तीज गीतमा कोरोना कहर

तीज गीतमा कोरोना कहर

२०७८, श्रावण २ शनिवार

  • 1.5K
    SHARES

  • तीज गीतमा कोरोना कहर

    बागलुङ । ‘बाँच्नुपर्छ कोरोना जितेर
    लाउलाउ सारी पोहोरकै झिकेर
    एउटा फोटो खिच
    माछामाछो भ्यागुतो यसपालिको तीज’

    यो गीत सार्वजनिक भएको वर्ष दिन बित्यो । यसमा वर्णित परिस्थिति भने अझै बदलिएको छैन । कोरोना कहर उस्तै छ । तीज नजिकिएको छ । यसपालि पनि हाम्रा चाडपर्व कोरोनाको मारमा पर्ने निश्चित छ । 

    गत वर्ष गायक दुर्गेश थापाले गाएको ‘माछोमाछो भ्यागुतो, यसपालिको तीज’को मर्म सकिएको छैन । सायद, त्यही सोचेर हुनुपर्छ, थापाको उक्त गीतको लेडिज भर्सन सार्वजनिक गरिएको छ ।

    अघिल्लै वर्ष चर्चा कमाएको उक्त गीत गायिका समीक्षा अधिकारी र अस्मिता जुरेलीको स्वरमा शुक्रबारदेखि डिजिटल बजारमा आएको हो ।

    गीतमा शब्द भने राम खत्री र दुर्गेश मिलेर लेख्नुभएको छ । सङ्गीत पनि दर्गेशकै छ । उक्त गित ‘डि–सिरिज’ युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

    लेडिज भर्सनका लागि शब्दमा केही हेरफेर गरिएको उहाँले बताउनुभयो । “गत वर्ष मेरो एकल स्वरमा गीत आयो, धेरै दर्शक/स्रोताले रुचाउनुभयो”, उनले भने, “त्यही गीत अहिले लेडिज भर्सनमा सार्वजनिक गरिएको हो ।”

    थापाले गीतका लागि चल्तीका गायिका रोजेका छन् । गीत सफल हुनेमा उनी विश्वस्त छन् । सार्वजनिक भएको २४ घण्टा नबित्दै गीतले एक लाख बढी भ्यूज बटुलेको छ ।

    गत वर्ष उहाँले गाएको सोही गीतले युट्युबमा एक करोड ३४ लाख बढी भ्यूज पाएको थियो । कोरोनाले तीज पर्वमा पारेको असर गीतमा यसरी प्रतिबिम्वित छ ।

    ‘माइत पनि नगाको दुई साल भो
    कोरोनाले अहिलेनी उही चाल भो’

    दुर्गेशले विसं २०७६ मा ल्याएको तीज गीत ‘बीच–बीचमा’ले पनि धेरै दर्शक÷स्रोताको मन जितेको थियो । उक्त गीतको म्युजिक भिडियोलाई युट्युबमा हालसम्म एक करोड ५५ लाखभन्दा बढी पटक हेरिएको छ । तीजका सबै गीतमा उहाँको आफ्नै लगानी छ ।

    पछिल्लो समय तीज गीत गायनमा पुरुषको पनि उत्तिकै सक्रियता छ । तीज आउन झण्डै दुई महिना बाँकी छँदै गीत धमाधम सार्वजनिक भइरहेका छन् ।

    कतिपय गीतमा महिलाका मुद्दालाई उठान गरिए पनि केहीले भने तीज गीतको सौन्दर्य गुमाउँदै गएका छन् । बागलुङमा जन्मिएका दुर्गेश भने रमाइला र पृथक शैलीका गीत गाउन पोख्त छन् । 


    उनी गीतमा भन्छन्–

    ‘भाइको बिहे जुराथे बाहुनले
    जन्त जान पाइएन लकडाउनले
    एउटा फोटो खिच
    माछोमाछो भ्यागुतो यसपालिको तीज’

    २०७८, श्रावण २ शनिवार०३:०७:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार