कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुँदै, एआई र व्यावहारिक शिक्षालाई प्राथमिकता

कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुँदै, एआई र व्यावहारिक शिक्षालाई प्राथमिकता

२०८३, भाद्र २६ शुक्रवार

  • 373
    SHARES

  • कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुँदै, एआई र व्यावहारिक शिक्षालाई प्राथमिकता

    जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागू गर्ने गरी सरकारले तयारी अघि बढाइरहेको बताएका छन्।

    मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा जनकपुरधाममा आयोजित राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सुझाव तथा पृष्ठपोषण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले समयअनुकूल र विद्यार्थीको आवश्यकता सम्बोधन गर्ने गरी पाठ्यक्रम परिमार्जनको गृहकार्य भइरहेको जानकारी दिए।

    उनका अनुसार हालको पाठ्यक्रममा व्यापक परिमार्जन आवश्यक देखिएपछि कार्यदल गठन गरी देशभरका शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाविद् तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालाबाट सुझाव सङ्कलन भइरहेको छ। प्राप्त सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गरी आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ।

    मन्त्री पोखरेलले पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई)को प्रयोग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै नयाँ पाठ्यक्रममा एआईको सही र सिर्जनात्मक प्रयोगसम्बन्धी विषय समेट्नुपर्ने बताए।

    “अहिले कृत्रिम बौद्धिकता (एआई)को व्यापक प्रयोग भइरहेको अवस्थामा यसलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने विषयलाई पनि पाठ्यक्रममा समेट्नुपर्छ,” उनले भने।

    किताबी ज्ञानमा मात्र सीमित नभई विद्यार्थीलाई व्यावहारिक, प्राविधिक तथा सीपमूलक शिक्षा प्रदान गर्ने उद्देश्यले नयाँ पाठ्यक्रम निर्माण गर्न लागिएको उनको भनाइ छ।

    कक्षा १ देखि १२ सम्मकै पाठ्यक्रम परिमार्जन गर्न लागिएकाले यसको निर्माणमा शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाविद् तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालाको सुझाव महत्त्वपूर्ण हुने मन्त्री पोखरेलले बताए।

    सरकारले व्यापक छलफल र सुझाव सङ्कलनपछि मात्र नयाँ पाठ्यक्रम तयार गर्ने भन्दै उनले सम्बन्धित सबै पक्षलाई रचनात्मक सुझाव दिन आग्रह गरे।

    मन्त्री पोखरेलले विद्यालय शिक्षासँग सम्बन्धित समस्या समाधान गर्न सरकारले विद्यालय शिक्षा ऐन समेत छिट्टै ल्याउने तयारी गरिरहेको जानकारी दिए। ऐन निर्माणपछि विद्यालय तहमा देखिएका विभिन्न समस्या समाधान गर्न सहज हुने उनले विश्वास व्यक्त गरे।

    कार्यक्रममा मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले नेपालको शिक्षा प्रणाली सुधारका लागि सङ्घीय सरकारसँग समन्वय र सहकार्य गर्दै अघि बढ्न प्रदेश सरकार तयार रहेको बताए।

    उनले शैक्षिक रूपमा मधेस प्रदेश पछाडि परेको उल्लेख गर्दै शिक्षाको स्तर उकास्न प्रदेश सरकारले विशेष प्रयास गरिरहेको जानकारी दिए। शिक्षा क्षेत्रको सुधारका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

    विद्यालय तहदेखि नै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न प्रदेश सरकारले आवश्यक नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेको मन्त्री सिंहले बताए।

    कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि गठित कार्यदलले काम गरिरहेको जानकारी दिए।

    सरोकारवालाबाट प्राप्त सुझावका आधारमा पाठ्यक्रममा आवश्यक परिमार्जन गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले बताए।

    कार्यक्रममा सहभागी शिक्षक, विद्यार्थी तथा शिक्षा क्षेत्रका विभिन्न निकायका प्रतिनिधिले विद्यालयशिक्षाको गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षा, व्यावहारिक तथा प्राविधिक ज्ञान र कृत्रिम बौद्धिकताको सदुपयोग लगायतका विषयमा सुझाव तथा पृष्ठपोषण दिएका थिए।

    २०८३, भाद्र २६ शुक्रवार०३:००:५५

    स्याटेलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार