट पुग्न दुई लाग्छ । 

    राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ बमोजिम उद्धार हुँदै आएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

    लामो प्रसव व्यथा लागेका, बच्चा जन्मिन कठिनाइ भएका, गर्भमा नै बच्चाको मृत्यु भई समस्यामा परेका, गर्भावस्थामा हात, खुट्टा शरीर सुन्निएका, अधिक रक्तस्राव भएका, रक्तअल्पता भएका हिमाली जिल्लाका महिलालाई नेपाल सरकारले निःशुल्क हवाई उद्धार गर्दै आएको छ । 

    २०७७, मंसिर २९ सोमवार०६:४८:१२
    प्रतिक्रिया
    सम्बन्धित समाचार