व्याज र व्याजदरको सामाजिक सापेक्षता

व्याज र व्याजदरको सामाजिक सापेक्षता

२०७८, बैशाख १७ शुक्रवार

  • 2.5K
    SHARES

  • व्याज र व्याजदरको सामाजिक सापेक्षता

    काठमाडौं । बित्तीय संस्थाहरुले व्यक्ति तथा व्यावसायिक समुहहरुसंग करार गर्ने ब्याज र व्याजदरको अभ्यास झट्ट हेर्दा सम्पुर्ण रुपले प्राविधकजस्तो लागेपनि यसको सामाजिक पक्ष पनि उत्तिकै महत्वपुर्ण र झन् सान्दर्भिक हुन आउँछ ।

    साहु महाजनका गई व्याजमा पैसा लिएर गर्जो फुकाउने हाम्रो नेपाली परम्पराले विक्रम संवत १९९४ शालमा स्थापित नेपाल वैंक लिमिटेडको स्थापना संगै संथागत रुप हासिल गरेको ईतिहास सर्वविदितै छ । स्थापना कालमा सो वैंकको मुख्य काम भनेकै धितोमा निक्षेप स्वीकार गरी व्याजमा कर्जा प्रवाह गर्ने थियो ।

    त्यसपछि क्रमशः थुप्रै वैंकहरु स्थापना हुँदै गए । कर्जा केवल उद्यम र व्यापारको लागि मात्र नभई घर, परिवहन, शिक्षा आदि जस्ता विविध शीर्षकमा पनि प्रवाह हुन थाल्यो । छातीमा हात राखेर भन्नु पर्दा बैंकका यी क्रियाकलापले उनीहरुको व्यावशाय दिन दुईगुना रात चार गुना बन्दै गयो तर यता देशको अर्थतन्त्र र उत्पादकत्वको स्थिति भने झन् झन् नाजुक बन्दै गएको कुरामा दुईमत छैन ।

    परिणाम स्वरुप केही बर्ष अगाडि तत्कालिन गर्भनर श्री युवराज खतिवडाको टिमले एउटा नमिठो निर्णय गर्नु परयो । त्यो भनेको घर कर्जा शीर्षकमा प्रवाह गरिने रकमको प्रतिशतमा एक एक कटौती । साँच्चै भन्नु पर्दा त्यो बेला नेपाल राष्ट्र बैंकले नेपाली अर्थतन्त्रलाई एउटा डरलाग्दो दुर्घटनाबाट बचाएकै हो भलै केही रियल स्टेट व्यवशायीहरुको स्थिति भने यता नाजुक नै बन्न पुग्यो ।

    कर्जा लिने र दिने दूबै पक्ष इमान्दार देखिएनन् । उद्यम नगर्ने , कुनै प्रकारको जोखिम नमोल्ने र आनन्दले बसी बसी खान खोज्नेहरुको लागि सवै भन्दा उत्तम उपाय भनेकै निक्षेप हो । यता वैंकको त्रियाकलाप यस्तो रहयो कि आफु सवै तिरबाट सुरक्षित बन्ने, धितोलाई चार खण्डको एक खण्ड मुल्याड्कन गर्ने र सेवा शुल्क लगायत यस्तै अन्य विविध शुल्क लगाएर अति चर्को व्याज दरमा कर्जा प्रवाह गर्ने आदि ।

    अर्कोतिर व्यापार र व्यावशाय प्रवर्दन भन्दा पनि वैंकको पैसामा अनेक प्रकारका चलखेल गरी व्यवशायलाई केवल देखाउने माध्यम बनाउने कथित उद्यमीको बाहुल्यता रहयो । यस्तो अवस्थामा निश्चय नै व्याज लिने र दिने प्रणालीमाथि नै सैद्धान्तिक प्रश्न उठन सक्छ र भन्न मन लाग्छ कतै व्याज खाने र तिर्ने प्रचलननै गलत पो छ की खास गरी देश र जनताको हितमा भनेर ।

