एसिसी महिला टी–२० च्याम्पियनसिप : नेपालको विजयी सुरुआत

एसिसी महिला टी–२० च्याम्पियनसिप : नेपालको विजयी सुरुआत

२०७९, आषाढ ३ शुक्रवार

  • 1.0K
    SHARES

  • एसिसी महिला टी–२० च्याम्पियनसिप : नेपालको विजयी सुरुआत

    काठमाडौं । एसिसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको उद्घाटन खेलमा नेपालले भूटानलाई ५० रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । 

    नेपालले दिएको ९५ रनको लक्ष्य भूटानले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४४ रनमा समेटियो ।

    भूटानका लागि छिरिङ जान्ग्मोले सर्वाधिक १६ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । नगवान चोदेनले ८, सोनाम चोदेनले ५ तथा पेमा सोल्डनले ४ रन जोडिन् ।
      
    भूटानलाई सस्तैमा समेट्नेक्रममा नेपालकी सङ्गीता राई एक्लैले चार विकेट लिइन् भने कविता कुवँर र सीता रानामगरले समान दुई/दुई विकेट लिए । त्यसैगरी अस्मिना कर्मचार्य र इन्दु वर्माले एक/एक विकेट लिए । 
     
    त्यसअघि टस जितेर पहिला व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रनको योगफल बनाएको थियो । नेपालका लागि काजोल श्रेष्ठले सर्वाधिक २६ रनको योगदान दिइन भने इन्दु बर्माले २० रन बनाइन् । 

    त्यस्तै कप्तान रुविना क्षेत्रीले २१, डोली भट्टले ५, सीता रानामगरले ४ तथा ममता चौधरीले ३ रन जोडिन् । 

    बलिङमा भूटानकी सोनाम चोदेन एक्लैले चार विकेट लिइन भने अञ्जु गुरुङ र तासी चेकीले एक एक विकेट लिए । समूह बी मा रहेको नेपालले भोलि कुवेतको सामना गर्नेछ । समूह बी मा नेपालसहित बहराइन, भूटान, हङकङ र कुवेत छन् ।
      
    त्यसैगरी समूह ए मा आयोजक मलेसिया, ओमान, कतार, सिङ्गापुर र संयुक्त अरब इमिरेट्स (युएई) छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् भने फाइनल पुग्ने टोलीले एशिया कप खेल्न पाउनेछ । 

    २०७९, आषाढ ३ शुक्रवार०४:२५:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार