कसरी बन्छ देश महोदय ?

कसरी बन्छ देश महोदय ?

२०८०, आषाढ १७ आइतवार

  • 3.1K
    SHARES

  • कसरी बन्छ देश महोदय ?

    देशप्रति माया हुने मान्छेले एक पटक सोचौ त ! यो देश कसरी बन्छ भनेर, कताबाट कुन क्षेत्रबाट सुधार हुन्छ भनेर विश्वास गरौ ? क-कसले विश्वास गर्ने ? ल भनौ त - सरकार, राजनैतिक दल, दलका शीर्ष नेता, कर्मचारी, प्राध्यापक, शिक्षक, न्यायधिश, वकिल, नर्स, डाक्टर, इन्जिनियर, पाइलट, व्यापारी, कहां कुन क्षेत्रबाट सुधार हुन्छ यो देशमा ?  

    कसरी सुधार होस् ? न्यायलयमा न्यायाधिश पार्टीका, निजामतीमा कर्मचारी दलका, शिक्षक, प्राध्यापक, इन्जिनियर, वकिल दलै पिच्छेका, अख्तियार, संबैधानिक अंग, संस्थानका प्रमुख सके आफन्त, नसके दलका, त्यती पनि नभए दामका, राजदूतहरु दलका वा दामका, सबै जसो माथिल्लो तहको नियुक्तिमा कमिशन, नाताबाद, कृपाबादले उखाल्नै नसकिने गरि जरा गाडेको छ । यसरी सबै क्षेत्रमा देखिएको विकृति विसंगतिले देश दिनानुदिन अधोगतितिर लाग्दैछ । अनि कसरी देश बिकास हुन्छ र देश बन्छ ?

    केही दृष्टान्त हेरौ-
    १. एकथरि १८-२० वर्षका युवाहरु विहानैदेखि धापासी, शंखमुल, जाउलाखेलतिर दौडदै कडा भन्दा कडा कसरतमा व्यस्त छन् । उनिहरुको सपना छ सिंगापुर पुलिस, ब्रिटिस आर्मी वा भारतीय सेनामा जागिर खाने ।
    २. एकथरि युवा छन् २-३ वर्ष सामान्य ज्ञान रटेर लोकसेवा वा यस्तै अन्य आयोगको विज्ञापनमा लडेर सरकारी सेवामा प्रवेश गर्ने,

    ३.अर्कोथरि युवा छन् 'प्लस दुई' सकिनासाथ जापान, अष्ट्रेलिया, क्यानडा, अमेरिका या युरोपिय मुलुकहरुमा उच्चशिक्षा अध्ययनकालागि जान्छन् र उतैतिर भासिएका छन् ।
    ४. अर्कोथरि युवा छन्  युवा जोश, जांगर र पाखुरा बल हुने अलि अलि सीप भएका लाखौको संख्यामा रोजगारीकालागि अरवियन देशहरुमा भासिएका छन् । 

    ५. एकथरि युवाहरु छन् जो रोजगारबाट बन्चित, कामको खोजीमा भौतारिने, दैनिक ज्याला मजदुरीकालागि भौतारिने युवा जमात ।
    ६. एकथरि युवा छन् जो राजनैतिक पार्टीका भातृ शुभेच्छुक संस्थाको नेता र नेतै पिच्छेका पिछलग्गुहरु ।  

    ७. अर्कोथरिका युवा छन् आधारभूत तह सम्म नपढेका या कक्षा १० सम्म नपुगेका वा पढ्न नसकेर बिचैमा छाडेर कुलतमा लागेर परिवार नै विगार्ने युवाहरु ।  
    ८. एकथरि युवाहरु शुरुदेखि नै पठन-पाठनमा वन्चित भएका थिए । ती युवाहरु न खेतीपातीमा न नोकरी पाउन सकेका छन्, अनि त्यस्ता घरका न घाटका बन्न पुगेका । 

    ९.एकथरि बचे खुचेका केही गरौ भन्ने युवाहरु छन् स्वदेश मै बसेका छन् ती युवाहरुलाई केही स(साना उद्योग धन्दा चलाऔं, आधुनिक अत्याधुनिक कृषि प्रणाली अपनाऊ केही न केही गरौ भन्ने युवाहरुलाई झन्झटिलो बैकिंक, कागजी, कानुनी अड्चन देखाएर हतोत्साहित गरेर त्यस्ता युवाहरु समेत द्विविधामा छन् । 