    वर्तमान परिपेक्षमा नेपाली अर्थतन्त्रको कुरा गर्ने हो भने पनि प्रष्ट हुन्छ, उद्यम र व्यापार दिनानुदिन खस्किँदो छ तर च्याउ उम्रिए जस्ता वित्तिय कम्पनीहरुको कागजी नाफाले जो कोही जनता सोच्न बाध्य भएका छन् कि यी वित्तीय कम्पनिहरु राष्ट्रको विकाशमा कत्तिको सहभागी भएका छन भनेर ।

    फेरी व्याज लिने र दिने परम्परामा इतिहास देखि निकै बहश र पैरवी नभएका पनि होईनन् । तर नेपालमा वित्तीय संस्थाहरुले प्रवाह गर्ने व्याजदर विश्व मै उच्चदरको छ । तैपनि कर्जा लिन बाध्य छन् नेपालीहरु तर व्याज खानु सिद्धान्ततः कति उचित हुन्छ भनेर प्रश्न गर्नू अगाडि विश्व इतिहासलाई नियाल्नु पर्ने हुन आउँछ ।

    त्यसो त कर्जा बिना जीवन, उद्यम, व्यवशाय ठप्प हुन्छ भनेर नै होला । कर्जाको इतिहास खोज्न ईशा पुर्व ५०० बर्ष भन्दा अगाडि पुग्न पर्ने हुन आउँछ । ईश्वीको २५०० दखि २०० बर्ष अगाडि सम्म हेब्रुले शासन गरे । पास्चोरल युगसँगसँगै जव उनीहरुले तुलनात्मक रुपमा स्थायी बसोबास र जीवन शैलीलाई अँगाले त्यसपछि नै सुरु हुन्छ मानवको सामाजिक कृयाकलाप ।

    यसै मध्यको आर्थिक पक्ष जिवनको अभिन्न अंग बनेर आयो भन्ने कुरा अहिले सम्मको प्रमाणिक इतिहास मानिन्छ । भलै कि हिन्दु कुस क्षेत्रमा मौलाएको वैदिक संस्किृति त्यस भन्दा पनि पुरानो छ भनेर दावी गर्नेहरुको जमात पनि कम छैन । त्यसो त विक्रमाब्दको प्रारम्भनै इश्वी भन्दा ५७ बर्ष अगाडि छ त्यसैले इतिहासको फेरो समाउन तंगी लागेका प्रमाणहरु अटाई नअटाई छन् ।

    हामीले पश्चिमाहरुको संस्कार र संस्कृतिलाई अर्थ्याउने प्रस्थान बिन्दु भनेको चाहीँ माथि भनिए जस्तै इशापुर्व २५०० देखि ५०० वर्ष सम्मको हेब्रुको समय हो । त्यसैले मानिसको सामाजिक क्रियाकलापको व्याख्या गर्दा तेतैतिरबाट यात्रा शुरु गर्नु पर्छ अर्को प्रमाणिक इतिहास नभेटेसम्म ।

    समाजलाई सुन्दर, समुचित, सभ्य र सुसंस्किृत बनाउन इतिहासदेखि मानिस लागि परेको छ । वास्तवमा भन्नु पर्दा शोषण रहित समाज र न्यायोचित वितरण प्रायः सवै खाले समाजको साध्य हो । हेबु्रले पनि यसैका लागि भगिरथ प्रयास गरे र खास गरी उत्पादनमा न्यायोचित वितरण र सामाजिक अनी आर्थिक नीतिका लागि तिनको आफ्नै योजना कार्यक्रम र लक्ष्य थियो ।

    त्यो समाजमा पनि हुने र नहुने विचको खाडल देखा पर्यो आजको हामीले जति नै समानता र साम्यवादको विचार अगाडि सारे पनि यो असमानता भई नै हाल्दो रहेछ । खास गरी मानव समाजमा । त्यो असमानतालाई कसरी सही व्यवस्थापन गर्ने भन्ने चाही मुख्य कुरा हुन आउँछ । हिब्रु समाजमा कर्जा लिने दिने काम हुन्थ्यो तर उधोग व्याशायको लागि भन्दा पनि खानैको लागि ।

