अनिता १ म फेरि आईसियु फर्कें । क्याबिनमा ठीक भएनु – फाल्गुण ४ विहानको ९ः४० बजे मथुरा बुवाको यो मेसेज आयो । बुवालाई बोल्न गाह्रो छ,अघिल्लो भेटमै थाहा थियो, मैले मेसेज गरें - हस् बुवा, हजुर नआत्तिनुहोला बिस्तारै ठीक हुन्छ, शुभकामना ।
त्यसअघि वहाँले माघ २८ गते, विहान ११ः१६ बजे मेसेज पठाउनुभएको थियो : म अन्नपूर्ण अस्पतालको आईसियु १- १० मा भर्नामा छु ।
मेसेजले चिसो बनायो, तुरुन्तै फोन गरें वहाँले भन्नुभयो यसपटक अलि गाह्रो बनायो हेरन अनि हिजो राति नै अस्पताल ल्यायो प्रणयले भन्नुभयो । बोल्न अलि सकस थियो वहाँलाई । वहाँलाई अस्पताल लगिएको त्यही समय थियो, जुन समयमा वहाँलाई भेट्न जाने र वहाँले अध्ययन गर्न रहर गर्नुभएको पूर्व प्रधानमन्त्री आदरणीय के।पि। शर्मा ओलीको पुस्तकहरु दिनु थियो । हामीले वहाँलाई दिन केही पुस्तकहरु बोकीबसेकै थियौं । वहाँले छिटो आउ, तिमी व्यस्त छौ आउँदिनौ तर पनि आउ तर किताबहरु लिएर भनिरहनुभएको थियो । समयको भागदौडले ढिलै भएपनि वहाँकोमा जाउँ भन्ने लागेको थियो साँझको सात बजिसकेकोले त्यो साँझलाई हामीले बिदाई गरेर भोलि जाने र वहाँसँग व्यवस्थित कुराकानी गर्ने निधो गरेका थियौं । निधो गरेकै दिन आइसियु भर्ना भन्ने वहाँको मेसेज आएको थियो ।

म कार्यक्रममा अल्झिएको र अस्पताल एरियाबाट अलि टाढा थिएँ, रातो घर फाउण्डेसनका अध्यक्ष वरिष्ठ साहित्यकार स्नेह सायमीज्यूलाई फोन गरेर मथुरा बुवाको विषयमा जानकारी गराएँ, वहाँ सहित वरिष्ठ साहित्यकार बासुदेव अधिकारीज्यू तुरुन्तै अस्पताल जानुभयो र वहाँलाई भेट्नुभयो, केही थोरै कुराकानी गर्नुभयो भनेर मलाई अस्पताल कक्षबाटै वहाँहरुल जानकारी गराउनुभयो ।
फाल्गुण २ गते म अस्पताल पुगें, अक्सिजन लगाइरहनुभएको थियो । उज्यालो सँधैको जस्तै हँसमुख अनुहार । खोकी थियो अलिअलि । खोक्दा कफ आयो, अनुहार, हात र गोडामा केही स्वेलिङहरु थियो । मैले यसो स्पर्श सहित उठाउन खोजें, नछोउ म आफै सक्छु भन्नुभयो । मैले वहाँलाई सम्झेर शुभेच्छा प्रकट गर्नुहुनेहरुको नाम लिएँ, त्यसमा राधिका आमा र के।पि। ओली सम्झेर देशलाई चाहिने र देशलाई माया गर्ने सबै राजनीतिज्ञहरुमध्ये के।पि। ओली हो, वहाँलाई लागिरहनु, सकुशल भैरहनु मेरो शुभेच्छा सुनाइदेउ भन्नुभो । यहाँ मलाई सिस्टरहरु, डाक्टरहरु र सबै कर्मचारीले माया गर्छन्, केही कमि गरेका छैनन्, यहाँ धेरै बेर नबस, जाउ, जाउ पीर नलेउ भन्नुभयो ।
शुक्रबार वहाँको जन्मदिन रहेछ, छोराबुहारीले जन्मदिनको बुके दिएको कुरा बुकेको फोटो सहित खुशी साथ फेसबुक स्टेटस राख्नुभयो अस्पतालबाटै । त्यही दिन शिवरात्री पनि हो । शिवरात्रीको विषयमा कति राम्रो तर्क सहित फेसबुक स्टेटस राख्नुभयो । शायद यो स्टेटस लेख्दा ड्रिप दिइरहेको स्वेलिङ हातहरु काँपेको थियो होला, बेसञ्चोले अलि च्यापेको थियो होला, अक्षरहरु अशुद्ध छन् तर मन कति शुद्ध, आत्मबोध कति सकरात्मक, विचार कति उत्कृष्ट ।