    मुलुकका यस्ता होनहार युवाहरु करिव ६०-७० लाखको संख्यामा विदेशिएका छन् । देशमा योग्य क्षमतावान, प्रतिभावान बस्न र राख्न सक्ने बातावरण पटक्कै देख्दैन । राज्यले तिनीहरुलाई रोक्ने कुनै निती, कार्यक्रम, बजेट नै छैन । रोजगार, महंगी, सुशासन, भ्रष्टाचार नियन्त्रण कुनै योजना नै छैन । सबै माथिल्लो पदमा हुनेले रातारात धनी बन्ने बाहेक कुनै योजना नै छैन ।

    गाऊमा बस्ने बचेखुचेका बुढाबुढी महिला बालबालिकाबाट मुलुकको बिकास के सम्भव छ रु उत्पादन योग्य जमिन बाँझो छ । गाऊँ सबै खण्डहर भैसकेका छन् । बैदेशिक रोजगारमा गएका युवाहरु नेपाल आए पनि शहर वा सदरमुकाम बस्छन् । मुस्किलले वर्षमा एकपटक गाऊँ पुग्दैनन् । अनि कसरी बन्छ मुलुक ?

    कुन क्षेत्रमा सुधार छ ? कोही बुज्रुकले बताउन सक्नु हुन्छ ?
    जुन नागरीकसँग प्रत्यक्ष सरोकार राख्ने विषय छ त्यो सरकारको दायित्व हुनु पर्ने स्वास्थ्य, शिक्षा जस्ता विषय निजीकरणको नाममा माफियाको हातमा छ । सरुवा बढुवामा नजराना चढाउनु पर्ने, देशको समग्र पुर्वाधार निर्माण कार्य गर्ने क-ख वर्गका ठेकेदार समयमा काम नगर्ने, ती व्यापारी दलका शीर्ष नेताकै संरक्षणमा छन् ।

    समयमा काम गर्न नसकेकोमा दण्ड दिनु पर्नेमा उल्टै म्याद थप गरेर रकम समेत थप गरिदिन्छन् । अपराध गर्नेलाई कानुन सम्मत सजाय दिने अदालतमा न्यायधिस दलको सिफारिसमा नियुक्त हुन्छन् । वकिल अदालतको विचौलिया रहेको स्वयम् अभिव्यक्ति दिन्छन् ।

    क्रुर र अमानविय तरिकाले कर्तव्य ज्यान लिएका अपराधीलाई न्यायालयले गरेको दण्ड सजायलाई समेत वेवास्ता गरेर कार्यपालिकाको सिफारिसमा राष्ट्रपतिबाट आममाफी दिइन्छ भने कसरी कानुनी राज्य मान्न सकिन्छ मान्यवर ? व्यवस्थापिका संसदमा सांसदहरु आवश्यक कानुन वनाउनु भन्दा पुरातन शैलीमा एक अर्कालाई खुइलाउने बाहेक केही काम गर्न सकेका छैनन् ।

    अरवौ रुपैयाका मालिक माननीय पुर्व सांसद, मन्त्री, शीर्ष दलका नेता महँगो उपचारकोलागि सहयोगको याचना गर्छन् । सरकार सरकार ढल्ने त्रासले जति पनि पैसा दिन्छन् । दुर दराजका जनता उपचार नपाई सिटामोल र जीवनजल खान नपाएर मरेका छन् ।  अनि कसरी बन्छ सरकार देश ?

    सबै खाले कर्मचारी, प्राध्यापक, शिक्षक, वकिल, इन्जिनियर, पत्रकार दलका पिछलग्गु भएर दलिय फण्डामा फसेका छन् । कुनै वर्ग समुदाय दलिय आँखा भन्दा पर छैनन् । आम नागरिकका काम इमान्दारितापूर्वक गर्नु पर्ने र लाग्नु पर्नेमा सरोकारवालाहरुका मानिसहरु दलिय आँखाले हेर्नाले जनता विभक्त छन् वाक्क दिक्क छन् । 
    अनि कसरी देश बिकास हुन्छ र देश बन्छ महोदय ? 

