कोरोनाले थलिएको हाम्रो अर्थतन्त्रमा यो वर्ष भने केहि सुधारका संकेतहरु देखिएका छन् । हाम्रो अर्थतन्त्रमा बाह्य सूचकहरुमा केहि सुधार आएको छ । चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । यो गत वर्षको तुलनामा १५.५ प्रतिशत ले बढी हो । जवकी गत वर्ष जेठमा १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ रेमिट्यान्स देश भित्र आएको थियो । यदि हामीले यसरी बढ्दो मात्रामा रहेको रेमिट्यान्सलाई उत्पादन मूलक क्षेत्रमा लगानी गर्ने हो भने देशको अर्थतन्त्रमा दीर्घकालिन सुधार हुने छ ।
गत साउन देखि जेठ मसान्त सम्ममा नेपालले १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्ष भने यो अवधीमा १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख २५ हजार रुपैयाँ वैदेशिक व्यापार भएको थियो । यो वर्ष गतवर्ष भन्दा १८.८० प्रतिशतले वैदेशिक व्यापार बढेको छ । यो वर्ष १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ व्यापार घाटा भएको छ भने गत वर्ष यहि अवधीमा १३ खर्व १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार रुपैयाँ व्यापार घाटा भएको थियो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३० प्रतिशतले बढी रहेको भन्सार विभागले जनाएको छ ।
तर, थोरै आशा लाग्दो तथ्यांक चाहि के देखिन्छ भने हाम्रो निर्यात बढ्दा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा घटेको छ । गत वर्षको यहि अवधीमा कुल व्यापारमा आयातको हिस्सा ९१.२६ प्रतिशत र निर्यातको हिस्सा ८.७४ प्रतिशत मात्रै थियो भने यो वर्ष सुधार भएर कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.९२ प्रतिशत र निर्यातको हिस्सा १३.०८ प्रतिशत रहेको छ ।
तर, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाए अनुसार गत आर्थिक वर्षको जेठ मसान्तमा रु २१ अर्ब १२ करोड बराबरको धानचामल नेपालमा आयात भएको थियो भने यो आर्थिक वर्षको जेठ मसान्तसम्ममा गत वर्षको तुलनामा करिब रु १७ अर्ब ८२ करोडले वृद्धि भई रु ३८ अर्ब ९४ करोड बराबरको आयात भएको छ । औषत तथ्यांकमा यसलाई हेर्ने हो भने प्रत्येक महिना औसत रु ३ अर्बभन्दा बढीको धानचामलको आयात हुन आउछ । यो क्रम बढ्दै जाने हो भने बजेटले दुई वर्षमा चामलमा नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्य पुरा नहुने देखिन्छ ।
यति हुँदाहूँदै पनि हाम्रो आन्तरिक आर्थिक गतिविधीहरुमा भने अझै अपेक्षा गरे अनुसारको सुधार हुन सकेको छैन । उद्योग, व्यापार र लगानीका क्षेत्रमा रोजगारी सृजनादेखि उपभोगमा वृद्धि र उत्पादन बृद्धिमा सुधारसम्मका सूचक भने कमजोर नै देखिएका छन् । यसरी कमजोर भएको हाम्रो आन्तरिक अर्थतन्त्र सुधारकालागि अर्थतन्त्रमा संरचनात्मक सुधार र उपयुक्त किसिमका दीर्घकालिन रणनीतिहरु आवश्यक देखिन्छन् ।
गत साल बजारमा तरलताको अभाव झेलेको हाम्रो अर्थतन्त्रमा यो आर्थिक वर्षमा बजारमा पर्याप्त तरल रहेता पनि बजारको माग भने खुम्चिएको छ । बैंकहरुमा प्रसस्त तरलता जम्मा भएर ब्याजदरमा गिरावट आउदा पनि ७ प्रतिशत भन्दा बढीले कर्जा विस्तार हुन सकेको छैन । यसले अघिल्ला वर्षहरुमा नेपाली अर्थतन्त्रमा देखिएको आर्थिक सुस्ति अझैबाँकी रहेको प्रस्ट हुन्छ । पहिला नै एकपटक खैरो सूची (ग्रे लिस्ट) मा परि सकेको नेपाल यो आर्थिक वर्षमा दोस्रो पटक.सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ग्रे लिस्टमा परेको छ ।
