ललितपुर । मोफसलको क्लब झापा फुटबल क्लब शहिद स्मारक बी डिभिजन लिगमा बढुवा भएको छ ।
सोमवार ललितपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा भएको दोस्रो खेलमा बिरगञ्ज युथ एकेडेमीबिरुद्ध ५-० गोल अन्तरको फराकिलो जित निकाल्दै झापा बी डिभिजन लिगमा बढुवा भएको हो ।
बहुप्रतिक्षित सोमवारको खेलमा झापालाई फराकिलो जित दिलाउन पुजन राईले ह्याट्रिकसहित ४ गोल गर्दा सन्तोष लावतीले एक गोल थपे ।
खेलको १६ औं मिनटमा पुजनले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । ६६ औं मिनटमा पुजनले व्यक्तिगत दोस्रो गोल गरेपछि झापा २-० ले अघि रह्यो ।
७४ औं मिनटमा पुजनले ह्याट्रिक गोल पुरा गर्दै टोलीलाई ३-० को अग्रता दिलाए । इन्जुरी समयमा सन्तोषले गोल गर्दै झापालाई ४-० को अग्रता दिलाए ।
त्यसपछि खेलको अन्तिम समयमा पुजनले व्यक्तिगत चौंथो गोल गर्दै झापालाई ५-० को सानदार जित दिलाए ।
यस जितसँगै झापा एक खेल अगावै बी डिभिजनमा बढुवा भएको हो ।
झापा १२ खेलबाट ३१ अंक सहित शिर्ष स्थानमा छ । अब उसले लिगको अन्तिम खेलमा स्वयम्भू फुटबल क्लबसँग खेल्नेछ ।
यता पराजित बिरगञ्ज भने एक खेल अगावै रेलिगेशनमा परेको छ । बिरगञ्ज समान खेलबाट ५ अंक जोडर १३ औं स्थानमा रहेको छ ।
यससँगै लिगमा अब बी डिभिजनमा बढुवा हुने एक टोलीको मात्र टुङ्गो लाग्न बाँकी छ ।
झापा बी डिभिजनमा बढुवा हुँदा बिरगञ्ज र ओएशिस क्लब रेलिगेशनमा परिसकेको छन् ।
जारी लिगमा १४ टोलीले प्रतिस्र्धा गरिरहेका छन् ।
लिगको समाप्तीपछि शिर्ष स्थानमा रहने दुई दोली बी डिभिजन लिगमा बढुवा हुँदा पुछारका दुई टोली रेलिगेशनमा पर्नेछन् ।