काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रोकिँदा युएई फाइनलमा पुगेको छ।
मलेसियास्थित किन्नारा एकेडेमी ओभलमा भइरहेको खेल वर्षाका कारण रोकिएको हो। पहिलो इनिङ्स सकिएलगतै पानी पर्न थालेपछि खेल प्रभावित भएको हो ।
यसअघि वर्षाको कारण टस ३० मिनेट ढिला शुरु भएको थियो । यसअघि युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको यूएईले १९ ओभर ५ बलमा सबै विकेट गुमाउदै ८१ रन बनायो। यूएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् । इशा रोहितले १५ रन, छाया मुघलले १४ रन तथा खुसी शर्मा १२ रनको योगदान गरिन् ।
नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिइन् । अन्तिम समय अश्मिना ह्याट्रिक नजिक रहेकी थिइन् । यस्तै इन्दु बर्माले ३ र सीता रानाले २ विकेट हात पारिन् ।
४ रन प्रतिओभरको रनरेटमा खेलेर जित हासिल गर्ने नेपालको चाहना अधुरै रहन पुगेको छ ।