काठमाडौं । ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक विश्वभर डाउन भएका छन्। सोमबार राति साढे ९ बजेदेखि यी तीनवटा एपको सेवा नेपाल, भारतसहित विश्वभरि नै रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
फेसबुकले आफ्नो वेबसाइटमा केही समस्या देखिएको र त्यसलाई समाधान गर्न आफूहरू लागिरहेको जनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
मार्क जुकरबर्गले स्थापना गरेको फेसबुकमा किन समस्या आयो र कहिलेबाट यसको सेवा सुचारु हुन्छ भन्ने केही खुलाइएको छैन। फेसबुकका प्रवक्ता एन्डी स्टोनले ट्विटरमार्फत सेवा सुचारु गर्न आफूहरू लागि परेको जनाएका छन्। ‘माफ गर्नुहोला, केही समस्या देखिएको छ।
हामीले यसमा काम गरिरहेका छौं,’ प्रवक्ता एन्डी स्टोनले ट्विटरमा लेखेका छन्, ‘चाँडै समस्याको समाधान हुनेछ।’ सर्भिस डाउन हुनेबित्तिकै फेसबुकले प्राविधिक कारणले समस्या भएको र चाँडै समाधान हुने जनाएको छ।
यी तीनवटै एप्समा फेसबुकको स्वामित्व छ। सुरुमा फेसबुक वेबसाइटमा समस्या आएको र म्यासेन्जरमा लेखिएका सन्देशहरू नदेखिएको, त्यसपछि ह्वाट्सएप र इन्स्टाग्राम एप्समा पनि उस्तै समस्या आएको जनाइएको छ।