नयाँ दिल्ली । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणमा भारतले लगातार दोस्रो जित निकालेको छ।
शनिबार घरेलु मैदान भारतले प्रतिस्पर्धात्मक खेलमा अफगानिस्तालाई २–१ अन्तरले पराजित गरेको हो।
भारतको जितमा कप्तान सुनिल क्षेत्री र सहल अब्दुलले एक एक गोल गरे।
८५औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीले गरेको गोलबाट भारतले अग्रता लिएको थियो। यद्यपि, त्यसको तीन मिनेटपछि हारुन फाखरुद्दिनले गोल गर्दै अफगानिस्तानलाई १–१ को बराबरीमा फर्काए।
तर, निर्धारित समयको इन्जुरी मिनेटमा सहल अब्दुल समदले गोल गर्दै भारतलाई २–१ को रोमाञ्चक जित दिलाएका थिए।
जितसँगै डी मा दुई खेलबाट ६ अंक जोडेको भारत दोस्रो स्थानमा उक्लिएको छ। समान खेल र अंकबाट हङकङ शीर्षस्थानमा छ।
समूहबाट शीर्षस्थानमा रहने टोली सिधै एसिया कपमा स्थान बनाउने छ । -एजेन्सी ।