आकाशे गुरु र बतासे शिष्यहरूका चक्रब्यूहमा परेका नव – नायकहरु

आकाशे गुरु र बतासे शिष्यहरूका चक्रब्यूहमा परेका नव – नायकहरु

२०७९, भाद्र २० सोमवार

  • 4.6K
    SHARES

  • आकाशे गुरु र बतासे शिष्यहरूका चक्रब्यूहमा परेका नव – नायकहरु

    काठमाडौँ । शिक्षाको महत्व मूलत: अभौतिक छ तर बहु-आयामिक छ । तिनै बिभिन्न आयामहरू मध्धेको पहिलो आयाम भनेको  शिक्षाद्वारा प्राप्तहुने ज्ञान, ज्ञानबाट जागृत हुने चेतना, चेतनाले सृजना गर्ने बिचार र बिचार बाट  सृजनाहुने सकारात्मक सोच नै हो । यसैले नै समाजलाई सभ्य-भव्य र मानिसहरुका लागि बाँच्न योग्य बातावरणको निर्माण गर्दछ । शिक्षा बाटै विज्ञान र प्रविधिको उद्भव सम्भव भएको छ । विज्ञान र प्रविधिको बिबेकपूर्ण उपयोगले नै मानव जातिलाई आजको समृद्ध अबस्थामा ल्याईपुर्याएको छ ।

    स्वास्थ सुबिधा र स्वास्थ चेतनामा भएको बृद्धिले नेपालीहरुको औषत आयु मात्रै बढेको छैन अपितु बैदेशिक रोजगारी मात्रा सँगै आन्तरिक बजारमा भएको विस्तारले जीवनयापनको स्तरमा समेत वृद्धि ल्याएको छ । नेपाली समाजमा सूचना र प्रबिधिको उपयोगमा आम जनताको पहुँच दिनानुदिन बढेको बढ्यै छ । सामाजिक संजालका थुप्रै बिधि र विधाहरु हाम्रो समाजमा यथेष्ट रुपमा प्रचलनमा आएका छन् । प्रविधिको उपयोगले अधिकार प्रतिको सचेतना ह्वात्तै बढेको छ । यसोहुनु कुनैपनि समाजको बिकासका लागि भौतिक अवस्थामा हुनुपर्ने परिवर्तनका दृष्टिकोण बाट आफैमा एक सकारात्मक पक्ष पनि हो ।

    शिक्षाको बहु-आयामिक पक्षहरु मध्धे दोश्रो र अधिक महत्वपूर्ण आयाम भनेको शिक्षा सँगै चिन्तनशीलता, सृजनशीलता, बिबेकशीलता, मानवजीवन प्रतिको संबेदनशीलता जस्ता सद्गुणहरु सँगै सकारात्मक सोचको बिस्तार नै हो । यी र यस्ता गुणहरुले नै समाजको दार्शनिक पक्षलाई अभिव्यक्त गर्नुका साथै समाजको कला, संस्कृति र साहित्यमा नयाँ आयाम थप्दछ । सामाजिक, सांस्कृतिक, राजनैतिक र दार्शनिक सोचले सुसज्जित समाजमात्रै सही अर्थमा उत्पादनशील हुनसक्दछ । उत्पादनशील समाजमा मात्रै गुणस्तरीय जीवनको कल्पना गर्न सकिन्छ ।

    शिक्षालयहरुको बिस्तार सँगै नेपाली समाजमा शिक्षाको दोश्रो आयाम तर्फ ध्यान नपुग्दा “क्वालिफाईड” हरु भन्दा “सर्टिफाईड” हरुको सङ्ख्या मनग्गे बढेको छ । कुनै पनि समाजमा “सर्टिफाईड” हरुको सङ्ख्या धेरै हुनु भनेको समाजको आँगनमा बारुद बिछ्याउनु जस्तै  हो । यी उप-बुज्रुक त हुन्छन् नै, गिदीमा गुदी कम हुने हुँदा आधा भरिएको गाग्री जस्तै छचल्किरहने खालका हुन्छन् । ठूलो स्वरमा गर्जन पनि गर्छन् । जतासुकै यिनकै चातुर्य र जानिफकारिताको बिस्कुन सुकाईएको देख्न सकिन्छ । यी सलाई वा लाइटर जस्तो झ्याप्पै आगो सल्काईहाल्ने प्रकृतिका त हुँदैनन् तर पनि सुख्खा खर वा घाँस भेट्टाए भने चकमकले निकाल्ने फिलिंगोले जस्तै आगो सल्काई दिन बेर भने लाउँदैनन् । आजभोली सामाजिक सन्जालमा असन्तुष्टिका सुक्खा खर वा घाँस ओछ्याउनेहरुको कमी पनि त छैन । 