    बजेट भाषण प्रत्येक वर्ष अर्थमन्त्रीज्युबाट वाचन हुन्छ । बजेट भाषण पुरानै शैलीवाट कर्मकाण्डिय रुपमा प्रस्तुत गरिन्छ । आज युवाहरुले यस पटकको बजेटमा कती वटा उद्योग खोल्ने कार्यक्रम छ ? कती जनसंख्यालाई रोजगारीको ढोका खोल्ने यस बजेटमा व्यवस्था गरेको छ, आफूहरुलाई बजेटले कहाँनेर समेटेको छ, हेर्छन् सुन्छन् । तर बजेटमा आफुहरुलाइ नपाइ सकेपछि शासनसँग आक्रोश व्यक्त गर्दछन् ! युवाहरु मात्र हैन आम नेपाली जनता बजेटमा आफु कहाँ छु थाहा पत्तो भएन भने त्यो युवा मुलुकमा बस्छ ?  

    अनि कसरी देश बिकास हुन्छ र देश बन्छ महोदय ? 
    कार्यपालिकाले जनताको पीर मर्का नबुझ्ने, महँगी दिनानुदिन बढ्ने, नियन्त्रणमा नलाग्ने, कालोबजारीलाई प्रश्रय दिने, नाताबाद र कृपाबादलाई प्रश्रय दिने, बिकास र रोजगारलाई प्राथमिकतामा नपर्ने, स्वास्थ्य र शिक्षालाई निजीकरण र व्यापारीलाई सुम्पने, भएका कलकारखाना बन्द गर्ने, कारखाना खोल्ने र रोजगारको व्यवस्था तर्फ ध्यान नदिने, बैदेशिक रोजगार तर्फ प्रोत्साहित गर्ने, दक्ष र सीपयुक्त जनशक्तिलाई बिदेशिन रोक्ने कुनै कार्यक्रम नभए पछि कसरी बन्छ देश सरकार ?

    व्यवस्थापिका संसदमा छलफल हुँदा जनजीविकाको बारेमा कमै सुनिन्छन ! संसदले राम्रा कानुन निर्माण, जनजीविका र विकासलाई प्राथमिकतामा पर्दैन । एक दलले अर्को दललाई नांगेझार हुने गरि खुइलाउने, व्यक्ति व्यक्ति बीच कटाक्ष गर्ने, कसरी सत्ता उल्टा पल्टा गर्ने, सबै दल पार्टी सत्तामुखी हुने, आफ्ना सुख सुविधा वृध्दि र सांसद बिकास कोषमा पैसा छुट्याउने र आफ्ना कार्यकर्ताहरुलाई ठेक्का टेण्डर दिएर कमिशन लिने बाहेक केही नयाँ काम देखिएन । त्यसै कारण व्यस्थापिका संसद पनि फेल, जनता साह्रै निराश छन् ।

    न्यायपालिकामा प्रवेश गर्दा न्यायाधिशका बिचौलिया वकिलबाट न्याय किन्नुपर्ने अवस्था हालको छ भने न्यायधिश नै पार्टीबाट नियुक्ति हुन्छन् । अनि कसरी न्याय पाउछन् नागरीकले ? अनि कसरी देश बिकास हुन्छ र देश बन्छ महोदय ?

    ऊफ ! तिब्र गतिमा ओरालो लागेको देशलाई टक्क रोक्न समेत नसकिने भयो । लौन सबैले शान्त भएर एकपटक सोचौं । अवसरवाद र भ्रष्टाचारको जराबाटै उन्मुलन गर्ने प्रण गरौं । प्रकृतिको यो अनुपम सुन्दरताको प्यारो मुलुकलाई समृद्ध बनाई नेपाली मानव जिवनको रक्षा गरौं । 

    समसामयिक राजनीतिका विश्लेषक तथा शिक्षाकर्ममा ४० औ वसन्त विताईसकेका नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष पन्तका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस

    २०८०, आषाढ १७ आइतवार०९:३१:२८

    सुन्दर पन्त

    प्रतिक्रिया
    सम्बन्धित समाचार