हर्ष स्याङ्बो, डा.मथुरा श्रेष्ठ र रातोघर -९७ वर्षका कम्युनिष्ट योद्धा हर्ष स्याङ्बो (केही महिना अघि देहान्त हुनुभयो) ले पटकपटक लिइरहने नाम डाक्टर मथुरा । मथुरा बुवा र स्याङ्बोबिचको प्रेम, कम्युनिष्ट आन्दोलनमा सँगसँगै लाग्दाको क्षण, पारिवारिक विषय, भूमिगत इतिहासका विषयहरु कति मिठोगरी गर्नुहुन्थ्यो । यी दुइपात्रलाई लामो समयपछि भेटाउने र कुरा गराउने कामले जीवनमै ठूलो सन्तुष्टि दिए जस्तो लाग्छ ।
आजीवन पदमा बसीरहन खोज्ने, एकपटक योगदान गरेको कुराले आजीवन व्याज खाइरहन खोज्ने, भूमिगतकालीन सेल्टर, प्रेरणा र आन्दोलनहरुमा लागेकै कारण राज्यबाट लाभ खोजिरहने कुरा एकदम असह्रय कुरा हो भन्ने कुरा यिनै पात्रहरुबाट धेरै सिक्यौं पनि । त्यसैले हर्ष स्याङ्बोलाई र मथुरा बुवालाई सम्मान गर्ने र वहाँको इतिहासलाई कृति बनाउने कुरामा रातोघर परिवारभित्र छलफल भयो । रातोघरले नेपाली साहित्य, संस्कृति, कलालाई राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धन, प्रसारमा दशकौंदेखि कार्य गर्दै आइरहेकै थियो । यसपटक यी दुई जीवित ऐतिहासीक व्यक्तित्वलाई सम्मान गर्ने कुरालाई अगाडि वढाउँदै जाँदा निर्वाचनको भागदौडले छिटो समय जुर्न सकेन र स्याङ्बो बा को वहाँकै निवासमा निधन भयो ।
मरणोपरान्त भएपनि रातोघरले स्याङ्बो बा लाई सम्मान गर्ने तयारी गर्यौं । साथमा मथुरा बुवालाई पनि सम्मान गर्ने तयारी गर्यौं तर मथुरा बुवाले एकदम मान्नुभएन । मलाई सम्मान सिम्मान नगर, झन् त्यस्तो शीसा हालेर त गर्दै नगर । म कसैले पनि सम्मान भनेर बोलाउँदा जान्न तर स्याङ्बोको कार्यक्रममा जान्छु । हामीले कार्यक्रम यही गएको माघ ६ गते नेकपा एमालेका केन्द्रीय कार्यालयको हल च्यासल, ललितपुरमा गरेका थियौं । रातोघरका हामी सपरिवारले मथुरा बुवालाई सम्मान भन्यो भने मान्नुहुन्न, स्टेजमै लिन्न भन्नुभयो भने के गर्ने भनेर सम्मानपत्रलाई रातोघरको मानार्थ सदस्यता दिन लागेको भन्यौं र केही कन्टेन्ट सच्याएर मानार्थ सदस्यता समेत भन्ने थप्यौं ।

वास्तवमा यो रातोघर मार्गदर्शक सम्मान नै हो । वहाँको प्रिय सम्मानित पात्र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के।पि। शर्मा ओलीको हातबाट दिईएको सम्मानपत्र तथा राधिका आमाबाट खास्टो ओढाएर गरिएको सम्मान कार्यक्रम आज हामी रातोघर परिवार र समस्त उपस्थित समुदायको तर्फबाट गरिएको सम्मान नै अन्तिम र चीरस्मरणीय कार्यक्रम रहन पुग्यो । यस्तो सम्मानित कर्म तत्कालै गरिहाल्न सुझाउने र प्रेसर नै दिने आदरणीय वरिष्ठ साहित्यकार द्वय बासुदेव अधिकारीज्यू र स्नेह सायमिज्यूलाई विशेष सम्मान व्यक्त गर्छु ।
फाल्गुण ६ गतेको मेसेज अन्तिम शब्द बन्यो -
फाल्गुण ६ गते शनिवार विहान ८ः५३ बजे मथुरा बुवाको मेसेज आयो : आज विहान पहिले भन्दा राम्रो । साँझमा अलि चाप्छ, वायु प्रदुषणसँगै ।
मन प्रफुल्लित भयो, बुवाको सुधार राम्रो रहेछ । त्यसपछि वहाँको आवाज सुन्न मन लाग्यो । तुरुन्त फोन डायल गरें, आइसियुको भेन्टिलेटर आवाज ट्याङटुङ आइरह्यो र केहीछिनमा बोल्नुभयो : अनिता एकछिन एकछिन है । एकजना सिस्टरको आवाज आयो, वहाँ एकछिन बाथरुम जान लाग्नुभाछ पछि गर्नुन ल । फोन काटियो ।
फाल्गुण ७ गते आइतबार बिहानैदेखि मथुरा बुवाको झल्झली यादले सताइरहेको थियो, अस्पताल जान्छु नै भनेर निस्केकी थिएँ । एक्लै किन जानु भनेर बाटैबाट रातोघरका अध्यक्ष स्नेह सायमी दाजुलाई फोन गरें, मिल्छ भने जाउँ न भनें । आइसियुको कक्षमा हामी छिर्दाछिर्दै देखिएको दृश्यले झस्याङ्ग भयौं । मथुरा बुवाको शरीर स्थिर थियो, सिस्टरहरुले ओल्टाइपल्टाई अति रफ्तारमा औषधीहरु चलाइरहेको थियो । यसपटक क्याथेटर लगाइएको थियो । भेन्टिलेटरका पाइपहरु, विभिन्न ड्रिपहरु शरीरमा पठाइरहेका थिए । आज मलाई वहाँले नछोउ, छिटो जाउ भन्ने आवाज थिएन, हाँसेर तिमी आयौ भन्नुभएन ।

