पुष्पराज भट्टराई
संघीय गणतन्त्र नेपालको सुदूरपूर्वमा रहेको कोशी प्रदेश प्राकृतिक, भौगोलिक, जैविक, धार्मिक एवं सांस्कृतिक दृष्टिमा आफैंमा सम्पन्न प्रदेश हो ।
हिमाल, पहाड र तराईसम्म फैलिएको यस प्रदेशमा १४ वटा जिल्ला पर्दछन् । कूल २५९०५ वर्ग किमि. क्षेत्रफलमा फैलिएको यस प्रदेशको पूर्वतर्फ भारतको पश्चिम बङ्गाल र सिक्किम दक्षिणतर्फ बिहार राज्य पर्दछन् । यसै गरी उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ मधेस प्रदेश र बागमती प्रदेश पर्दछन् ।
भौगोलिक विविधता अतुलनीय प्राकृतिक स्रोत, धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाले धनी कोशी प्रदेश नेपालका अन्य प्रदेशभन्दा पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना छ ।
प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यहरुमध्ये नेपालका ८ हजार मिटरभन्दा माथिका ८ वटा हिमशृंखलाहरुमध्ये सर्वोच्च शिखर सगरमाथालगायतका विश्वका ५ वटा अग्ला हिमाल कञ्चनजंघा, ल्होत्से, मकालु, चोयु यसै प्रदेशमा पर्दछन् । विश्वको सबैभन्दा अग्लो भू–भाग सगरमाथालगायत नेपालकै होचो भू–भाग केचनाकवल यहीँ अवस्थित छ ।
असंख्य मठ, मन्दिर, पाटी, पौवा, गुम्बा, मस्जिदले भरिपूर्ण नेपालको सुदूरपूर्वमा रहेको यस प्रदेशमा विभिन्न प्रसिद्ध धार्मिक तीर्थस्थलहरू अवस्थित छन् ।
खोटाङको हलेसी महादेव, ताप्लेजुङको पाथीभरा देवीको मन्दिर, इलामको माईपोखरी, झापाको अर्जुनधारा र सताक्षी धाम, सुनसरीको बराह क्षेत्र, बूढा सुब्बा, पिण्डेश्वरी, दन्तकाली र रामधुनी, खोटाङको वराह पोखरी, भोजपुरको साल्पा पोखरी, सोलुखुम्बुको दूधकुण्ड, तेह्रथुमको सिद्धकाली देवी, धनकुटाको छिन्ताङ देवी आदि प्रख्यात् धार्मिक स्थलहरू रहेका छन् ।
यी धार्मिक स्थलहरूमा स्वदेशी तथा विदेशी तीर्थालुहरूको प्रगाढ आस्था रही आएको छ । वर्षेनी लाखौंैँ भक्तजन तथा तीर्थयात्रीहरूको आगमनले धार्मिक पर्यटनमा टेवा पुगेको पाइन्छ । नेपाल सरकारले प्रमुख पर्यटकीय गन्तव्यस्थलका लागि पहिचान गरेका १ सयवटा स्थानमध्ये १६ वटा यहीँ पर्दछन् ।
लाखौं पर्यटकको मन लोभ्याउने तिम्बुङ पोखरी, गुरु फाल्गुनन्द सर्किट, फिक्कल, कन्याम, श्रीअन्तु सर्किट, तिनजुरे(मिल्के) जलजले, बालेश्वोर ऐतिहासिक गुफा, हलदे पटकेडाँडा पर्यटक ट्रेल, ट्याम्के डाँडा, वराह पोखरी, पाँचपोखरी, थोलेदम्बा डाँडा, उदयपुरगढी, सहिद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, अर्जुनधारा पर्यटकीय क्षेत्र, धनपालगढी पर्यटकीय क्षेत्र, पिण्डेश्वर (दन्तकाली पदमार्ग) समेत यस प्रदेशअन्तर्गत पर्ने उत्कृष्ट गन्तव्य हुन् ।
हिमालय जन्मघर भएका यहाँका सप्तकोशीका सहायक नदीहरु सुनकोशी, दुधकोशी, अरुण, तमोरजस्ता पवित्र नदीहरु यहीँको पावन धर्तीमा प्रवाहित छन् ।
प्राचीन कालमा यस धराधाममा जति पनि सभ्यताहरु विकसित भएका थिए । ती कुनै न कुनै नदीकै तटमा पाइएका छन् । यिनै नदी किनारमा अनेक देवर्षि, महर्षि र राजर्षिहरुले अनेक साधना गरेर मुक्ति पाए । उनीहरुबाटै वेद, पुराण, उपनिषद्, तन्त्र, मन्त्र र ग्रन्थ आदिको रचना भयो ।