    शैक्षिक गुणस्तरको मापनमा अंकको उत्कृष्टता एउटा मापदण्ड त हो तर त्यतिमात्रै पर्याप्त छैन भन्ने यथार्थ कसैका सामु लुकेको छैन । शिक्षाका बिबिध आयामहरूलाई ठीकसँग पर्गेल्न नसक्दा नै हाम्रो समाजमा उत्पादनशीलता भन्दा उपभोगबादीता तर्फ अग्रसर हुदै गएको छ। नव-प्रवर्तकहरु भन्दा नकलचीहरुको बाढी आएको छ । सही अर्थमा सिर्जनशीलता र उत्पादकत्व गुमाएको एउटा उपभोगबादी “भतुवा समाज” को निर्माण हुँदै गएको छ । एकातिर थोर बहुत “क्वालिफाईड” हरुको जमात विदेश पलायन हुन बाध्य भएको छ भने आर्कोतिर स्वदेशमै रहेका “क्वालिफाईड” अर्थात् “श्रमजीवी घोटुवा जमात” को आवाज पनि “भतुवा समाज” का तथाकथित “सर्टिफाईड” नाइकेहरुको हो-हल्ला मै दबिन बाध्य छ । यस्तो अबस्थामा रहेको समाजले सामाजिक परिवर्तनको हरेक पाटोमा “फिल्मी शैली” को नायकत्व खोज्नु कुनै अनौठो बिषय होईन । उत्पादनकार्यमा लागेका सृजनशील हातहरुलाई मात्र मिहेनतको कठीनता, परिश्रमको स्वाद र परिणाम प्राप्तिसंग जोडिएका जोखिमहरुको मूल्य थाहा हुन सक्छ ।

    गुरुलाई ढोग्नुमा भन्दा गुरुलाई ठोक्नुमा, अक्कलको उपयोगमा भन्दा नक्कलको प्रयोगमा, प्रतिस्पर्धामा परिक्षित हुनमा भन्दा छलछाम, तिकडम र जालझेलमा महारत हासिल गर्नुमा नै  पुरुषार्थ देख्ने, नियमित रुपमै अनियमित भएरै पनि “नियमित” मा दरिन पाएका बतासे बिद्यार्थी अनि तिनलाई सोही प्रकृतीको बजारु ज्ञान दिने महान आकाशे गुरुहरु यस्तो समाजका अगुवा पात्रहरु हुन् । सामाजिक संजालका बिबिध पाठशालाहरुमा यस्ता पात्रहरुको बाक्लो उपस्थिति देख्न सकिन्छ । निर्माणमा भन्दा विध्वंशमा, विधिको पालनामा बिखण्डनमा, नबुझेका लाई बुझाउनमा भन्दा भड्काउनमा प्रेरित गर्नुमा नै यिनको महान सफलता प्रदर्शित हुने गर्दछ । कारणहरु बिभिन्न होलान्, तर पनि आकाशे गुरुहरूका बतासे शिष्यहरुमा युवाहरुमात्रै नभई कतिपय प्रौढहरूको पनि बाक्लै उपस्थिति अहिले देखिएको छ ।

    दर्शकहरुको अतृप्त अभिलाषाहरुलाई फेन्टासी सँग कसरी जोड्दा आफ्नो खल्ती भर्न सकिन्छ भन्ने व्यावसायिक मर्म बुझेका फिल्म निर्देशकहरुले जसरी दर्शकहरुलाई तीन घण्टाकै लागि भएपनि बेबकूफ बनाउन सफल हुन्छन् त्यसै गरी यी आकाशे गुरुहरुले समाजमा रहेका स–साना असन्तुष्टीहरुलाई पनि म्यग्निफाईङ्ग ग्लासले जस्तै म्यग्निफाई गरेर बतासे शिष्यहरुलाई कसरी भड्काउनमा सकिन्छ भन्ने सीप मा मानार्थ उपाधि नै हासिल गरेका छन् । यिनलाई राम्रो संग थाहा छ समाजलाई भड्काउनमा जो आनन्द छ, त्यो आनन्द संयमित बनाउनुमा कहाँ छ ?

    आजभोली हाम्रो समाजमा भर्खरै मात्र उदाएका दुईजना नव-नायकहरु बिशेष चर्चामा रहेका छन् । सामाजिक संजालमा यी दुई बिचको अर्थहीन जुहारी पनि पर्याप्त देखिएकै छन् । संजालमा पस्किएका केही दृश्यहरुले फेन्टास्सी सिनेमाका दृश्यहरुले जस्तै उत्तेजक छाप छोड्न सफल पनि भएका छन् । त्यस्तै सिनेमा रुचाउने दर्शकहरुमाझ ती दृश्यहरुले गजब सनसनी मच्चाएका छन् । तर सिनेमा सकिएर हलबाट बाहिर निस्कीएपछी लामो समय सम्म ती दृश्यहरुको प्रभाव भने रहिरहने गर्दैन । पंचायतकालीन “पच्चीस बसन्त” देखि अहिलेको “पर लोकतान्त्रिक गणतन्त्र” नामक सिनेमा सम्म हेरेका दर्शकहरुको मानसपटलमा नानीमैंया दाहाल र गोल्चे सार्की देखि आजका नव-नायकहरु सम्म आईपुग्दा थुप्रै यस्ता नायक-नायिकाहरु नेपाली दर्शकहरु माझ उभिन नआईपुगेका पनि त होइनन् ।           

    आजका नव-नायकहरु संग उर्जा छ, केही गरूँ भन्ने हूटहूटी पनि देखिन्छ तर निर्वाचनताका प्रष्फुटित भएको यिनको संयम, सोच र सिर्जनात्मकतामा अहिलेनै कालो बादल लाग्न शुरु भएको देखिन्छ । सोच बिनाका योजना र योजना बिनाका हूटहूटीले धकेलेको सकृयताले दीर्घकालीन परिवर्तन ल्याउँदैन । बर्खाको भेल आएको बेला जल-प्रवाहको निरन्तरताको सपना देख्नु र शेखचिल्लीले सपनामानै कमाएर सपनामै बिहे गरी स्वास्नी माथि हैकम जमाउन लात्ती चलाउँदा बल्लतल्ल जुटाएको सातु-सामलको घैंटो पनि फुटेर भोकै दिन बिताउनुपरेको लोककथामा कुनै भिन्नता छैन । रणनीतिक चातुर्य बिनाका योजनाहरुको लागि शारीरिक मेहनत गरेको दृश्य संजालमा हाल्दैमा हुने भए एकै पटक बिशाल बाँध निर्माण गरेको फिलिम नै पोष्ट गरिदिए त टण्टै साफ भैहाल्छ नी ! 

    यता काठमाण्डॏं महानगरका बग्रेल्ती समस्याहरु छन् । ती समस्याहरुको सही ढंगले पहिचान गरी सिर्जनात्मक अभियान बाट आफ्नो कार्यको थालनी गर्न पनि सकिन्छ । तर आकाशे गुरुहरूका बतासे शिश्यहरुका साथमा लागेर काठमाण्डॏं महानगरका नव-नायकले पनि सस्तो लोकप्रियताकै बाटो पछ्याएको देखिन्छ । निर्वाचन  अघि यिनको सृजनशीलताको जुन ढंगले तारिफ भएको थियो ती तारिफहरुमा प्रश्न चिन्ह खडा भएको छ । केही त अबश्य गर्छु भन्ने जोश बोकेर आएका यी अभियन्तालाई आकाशे गुरुहरु भने तारिफको पुल बाँधेर सातौं आसमानमा उडाईरहेछ्न् । सिर्जनशीलता तर्फ भन्दा सस्तो लोकप्रियताका पछी दौडिन थाले भने हालको यिनको नायक छबी खलनायकमा बदलिन कत्ति समय पनि लाग्ने छैन । 