    हुनेले नहुनेलाई विना व्याज कर्जा उपलब्ध गराउनु पर्ने, छ वर्ष भित्रमा कर्जा चुक्ता गरिसक्नु पर्ने र केही गरी सातौं बर्ष लाग्यो भने कर्जा मिन्हा गरीदिनु पर्ने । यस्तो विधानले के इंगित गर्दछ भने कर्जा भनेको दिने मान्छेको लागि केवल सम्पत्तिको सूरक्षण मात्र हो त्यसबाट अरु सम्पत्ति बनाउने वा बृद्धि गर्ने कूरा भएन र पाउने मानिसको लागि भने गर्जो टार्ने उपाय ।

    त्यसकारण मूलधन सूरक्षित रुपले फिर्ता गर्नूपर्ने तर व्याजको 'ब' पनि उनीहरुको अभ्यासमा थिएन । तिनीहरुले अभ्यास गर्ने मोजाईक कानूनले त व्याजलाई निषेध नै गरेको थियो । तर धितो चाही लिने गर्दथे ।

    यता ग्रिकको समयमा जून इशापूर्व ५०० देखि यता मानिन्छ । प्लेटोले राज्यको आवश्यकता नै अर्थशास्त्रसँग लगेर जोडेका छन् । मानिसको संख्या बृद्धिसँगै त्यो पनि विशेष गरि शहरमा नागरिकका आवश्यकताहरु बढदै गए र तिनको परिपुर्तिका लागि आर्थिक संस्थाहरु जन्मिँदै गए । संस्थाको अर्थ यहाँ सांगठनिक निकाय नभई सामाजिक अभ्यासको अर्थमा लक्षणिक छन् ।

    त्यसैले कर्जा, धितो, व्याज र व्याजदर ग्रिकको पनि अभ्यस्थ संस्था हुन पुग्यो किन कि कर्जा मानवीय जिवनको अभिन्न अंग भएको कूरा ग्रिक सभ्यताले पनि नकार्न सकेन । त्यसैले अरस्तूको समय सम्म आईपुग्दा उनले नत कर्जालाई नकार्न सके नत मुद्राको भुमिकालाई तर व्याजका सन्दर्भमा भने उनको मत पनि हिब्रु कै छेउ छाउ रहयो र व्याज लिनु दिनु दुवै गलत हो भन्ने उनको ठम्याई रहयो ।

    मुद्राको भुमिकालाई अत्यन्तै उच्च मुल्याड्कन गर्ने एरिस्टोटलका लागि मुद्राका तिनवटा काम भनेको बस्तु विनिमयको माध्यम, वस्तुको मुल्य मापन र मुल्यको भण्डारण हुन् । यी बाहेक मुद्राको अर्को काम हुन सक्दैन । खास गरी उनको विमति भनेको मुद्रा अर्को सम्पत्ति बनाउनको लागि होईन । अझ प्रष्ट रुपमा भन्दा मुद्रा दिएर व्याज लिने कामले मुद्राको सिद्धान्तमा नै प्रश्न उठाउन पुग्छ ।

    एरिस्टोटल भन्छन् व्याज सवै भन्दा घृणित कर्म हो र यसले पैशाको पाकृतिक सिद्धान्त माथि नै आक्रमण गर्छ । पैशा र मुद्रालाई ब्याज खाने परम्पराले यसको प्राकृतिक रुपमा रहन दिँदैन र सम्पत्ति आर्जन गर्ने सवै भन्दा अप्राकृतिक शैलि नै व्याज हो भन्ने एरिस्टोटलको तर्क हो । जव रोमन शामराज्यको उदय भयो ईशाको सूरुसँगै तीनको सवै भन्दा ठुलो योगदान भनेकै कानून हो ।