हामीले जति सक्दो चाँडो ग्रे लिस्टबाट बाहिर निस्कनु पर्छ । नत्र यो झन जटिल अवस्था तीर प्रवेश गर्ने खतरा हुन्छ । यसबाट बाहिर आउनकालागि सरकारले आवश्यक ऐन, कानुन निर्माण र कार्यान्वयनमा कडाइ गर्नुपर्ने, घरजग्गा कारोबार बैंकिङ च्यानलमार्फत मात्रै गरिनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, सेयर र व्यापार व्यवसायमा हुने शंकास्पद कारोवारलाई पारदर्शी बनाउनुका साथै सम्पत्तिशुद्धिकरण तथा आतंकबादमा वित्तीय लगानीलाई पूर्ण बन्द गरिनु पर्छ तथा एफएटीएफले तोकेका सबै सूचकहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । यदी यसो गर्न सकिएन भने नेपाल कालो सूचिमा पर्ने सम्भावना हुन्छ । हाम्रो अर्थतन्त्रकालागि त्यो अवस्था झनै जटिल हुन सक्छ ।
आत्म निर्भर अर्थतन्कालागि देशमा लगानी कम भयो भनेर विदेशी लगानी भित्राउने उद्देश्यले सरकारले यो वर्षमा लगानी सम्मेलन त गर्यो तर यसको सोचे अनुसारको उपब्धी भने हासिल हुन सकेन । बैदेशिक लगानी भित्राउनकालागि सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक व्यवसाय ऐन, श्रम ऐन, विदेशी लगानी नीति, लगानी बोर्ड स्थापना, स्वचालित दर्ता जस्ता थुपै्र विषयहरुमा सुधार गर्दा पनि सरकार स्थीर नहुन, विगतका सरकारका बिभिन्नखाले समस्याहरु रहि रहनु, देशको कर्मचारी तन्त्र, राजनैतिक दल र तीनका कार्यकर्ताहरुको चन्दा आतंक, नेपालको आन्तरिक बजार सानो हुनु, छिमेकी देशहरुको बजार ठूलो भएपनि त्यहाँको बजारमा प्रवेश र हाम्रो पहुँच भरपर्दो र विश्वासिलो नहुनु जस्ता कारणहरुले विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न विश्वस्त हुन नसकेको देखिन्छ ।
यो आर्थिक वर्ष नेपालीहरुकालागि खुशीको वर्ष पनि रह्यो । यो वर्षमा नै नेपालको दैलेखमा पेट्रोलियम भण्डार रहेको पुष्टि भयो । यो कार्यलाई निरन्तरता दिने हो भने हामीलाई आवश्यक सम्पूर्ण इन्धनको माग पूरा हुने र विदेश निर्यात सम्भव हुने छ । यदि यो सम्भव भएमा रोजगार वृद्धि र व्यापार घाटा कमगर्न सहज हुन्छ ।
यो आर्थिक वर्षमा नै निवर्तमान गभर्नर महाप्रसाद आधिकारीको कार्यकाल समाप्ति र नयाँ गभर्नरको आगमन भएको छ । यसले पनि अर्थतन्त्रमा फरक पर्ने गर्छ भने यसै आर्थिक वर्षमा हाम्रो अर्थतन्त्रको आकार बढेर करिव ६० खर्व हुन पुगेको छ ।
नेपाल राष्ट्र बैंकले जनाए अनुसार चालु आर्थिक वर्षको जेठ मसान्त सम्मको तथ्यांक अनुसार चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँले बचतमा रहेको छ भने अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब अर्ब ३८ करोड रुपैयाँलेमात्र बचतमा रहेको थियो ।.यो अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा रहेको छ भने अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको थियो । गत जुन महीनामा नेपालमा ७६ हजार ४२५ विदेशी पर्यटक भित्रिएका थिए भने यो संख्या अघिल्लो वर्षको सोही महीनाको तुलनामा ०.४ प्रतिशतले कम हो ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार, सन् २०२४ को जुनमा ७६ हजार ७३६ पर्यटकहरु नेपाल आएका थिए । गत साल भन्दा यो वर्ष ३११ जना पर्यटकहरु कम भित्रिएका हुन् । बजेट कार्यान्वयनका हिसावमा औषत मात्र रह्यो यो वर्ष ।
चालू आर्थिक वर्षमा सरकारले कुल बजेटको ८०.९१ प्रतिशत खर्च गरेको छ । जसमा पूँजिगत तर्फ ५९.१३ प्रतिशत, चालु तर्फ ८५.८२ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ कुल विनियोजनको ८६.५६ प्रतिशत खर्च भएको छ । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ७१ अर्ब बराबरको आम्दानी गर्ने लक्ष्य राखेको भएपनि हाल सम्म ११ खर्व ३१ अर्ब मात्र आम्दानी गरेको देखिन्छ । मूल्यवृद्धिका हिसावले सुखद नै रह्यो यो आर्थिक वर्ष ।
अन्तमा, गतसालहरुको तुलनामा यो आर्थिक वर्षमा अर्थतन्त्रमा सानै भएपनि सुधारका संकेतहरु देखा परेका छन् । यसो हुनुमा सरकारको कार्यशैलि र निरन्तरता पनि हो । तसर्थ स्थायित्वकालागि यहि सरकार रहि रहने र उनीहरुले इमान्दार भएर कार्य सम्पन्न गर्ने हो भने आगामी दिनहरुमा अर्थतन्त्रमा आश गरौं पक्कै पनि सुधार हुने छ ।
-लेखक त्रिविमा प्राध्यापनरत अर्थशास्त्री हुन् ।