    क.  काठमाण्डॏंमा ट्राफिक जामको समस्या बिकराल छ । यसो हुनुका स-साना कारणहरु छन् : प्रत्येक चोकका सडकहरुमा लगाइने जेब्रा क्रसिंग लगायतका चिन्हहरु गायब छन् । यसले गर्दा सवारी साधनहरु तँ छाड मछाड गर्दै एक अर्कालाई उछ्न्निे होडबाजीमा जाम हुने गरेको छ । चोक-चोक मा सडकहरु मा खाल्डा-खुल्डी छन् । यसले हरियो बत्ति वा अघि बढ्ने संकेत पाउँदा पनि सवारीसाधनहरुको गतिमा अबरोध पुग्ने र जाम हुने गरेको छ । सवारी-साधनलाई हरियो बत्ति वा अघि बढ्ने संकेत दिएकै अबस्थामा पनि अटेर गरी पैदलयात्रीहरुले बाटो काट्ने गरेका छन् । पैदलयात्रीहरुलाई सडकमा पहिलो अधिकार त हुन्छ, तर के जुनसुकै अबस्थामा पनि हो ? तिनले नियम मान्नु पर्दैन ?

    सडक लेन मिचेर सवारी चलाउने, सडकको मध्य भागमा दुई पांग्रे र अन्य हलुका सवारी साधन जथाभावी तवरले चलाउने र त्यसमा पनि कोही अति तीव्र गतिमा त कोही भने सामान्य भन्दा सुस्त गतिमा साधन चलाउने गर्दछन् । जसले जुनसुकै बेला जहाँ बाट पनि सवारी साधन मोड्ने, मोबाईल फोन प्रयोग गर्दै ट्राफिक नियमको पूरै बेवास्ता गरी सवारी साधन चलाउने प्रचलन आम भए । भाडाका सवारी साधनहरु समेत चोक बाट निश्चित दुरी पार गरेपछी मात्रै रोक्नु पर्नेमा चोकमै रोक्ने, निश्चित स्थानमा मात्रै भाडाका सवारी साधनहरु रोक्नु पर्नेमा जहाँसुकै मनलाग्दी ढंगले रोक्ने जस्ता दृश्यहरु महानगरका सडकहरूमा देखिने आम दृश्यहरु हुन् । 

    आफ्नो परिवारमा एकजना सदस्य पनि बिरामी पर्दा कति कठिनाई हुन्छ भन्ने महसुस गरेकाहरुले अरुका परिवारमा एक जना सदस्यको ज्यान जाँदा वा अंगभंग हुँदा जीवन पर्यन्त भोग्नुपर्ने पीडा किन नबुझेका होलान् । सडक दुर्घटनामा बर्षेनी हजारौंको सङ्ख्यामा ज्यान गुमाउनु पर्ने वा अंगभंग हुनुपर्ने अबस्थालाई रोक्न कुनै पहल गर्नु पर्दैन ? ट्राफिक जाम कम गर्न सडक चौडा गरेर मात्रै हुँदैन बरु ट्राफिक नियमको कडाईका साथ पालना गर्नेरगराउने र जतासुकै रहेका क्रसिंगहरुलाई यथाशक्य कमगर्न सक्नुपर्छ भन्ने पाठ त यतिका बर्षमा महानगरका सचेत नागरिकहरुले महसूस गरेकै होलान् । सडक ब्यबस्थापनमा देखिएका यी र यस्ता बग्रेल्ती समस्याहरुको समाधान गर्न न त कठीन नै छ न त असम्भव नै । तर पनि सडक ब्यबस्थापनमा थोरै जागरुकता देखाउँदा मात्रै पनि यस्ता समस्या धेरै मात्रामा हल हुनसक्छ । सुरक्षित सडक, सुरक्षित सवारी र सुरक्षित शहरी जीवनका लागि पनि आजै बाट पहल गर्ने की ? 