आफ्नो इष्टसिद्धि र लोकको भलाइका लागि साधुसन्त र सिद्धपुरुषहरुले यिनको अनुशरण गर्दै देवस्थल र तीर्थस्थलको स्थापना गरे । कतिपय स्थानमा लोकरक्षाका लागि देवीदेवता आफैँ प्रादुर्भाव हुन पुगे । जसको महिमा वर्णन गरी साध्य छैन ।
नेपाली समाज र सभ्यताको विकास सर्वप्राचीन मानिन्छ । प्राचीन कालमा मानिसले विकास गरेका संस्कृति, तिनका अवशेष र परम्पराका बारेमा बुझ्न कुनै न कुनै ऐतिहासिक आधार चाहिन्छ । यहाँका हरेक स्थानको परिचयसँग कुनै न कुनै जाति, भाषा, धर्म र संस्कृतिको योगदान जोडिएकै छ ।
नेपाल भौगोलिक, सामाजिक, संस्कृतिक र जैविक विविधताले सम्पन्न मुलुक हो । सुन्दर पहाड र हिमवत् खण्ड, उच्च हिमशृङ्खलालगायत प्राकृतिक सम्पदाले सुशोभित दक्षिणपूर्वी एसियामा अवस्थित नेपाल धार्मिक तथा सांस्कृतिक दृष्टिले समेत समृद्ध छ ।
यहाँका धार्मिक स्थलहरुको महिमा र महत्व दर्शाई ती क्षेत्रमा सजिलै पुग्न यातायातको विकास र धर्मशालाजस्ता पुर्वाधारको विकास गर्न सके नेपाललगायत भारतबाट समेत लाखौं तीर्थयात्रीहरुको धार्मिक पर्यटकीय गन्तव्य यस क्षेत्रलाई बनाउन सकिन्छ । यिनको बेलैमा प्रचारप्रसार र संरक्षण गर्न सके यो पुण्यभूमि कोशी प्रदेश लाखौंलाख तीर्थयात्रीको गन्तव्यस्थल बन्न सक्छ ।
सयभन्दा बढी भाषा बोलिने विभिन्न जातजाति, भाषा, भेषभुषा, रहनसहनका मानिसको धार्मिक सहिष्णुतासहितको बसोबास रहेको यो प्रदेश वास्तवमै ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक दृष्टिले समृद्ध छ ।
प्राकृतिक सम्पदा, जैविक विविधता, दुर्लव वन्यजन्तु तथा पशुपंछीको संरक्षण गर्ने हेतुले स्थापना गरिएका सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज, कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्र र कञ्चनजंगा संरक्षण क्षेत्र यही छन् ।
प्राचीन नेपाली समाजको वास्तविकता बुझ्न यहाँका विभिन्न किंवदन्तीहरुले भरिएका पौराणिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थलहरुको बारेमा जान्नैपर्ने हुन्छ ।
आज तिनै तीर्थस्थलको अपार महिमा नबुझेर कतिपय ओझेलमा परेका छन् । केही प्रचारप्रसारको पर्खाइमा छन् । केही संरक्षणको अभावमा भग्नावशेषमा परिणत हुँदै गएका छन् । कतिपय किंवदन्तीमा मात्रै सीमित भएर थन्किएका छन् ।
तिनका विशेषताको बारेमा प्रचारप्रसारको अभाव, यातायातको कठिनाइ र व्यवस्थापनको कमीका कारणले यी धार्मिक स्थलहरु छायाँमा परेका छन् । यहाँका पौराणिक महिमायुक्त तीर्थस्थलहरुको उत्पत्ति र तिनको विशेषताका बारेमा आम जनमानससम्म पुर्याउन नसकेका कारण अहिलेसम्म भारतमा रहेका तीर्थस्थलप्रति नेपालीहरु आकर्षित हुँदै आएका छन् ।
पर्यटन उद्योग आर्थिक समृद्धिको महत्वपूर्ण आधार मानिन्छ । यहाँको पर्यावरणअनुकूल अन्तर्राष्ट्रिय स्तरमै धार्मिक पर्यटनको प्रवद्र्धन र विकास गर्न सके मुलुककै समृद्धिको ढोका खोल्न सकिन्छ ।