काठमाडौँ । राष्ट्रिय जनगणना–२०७८ मा खटिएका गणकले स्थानीय तहबाट पर्याप्त मात्रामा सहयोग नभएको गुनासो गरेका छन् ।
कतिपय नागरिकलाई जनगणनाबारे जानकारी नै नभएको गणकहरूले बताएका छन् । कतिपयले पर्याप्त जानकारी दिन आनाकानी गरेको बताइएको छ । थाहा नपाउनेहरूसँग जनगणनाका क्रममा सूचना लिन कठिन भएको गणकहरू बताउँछन् ।
देश विकासका लागि तथ्याङ्क सङ्कलनको महत्त्वपूर्ण आधारका रूपमा रहेको राष्ट्रिय जनगणनामा खटिएका अधिकांश गणकले स्थानीय तहबाट आफूहरूलाई पर्याप्त मात्रामा सहयोग नभएको गुनासो गरेका हुन् । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।
काठमाडौँ महानगरपालिका–२६, लैनचौर क्षेत्रमा खटिएका गणक शरद डाँगीले स्थानीय तहबाट पर्याप्त मात्रामा सहयोग नभएको गुनासो गरे । “काठमाडौँ सहरजस्तो ठाउँमा त कतिपय नागरिकलाई सूचना दिन अनुरोध नै गर्नुपर्ने अवस्था छ”, उनले भने, “कतिपय नागरिकले जनगणनाबारे जानकारी नभएर पनि सूचना दिन गाह्रो मानेका हुन् ।
त्यसका लागि स्थानीय तहले नियमित रूपमा जनगणनाका लागि माइकिङ गर्ने, समुदाय सचेतना कार्यक्रम गर्दा जनगणना सफल बनाउन सहज हुन्थ्यो ।”
देशभरका ७५३ स्थानीय तहका छ हजार ७४२ वडाले जनगणना अवधिभर नियमित रूपमा माइकिङ गरी समुदाय सचेतना गर्नुपर्ने सुझाव उनको छ । सबैको मोबाइलमा बजेको जनगणनाको रिङटोनले भने केही सहज भएको उनीहरूको भनाइ छ । काठमाडौँमा नजिकै घर भएकाले सरदर दैनिक १२ घर गणना गर्नुपर्ने भए पनि आफूले भने २० देखि २५ घरपरिवारको गणना गर्ने गरेको डाँगीले बताए ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ मा खटिएका गणक गायत्री बस्नेतले कतिपय नागरिकले आफूहरूले सोधेका सबै प्रश्नको सजिलै उत्तर दिएर सहयोेग गर्ने गरेको बताए । टोल र समुदायमा जानसमेत सहयोग गर्ने गरिएको पाइएको छ ।
“सबै नागरिकले जनगणनाबारे सजिलै बुझ्ने हो भने यो राष्ट्रिय महाअभियान सफल बनाउन थप सहयोग हुने थियो”, उनले भने, कतिपय नागरिकचाहिँ बुझेर पनि उत्तर दिन गाह्रो मान्ने गर्छन् ।”