    ख. सडक चौडा गर्ने क्रममा अधिकांश स्थानमा बिजुली र टेलिफोनका पोलहरु हटाईसकिएको छैन । यसले सवारीसाधन रोक्ने स्थानलाई अबरोध गरेको छ र सडकलाई साँघुरो बनाएको छ । थोरै प्रयत्नले यी र यस्ता  समस्या हाल हुन सक्छन् । सडकहरुमा जतासुकै “एम्बुस” थापेजस्तै गरी खाल्डाखुल्डी परेको वा मर्मत सम्भारको क्रममा खनिएका त्यस्ता खाल्डाखुल्डीहरुलाई लामो समय देखि बे-वास्ता गरी छाडीएको छ । तुलनात्मकरुपमा चौडा भनिएका सडकहरुका दुवै किनारका आधा-आधा भाग धुलोले पुरिएका वा खाल्डाखुल्डी परेका छन् । यसले गर्दा सडकको पुरै भाग उपयोगमा नआउने मात्रै नभई पैदलयात्री र ब्यबसायीहरुलाई पनि मर्का परेको छ । सडकपेटीको नियमित मर्मत गर्ने गरिएको छैन । तिनको स्तरीयतामा बिचार पुग्ने त कहिले होला ? सडकपेटी ढाकेर ब्यापार गर्नेहरुको कथाको त के कुरा गर्नु र !  

    ग. सवारी-साधनहरुको वृद्धि भए सँगै महानगरको राजस्वमा पनि वृद्धि भएकै छ । तर जनता संग कर मात्रै उठाउने होईन बरु सवारी-साधनको सङ्ख्यामा भएको वृद्धि को अनुपातमा पार्किंग ब्यबस्थापनको सुबिधा वृद्धिमा महानगरको ध्यान पुगेको देखिन्न । जरिवाना गर्नु वा सजाँय गर्नुपर्याप्त छैन, बरु अलि चौडा र सवारीको चाप कमहुने स्थान हेरी २/४ वटा भए पनि सवारी साधन छोटो समय राख्न मिल्ने गरी पार्किंगको व्यवस्था मिलाउंदै जानुपर्नेमा महानगरको ध्यान कहिल्यै गएको देखिएनर बरु आजभोली ट्राफिक प्रहरीको हातमा “व्हिललक” भनिने एउटा खेलौना परेको छ, जसलाई लिएर केही ट्राफिक प्रहरीहरु मोटरसाईकलमा कुदी हिंड्छन् र मौका पर्ने बितिकै कुनै न कुनै सवारी साधनलाई शिकार बनाईहाल्छन् ।

    फेरी यस्तो शिकारमा फेला पर्नेहरु भने नीजी सवारी साधनका धनीहरु नै पर्छन् । बिचरा प्रहरीहरुलाई जरिवाना असूल्नू नै पुरुषार्थ हो भनेर तालिम जो दिईएको छ । तर त्यति नै उर्जा सवारी ब्यबस्थापनमा खर्च गर्ने तालिम दिईएको हुन्थ्यो भने आज आम नागरिकहरुलाई ट्राफिक प्रहरी भनेका दण्ड-जरिवाना असुल्ने अधिकारी मात्रै हुन् भन्ने लाग्ने थिएन र “प्रहरी मेरो साथी” भनेर बिज्ञापन गरिरहनुपर्ने दरकार पनि पर्ने थिएन होला । महानगरमा ट्राफिक जामको जतिसुकै अब्यबस्था भएपनि खोइ त ! ठुला ओहदावालहरुका दिमागमा ब्यबस्थापनका नयाँ योजनाहरु त केही पनि नै फुर्दो रहेनछ । अनि जतिसुकै दुखस् गर्दा पनि आम जनताको कोप भाजनमा भने घामपानी केही नै नभनी दिनरात खट्ने विचरा कनिष्ठहरु नै पर्दछन् ।   

    घ. शहरको ब्यबस्थापन भनेको केवल सडक र पार्किंगको ब्यबस्थापन मात्रै होइन । महानगरका मूल सडकहरुमा रहेका सार्वजनिक र ब्याबसायिक भवनहरु समेत बर्षौं सम्म रंग-रोगन नगरिएका छन् । त्यस्ता भवनहरुलाई समय-समयमा रंग-रोगन गरी नियमित मर्मत सम्भार गर्नैपर्ने व्यवस्था मिलाउनु पर्ने होइन ? महानगरका गल्लीहरुको अवस्था के छ ? पुरातात्विक महत्वका संरचनाहरुको वरिपरिको बातावरण संरक्षणमा ध्यान पुगेको छ ? भएका पार्कहरु संरक्षित र सुरक्षित राख्न सकिएको छ ? सडक बत्तीहरुको दयनीय अबस्थामा खोई ध्यान पुगेको ? कसले हेर्ने ?

    ङ. महानगर भित्र रहेका तर सार्वजनिक सेवा प्रदायक सँस्थाहरुले दिनुपर्ने सेवाहरुको गुणस्तरमा सुधार तर्फ कहिले ध्यान दिने ? बीर अस्पताल, टेकु अस्पताल जस्ता आम सरोकारका स्वास्थ्य केन्द्रका “आकस्मिक उपचार कक्ष” हरुको अवस्था तर्फ कसैको ध्यान गएको छ ? महानगर भित्रका शौचालयहरुको दुरावस्था र अपर्याप्तता देख्दा सद्धे मानिसले पनि “ड्राईपर” लगाएर हिंड्नुपर्ने पर्ने जस्तो छैनरु रत्नपार्क र खुलामंचको अवस्था र त्यहीं बाहिरको सवारी पार्किंग र सडकको दुरावस्था तर्फ कसैको ध्यान किन जाँदैन ?  

    च. महानगर भित्रका प्राचीन बस्तीहरु तर्फ चुनाव जितेपछी कसैको ध्यान गएन । असन, ईन्द्रचोक, मखन, मरु, जैसीदेवल, लगन, वटु, भोटाहिटी, ज्याठा, थंहिटी, किलागल, वंघस्, न्ह्योखा, रक्तकाली, प्याफल, ढोकाटोल, नरदेवी, क्षेत्रपाटी, पकनाजोल लगायतका भित्री क्षेत्रका स-साना र साँघुरा गल्लीहरु र त्यहाँ रहेका अधिकांश घरहरुको दुरावस्था छ । ती परम्परागत बस्तीहरूमा रहेका चोक-गल्ली र भवनहरुलाई एकीकृत रुपमा पुनर्निर्माण गर्ने तर्फ आजसम्म कसैको ध्यान जान सकेन । महानगर – घरधनी – नीजीक्षेत्रको त्रिपक्षीय संलग्नतामा योजना बनाउन सके एकातिर यस्ता बस्तीहरुको आन्तरिक स्वरूप बदलिन सक्छ भने अर्कोतर्फ यी बस्तीहरुको प्राचीन मौलिकतालाई कायम गर्दै शहरको पुनस्र्निर्माण सम्भव हुनसक्छ ।

    महानगरका भित्री क्षेत्रमा बस्ने बासिन्दाहरुले पनि गुणस्तरीय जीवन बाँच्न पाउने आधार खडा हुन सक्थ्यो । शहरी जनसंख्याको वृद्धि सँगै “शहरी गरिबी” को मात्रा पनि बढ्दो छ । तर पनि ती मानिसहरुलाई भोट बैंकको रुपमा उपयोग गर्ने भन्दा बढी अरु केही पनि आज पर्यन्त भएको देखिएन । के बिकास भनेको एकपाखे मात्रै हुनुपर्ने हो र ? के त महानगर केवल हुनेखानेहरुकै नगर मात्रै हुनुपर्ने हो र ? एकातिर मूल सडकहरुकै पनि दुर्दशा छ त्यसमा पनि मूल सडक मात्रै राम्रो बनाएर बिकास गरें भन्नु कति उचित होला ?   

    छ. फुटपाथका ब्यबसायीहरुलाई लखेट्नमै पुरुषार्थ सम्झिनु भन्दा त्यस्ता ब्यबसायीहरुलाई समय र स्थान मिलाएर निश्चित समय र स्थानमा मात्रै ब्यापार गर्न दिने व्यवस्था मिलाउन सकिन्न र ? विश्वका विकासोन्मुख र बिकसित मुलुकका शहरहरुमा समेत त्यस्ता व्यवसायीहरुलाई ब्यबस्थापन गर्ने गरेका थुप्रै उदाहरणहरु छन् ।

    महानगरको गौशाला देखि टेकु दोभान भई बग्ने बागमतीको किनार सम्म, बालाजु देखि टेकु सम्मको विष्णुमति किनारको क्षेत्र र कपन देखि बबरमहल हुँदै थापाथली सम्मको रुद्रमतीको किनारहरूलाई दुइतर्फ़िरुपमा ब्यबस्थित गरी बिभिन्न स्थानमा स-साना बाँध बनाई पानीको सतह ब्यबस्थापन गर्ने, खोलाको दुवैतर्फ पार्क र मनोरन्जनस्थल निर्माण गर्ने, तत्-तत् क्षेत्रमा मिसिने ढलहरुलाई छुट्टै ढल ब्यबस्थापन गरी सो क्षेत्र भन्दा बाहिर चोभार क्षेत्रमा लगेर प्रशोधन केन्द्र निर्माण गरी उक्त प्रशोधन केन्द्रमा खसाल्ने व्यवस्था मिलाउने गुरुयोजना निर्माण गर्नसके अबका केही बर्षमै महानगर भित्रका खोला-नदीहरुमा डुंगा संचालन गर्न, व्यापारिक स्थल निर्माण गरी भृकुटीमण्डप भित्र रहेको अब्यबस्थित बजारलाई ती क्षेत्रहरुमा ब्यबस्थापन गर्न सकिन्छ । यसो गर्नसके महानगरको केन्द्रमा रहेको भृकुटीमण्डप भित्रको ठूलो भू-भागलाई आधुनिक पार्किंग क्षेत्रको रुपमा बिकास गरी महानगरको रुप परिवर्तन गर्न सकिन्छ ।        

    यो आलेख कसैलाई आलोचना गरेर खेदो खन्ने उद्देश्यले लेखिएको होईन । अनधिकृत रुपमा वा नियम मिचेर बनाइएका संरचनाहरु भत्काउनु पर्ने पनि हो र भत्काइनु पर्छ । अझ त्यस्तो कार्यहुने नदिने तर्फ चनाखो संयन्त्र निर्माण गर्नुपर्छ । तर अहिले निर्वाचन परिणामबाट भर्खरै प्राप्त प्रारम्भिक उर्जालाई सस्तो लोकप्रियता प्राप्तिको लागि गरिने प्रयत्नहरुमा विसर्जित गराउनु भन्दा समस्या समाधान गर्ने अभियानको प्रारम्भ ठण्डा दिमाग बाट उत्पन्न हुने सकारात्मक उर्जा र त्यसबाट सृजित सिर्जनशीलता बाट होस् भन्ने आशयले महानगरका केही प्रमुख समस्या र ती समस्याहरुको समाधानका उपाय सहितका केही शब्दचित्र उल्लेख गरेको मात्रै हुँ : “बुझे श्रीखण्ड नबुझे खुर्पाको बींड” त हो नी !

    होहल्ला र व्यक्तिगत कुण्ठाले युक्त भई सृजनामा भन्दा विध्वंशक लोकप्रियतामा प्रयुक्त हुने सामाजिक सन्जालका सर्वज्ञ, मर्मज्ञ इन्टरनेट वाहीनी, फेसबुक, ट्वीटर, टिकटक अवतारिणी दाहिने हातमा मोबाईल नामी यन्त्र र दुबैकानमा ठेंडी कोची मग्नमुद्रा धारिणी, जल, थल, नभ सर्वत्र विचरण गर्नसक्ने विलक्षण महिमाशाली, अखण्ड ज्ञान श्रोतले युक्त श्री श्री श्री श्री २०२२ निशास्चर छद्म नामधारी आकाशे गुरु: / गुरुमा: अनि तिनका बतासे शिष्यहरु बाट साबधान !! अस्तु !!!

    अपरिपक्व कूटनीतिले निम्त्याएको मानवीय त्रासदी

    २०७९, भाद्र २० सोमवार११:३५:२५

    बिनोद जोशी

    प्रतिक्रिया
    सम्बन्धित समाचार