मैले अक्सिमीटर घुसाइरहेको हातको औंलाहरु चलाइदिएँ, हत्केला छामेर तातो लिएँ, नाडीको चाल केही मिनेट महशुस गरिबसें । अस्पतालमा वहाँको छोराहरु डा। प्रणय र डा जय श्रेष्ठ हुनुहुन्थ्यो । हालत जे पनि हुनसक्छ तर थिंक पोजिटिभ भन्नुभयो डा। जयले ।
आज फाल्गुण ८ गतेको विहान ४ः०० बजेदेखि म ब्यूँझें वरिपरि मथुरा बुवा हाँस्नुभएको, हरेक गतिविधिमा साथ दिनुभएको उज्यालो अनुहार देखेको देख्यै भएँ । डा. प्रणयलाई फोन गरुँ कि मेसेज गरुँ कि भयो तर सकिनँ । मनको भयंकर आशङ्का आखिरीमा सत्य भयो । अहिले डेड वडी टिचिङ हस्पिटलमा राख्न लैजाने र भोलि विहान मात्रै संस्कारकर्म गर्ने जानकारी गराउनुभयो डा. प्रणयले । विदेशबाट एकजना छोरी आउनुपर्ने रहेछ ।
फाल्गुण ६ गतेदेखि ८८ वर्ष पूरा लागेर ८९ लाग्नुभएका प्राध्यापक डा. मथुरा प्रसाद श्रेष्ठको विषयमा भन्नुपर्ने, लेख्नुपर्ने र प्रकट गर्नुपर्ने थुप्रै थुप्रै थुप्रै कुराहरु छन् । हामीले नभने नगरें, नलेखे यस्ता असाधारण ऐतिहासिक व्यक्तित्वहरुको इतिहास आउने पुस्तालाई कसले भन्छ ? कसले बताउँछ ? चिकित्सा विज्ञान तथा चिकित्सा सेवा, कम्युनिष्ट आन्दोलन, नागरिक आन्दोलन, सामाजिक परोपकारी कार्य लगायतका हरेक क्षेत्रसँग सम्बन्धित जो कोहीसँग पनि वहाँसँगको क्षण, अनुभव, अनुभूति, सम्झनलायकका हरेक विषयहरु हामीलाई उपलब्ध गराउनुहोला । हामी अबिलम्ब यो सृजनात्मक कार्यमा लाग्नेछौं । यसो हुँदा मात्रै वहाँप्रति सत्यनिष्ठापूर्वक श्रद्धाञ्जली अर्पण गरेको हुनेछ ।

कर्म गरिराख, दुःख पायो नभन, तनाव नलिउ, तिम्रो दुःखले अरु थुप्रैले सुख पाएको हुन्छ, तिम्रो बाटो र कदमहरु ठिक छ, तर अध्ययन गरिराख, पढीराख । मथुरा बुवा हजुरले मलाई दिइरहनुहुने यही प्रेरणा जीवनभरलाई शक्तिवद्र्धक बन्नेछ ।
केही महिना अगाडि मलाई नभनिकनै बुढानीलकण्ठ नगरपालिकामा लठ्ठी टेक्दै आउनुभएर तिमी उपप्रमुखको कार्यकक्षमा कुर्सीमा बसेको र काम गरेको हेर्न मन भएर आएको भन्नुहुँदाको क्षण अर्को भुल्नै नसकिने शशक्त पाटो बन्यो ।
फाल्गुण ६ गतेको फोनमा अनिता एकछिन।। एकछिन भन्नुभएको शब्द अन्तिम आवाज बन्यो । अति आदरणीय, सादा जीवन र उच्च संस्कारयुक्त जीवनका धनी कम्युनिष्ट आन्दोलन तथा भूमिगत राजनीतिका एक आदर्श योद्धा, पूर्व मन्त्री, प्राध्यापक, चिकित्सक, प्रजातान्त्रिक र नागरिक आन्दोलनका अगुवा आदरणीय मथुरा बुवाप्रति हार्दिक प्रणाम, हार्दिक भावपूर्ण श्रद्धाञ्जली !
उपमेयर अनिता लामाको फेसबुकबाट साभार "
