झ्याप्प दाह्री, कालो चस्मा, काँधमा देशको झन्डा। एउटा कालो कालो मधेशको केटो काठमाडौं महानगरपालिकाको प्रमुखको लागि स्थानीय निर्वाचनमा लड्ने अरे भन्दा धेरैले त्यसलाई मजाकमा लिए। 'अन्ठ' न 'सन्ठ'को हावादारी र्याप गाउने एउटा 'गाइने' को यो एउटा रहर मात्र होस अलिअली कमाएको थियो होला, जमानत नै जफत हुन्छ भन्ने बौद्धिक तर्क दिने विद्वानहरु पनि बग्रेल्ती भेटिए सहरका गल्लीहरुमा।
'७४ सालमा आएकी केटी' को जति पनि भोट ल्याउँदैन भन्नेहरुको पनि कुनै कमी थिएन। बरु त्यो पहिलाकी को त दल थियो, स्वतन्त्र उम्मेद्बारी दिएर देशको राजधानीको प्रमुख हुनु लगभग नेपालले विश्वकप फुटबल जित्नु बराबर थियो, असम्भव प्राय:। वास्तवमा यो सानो लेख लेख्नेको दिमागमा पनि बालेनको जित प्रति त्यती ठूलो विश्वास थिएन।
सामाजिक संजालमा जब जब ती र्यापरको चर्चा बढ्दै गयो, उनको आलोचना पनि बढ्दै गयो। मनोनयनको टिकट बाँड्ने समय आयो। काठमाडौंका पूर्व मेयर, निडर र हाँकी स्वभावका एक चर्चित उम्मेदवार ने.क.पा एमालेले उठायो। अर्कोतर्फ लौहपुरुष गणेशमान सिंहकी बुहारी तथा नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहकी श्रीमतीलाई नेपाली कांग्रेसले उम्मेदवार बनायो।
मुख्यतया: यिनै दुई उम्मेदवारका बीच मुख्य प्रतिस्पर्धा हुने धेरैले अनुमान गरे। दुवैजना नेवार समुदायका प्रतिनिधि र हाइ फिगरका उम्मेदवार भएकाले प्रतिस्पर्धा रोमान्चक हुने अनुमान गरियो।
यता टेलिभिजन र सामाजिक सन्जालमा बालेन छाउँदै गए। चुनाव प्रचार-प्रसार सुरु भए पछि यी र्यापरले दुई हात जोड्दै घर-घरमा भोट मागेको, अग्रज बुवा आमासँग आशिर्वाद लिएको, युवा युवतीहरु झुम्मिदै सेल्फी खिच्न आएको दृश्यहरुले सामाजिक संजाल झनै रंगिन थाल्यो। अनि आयो फेरि आलोचनाको थप शृंखला। फेसबुक र टिकटकका माध्यमबाट ती 'बा'लेनलाई समर्थन गर्ने वर्ग काठमाडौंका मतदाता नै नभएका र तीनको समर्थन फगत उफ्राइ र बेकारको हल्ला भएको तर्कहरु पनि लाइयो।
अर्का पट्टी तीन ठालु दलका (माफ पाऊँ): ठूला दलका 'बा' हरुलाई अर्कै बेचैनी भयो। एका तिर देऊ 'बा' लाई महाधिवेशनमा लिएको ऋणको ब्याज सहित तिर्नु थियो। पार्टीमा प्रशस्त अग्रज नेताहरुको योगदानको कुनै लेखाजोखा नै नगरी 'भाउजु' लाई उम्मेदवार बनाइरहँदा 'देऊ बा' आफ्नो तरिकाबाट सफल भए। अर्का तिर थिए के पी 'बा'। 'बा'को उधुम घमण्ड र अरुको औचित्य स्वीकार्नै नसक्ने मानसिकताले आफु जस्तै अर्का 'थुतुने बा' लाई बाटो खुल्यो। २५ वर्ष अघि नै ८४,००० भोट ल्याएर राजधानीमा केहि काम पनि देखाएका ती बा पनि औधी खुसी भए।

अन्तिममा थिए 'रेनु बा'। यी बालाई 'बरु बुढा मरे मरून् तर सौतालाई बिधुवा बनाएरै छाड्छुु भने झैँ भएको थियो। गणेशको टाउकोमा हात्तीको टाउको जोडे जस्तै के नमिलेको के नमिलेको तालमेल गरेर स्थापित बालाई बिस्थापित गर्न कै लागी 'भाउजु' लाई सघाउन यी 'बा' तयार देखिए।'
मैदान मा अन्ततः यिनै देऊ 'बा', केपी 'बा' र रेनु 'बा' का आ आफ्ना मुद्दा जिताउनकै लागि डटेरै लाग्ने लगभग निश्चित प्रायः भयो। 'ताइ न तुइ' का केटाकेटी 'बा'लेन लाई अझै यी तीन युवा बाहरुले औंलामा पनि गनेनन्।
चुनाव नजिकिँदै जाँदाको माहोल परिवर्तन हुँदै गयो। पुराना पार्टीका नेताहरुलाई जति जिताए पनि आखिर केहि नहुने स्वर बाक्लिँदै गयो। जति जति चुनाव छेउमा आयो, टोल, छिमेक र बजारमा बालेन प्रती गजबको माहोल बन्यो। पहिला पहिला घरका बा-आमाले छोराछोरीलाई 'यो चुनाव चिन्हमा भोट हाल' भनेर उर्दी दिन्थे।
अनि हामी जस्ता छोराछोरी 'हस्' भनेर त्यसैमा छाप लाउथ्यौँ । यस पटक माहोल बदलियो। छोराछोरीले यो पटक अरु जेमा हाले पनि मेयरमा चाहिँ 'लौरो' है भन्न थाले।
बालेन अन्ततः विजयी भए। नेवार समुदाय हावी भएको काठमाडौं जिल्लामा एउटा मधेसी समुदायको व्यक्ती जिल्ला कै प्रतिनिधि भयो। बुझियो, अब काठमाडौं बासीले परिवर्तन खोजेकै रहेछन्। काठमाडौंले मात्र हैन, देशका विभिन्न भागले परिवर्तनलाई आत्मसात गरेको देखियो।
यो दल र ऊ दलको खोल ओढेर बस्ने पुरानो ढंगबाट माथि उठेर यो पाली थुप्रै बालेनहरु परिवर्तनको सम्बाहक बने। जनताले अधिक भोट हालेर बालेन, साम्पाङ र हमालहरुलाई जिताइदिए। अब यी आशा गरिएका अनुहारहरुले काम गरेर र आफ्नो घोषणा पत्र अनुसारका कामहरु पूरा गरेर जनतालाई जिताउनु छ।
अनि मात्र ती असंख्य मतहरुले न्याय पाउँछन्। अनि मात्र ती 'बा' हरुको सट्टामा यी 'बा'लेन हरुको जीतको महत्त्व रहन्छ। चुनावी जीत ठूलो कुरा भएन, चुनावमा मत हाल्ने हातहरुको जीत हुन सकोस्। नभए फेरि पनि ५ वर्ष पछि आफ्नो औँला सिलौटामा राखेर लोहोराले किच्याऊँ किच्याऊँ जस्तो लाग्नेछ। सबै 'बा' लेनहरुलाई शुभकामना, 'बा'हरु लाई चाहिँ 'बेटर लक नेक्स्ट टाइम' !!!
-लेखक समाजसेवी तथा शिक्षाकर्मी हुन् ।