लन्डन । इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप २०२० को उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो ।
सुटआउटमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा नायक बन्दै दुई प्रहार बचाए । इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले पनि दुई पेनाल्टी बचाएका पनि हार टार्न सकेनन् ।
लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउट भएको हो । खेलको दोस्रो मिनेटमै इंगल्याण्डले अग्रता लिएको थियो । लुक श ले किरन ट्रिपिएरको पासमा गोल गर्दै घरेलु टोली इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए ।
युरो फाइनलमा भएको यो सबैभन्दा छिटो गोल थियो भने राष्ट्रिय टिमका लागि लुुकको पनि पहिलो गोल थियो । खेलको सुरुवातमै गोल खाएपछि इटली बराबरी गोलका लागि ६७ औं मिनेट सम्म कुर्न पर्यो ।
खेलको ६७औं मिनेटमा लियोनार्दो बोनुचीले मार्को भेराट्टीको पासमा इटलीका लागि बराबरी गोल फर्काए ।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थपियो । अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो ।
सुटआउटमा इटलीका लागि डोमेनिको बेरार्डी, लियोनार्दो बोनुीची र फेडेरिको बर्नाडेसी गोल गरे । इटलीका आन्द्रे बेलोट्टी र जर्जिन्होको पेनाल्टी इंग्लिस गोलकिपर पिकफोर्डले बचाए ।
इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वायरले मात्र गोल गरे ।
जाडोन सान्चो र बुकायो शाकाको बचाउ इटलीका गोलकिपर डोनारुम्बाले बचाए । मार्कुस रासफोर्डको प्रहार भने पोष्टमा लागेर फर्कियो ।
इंग्ल्याण्डका लागि अन्तिम पेनाल्टी प्रहार गरेका साकाले गोल गर्न नसकेपछि इटली विजयी भयो ।
५३ वर्षपछि पहिलो पटक युरोकप जितेको इटलीले १५ वर्षपछि ठूलो प्रतियोगिताको उपाधि जितेको हो । सन २००६ मा इटलीले विश्वकप उपाधि जितेको थियो । सन् १९६८ मा युरोकप जितेको इटलीले २००० र २०१२ मा पनि युरो फाइनल खेले पनि उपविजेतामै सीमित भएको थियो ।
उता १९६६ पछि ठूलो प्रतियोगिताको फाइनल पुगेको इंग्ल्याण्डले पहिलो पटक युरोकपको फाइनल खेलेको थियो । तर पेनाल्टी सुटआउटमा अभाग्यशाली बन्दा फेरि उपविजेता मै चित्तबुझाउन बाध्य भयो । -एजेन्सी ।