    हरेका क्रियाकलापमा न्याय खोज्ने परम्पराले रोमनलाई धेरै अगाडी ल्यायो जस्तो कि उनीहरुले प्रयोग गर्ने जस भन्ने शब्द जे मा पनि जोडिन थाल्यो र व्याज र पैशाको सन्दर्भमा पनि जस भन्ने शब्दको भरपुर प्रयोग र व्याख्या हुन पुग्यो । उनीहरुले चाही व्याजलाई स्वीकारेको पाईन्छ तर न्यायोचित दरमा मात्र । जस्तो की उनीहरुले व्याजदरलाई लगानीको जोखिमसँग लगेर जोडे र जति जोखिम बढी हुन्छ त्यतिनै दरमा व्याज निखन्न पाउने एउटा न्यायोचित तर्क अगाडि सारे ।

    प्रशिद्ध अर्थशास्त्री एस.के.श्रीवास्तव आफ्नो पुस्तकमा लेख्छन् रोममा निकै कम त्यो भन्दापनि लगानीको जोखिम हेरी चार देखि आठ प्रतिशत सम्म व्याज लिने गर्दथे भने तर त्यस अन्तर्गत अन्य राज्यहरुमा १० गुणा सम्म पनि व्याज लिएको पाईन्छ । यसले के कुरा प्रमाणित गर्दछ भने दूरदराज र शासकको दृष्टि ओझेल पर्दा ब्याजको नाममा मनपरी गरेर निर्धालाई शोषण गर्ने अभ्यास त्यतिबेला पनि रहेछ ।

    सैद्धान्तिक धरातलमा हेर्ने हो भने व्याज र व्याजदर जस्ता बैंकिङ अभ्यास पुँजिवाद कै एउटा रणनीति वा अभ्यास हो र यो पुँजिवादसँगै मौलाएको छ । संसारमा पुँजिवादको सुरुवातको कुरा गर्दा कसैले पन्ध्रौ शताब्दी भने त कसैले अठारौ शताव्दीको मध्य तर पुँजिवादलाई यसको अकाट्य चरित्रको आधारमा व्याख्या गर्ने हो भने यसको सुरुवात इशापुर्वबाट सुरु भएको हुनु पर्छ ।

    जव मानिसहरु घुमन्ते युगबाट एउटा निश्चित स्थानमा बसोबास गर्न थाले सवै भन्दा पहिले तिनीहरुले जानेको कुरा भनेकै जम्मा गर्ने । जव यो संकलनको संस्कार मानव जातिले सुरु गर्यो तवदेखि नै पुँजिवादको रफ्तार संसारमा शुरु भयो । यो रफ्तार कहिल्यै रोकिएन भन्ने हाम्रो मान्यता हो र यसको अन्त्य हुनेवाला पनि छैन । पुँजिवादको अन्त्य हुनु भनेको मानव सभ्यताकै अन्त्य हुनु हो ।

    किनकी मनोविज्ञानको पाटोलाई समातेर होलिस्टिक एप्रोचमा समाजको विश्लेषण गर्ने हो भने पुँजिवाद र मानवजाति यस्ता अविभाज्य सामाजिक यथार्थ हुन कि जस्लाई छुट्टयाएर व्याख्या गर्न किमार्थ सकिँदैन । त्यसर्थ व्याज र व्याजदर पनि मानव जाती र पुँजिवादसँग टाँसिएरै आएको आर्थिक पक्ष हो र यो सवै सामाजिक धरातलमा उभिएको हुन्छ । फरक यत्ति हो यसलाई हामी विशुद्ध प्राविधिक शोच र शैलीमा व्याख्या गर्छौं । 

    त्यसको लगत्तै देखा परेको मर्कन्टालिज्म पनि केही विशिष्ट चरित्र लिएर आयो । जतिसक्दो व्यापार बढाउने उनीहरुको ध्याउन्न थियो । उनीहरुले निर्यातमा जोड दिए र राज्यलाई सुन र चाँदीले भरिपुर्ण बनाउन पर्छ भन्ने उनीहरुको मान्यता थियो भने अर्कोतिर मुद्राको मान जति धेरै यसको विनिमय भयो त्यति धेरै बढछ भन्नेमा उनीहरु विश्वस्त थिए ।

    यही सिद्धान्तमा बस्तुनिष्ट भएर मर्कन्टालिस्ट लागेका कारण कर्जाको अभ्यास र कर्जामा लाग्ने व्याजदर उनीहरुका लागि निरपेक्ष हुन सकेन । मर्कन्टालिस्ट थोमस ममले व्याजको उपादेयताको बारेमा राम्रो व्याख्या गरे । उनी भन्छन् राज्यका बिधुवा अनाथ र यस्तै अरु आफै उद्यम गर्न नसक्नेका लागि सम्पत्ति व्याजमा लगाउँदा सीप भएर पुँजि नहुनेहरु लाभान्वित हुन्छन् ।

    फेरी अर्को तिर विधवा अनाथ र यस्तै अरु केही सिमान्तकृत समुदाय आफैँ उद्यम गर्न सक्दैनन् । देश विदेश जान सक्दैनन् नत व्यापार नै गर्न सक्छन् । तसर्थ तिनीहरुका सम्पत्ति व्याजमा लगाउन जति उत्तम अरु केही हुनै सक्दैन । त्यसैले कस्तो पूँजी ब्याजमा लगाउने भन्नेबारे मर्कान्टालिस्टहरु प्रस्ट थिए । १६६८ मा सर थोमस कपलरले व्याज लिएपनि धेरै कम दरमा लिनु पर्ने सुझाव दिएका थिए भने उनैका छोराले त व्याजको तिव्र आलोचना गरे ।

    तर उनीहरुले व्याज लिनु हुँदैन वा लिएपनि अत्यन्तै कम लिन सुझाएका चाँहि त्यसको सामाजिक प्रभाव भन्दा पनि प्राविधिक दृष्टिले हो किन भने उच्च व्याजदरले बजारमा मुद्रा प्रदाय कम हुन्छ र यसको मुल्य बृद्धि हुन्छ भन्ने उनीहरुको तर्क थियो । र अहिले पनि सवैतिर मुद्राको उच्च अभावको बेला उच्च व्याजदर कायम गरेर निक्षेपकर्तालाई आकर्षण गर्ने गरिन्छ ।

    फेरी नेपालकै परिपेक्ष्यमा कुरा गर्दा पनि पुँजिवाद मानव समाजको विकाशक्रम सँगै प्रत्यक्ष र परोक्ष रुपमा अगाडि बढेको एउटा नैशर्गिक सत्य हो र यसको श्रृंखला थामिँदैन र थामिनु पनि हुन्न । वित्तिय संस्था र यसको क्रियाकलाप पनि त्यहि पुँजिवादको जगमा टेकेर आएको एउटा आर्थिक अभ्यास हो ।

    तर व्याजको विकल्पमा पनि अभ्यास गर्न सक्छ । एउटा सक्कली पुँजिवादी अभ्यास हुन सक्छ भन्ने कुरा संसारमा इस्लामिक वैंकहरुले देखाईदिएका छन् । अव नेपालमा सञ्चालित बित्तीय संस्थाहरुले पनि त्यसतर्फ किन नसोच्ने अनि व्याजमा खेलेर व्यावशायिक विकाश भएको भन्नु दलाल पुँजिवाद बाहेक केही होईन । नमिठो लाग्ला दलाल पुँजिवाद भनेकै मेहनेत भन्दा पनि झुठो विज्ञापनको सहाराले जनतालाई मुर्ख बनाउने प्रवृत्ति हो ।

    यसको मुल जरो भनेको नीति निर्माता र राज्य नै हो । उसैको कार्यदिशा प्रष्ट नहुँदा देशको अर्थतन्त्र लथालिंग हुनपुग्यो । व्याशायीले व्यावशाय गर्ने जुन बाटो देखाईदियो त्यतै हिँडछन् । नाफा आर्जन गर्नु उनीहरुको लक्ष्य हो । राष्ट्र राष्ट्रियता उनीहरुका लागि दोस्रो कुरा हो । त्यसर्थ वित्तीय संस्थाहरुको यो व्याजमा आधारित व्यावशायीकताको दुरगामी असर त्यति राम्रो देखिदैंन खास गरी हाम्रो जस्तो देशमा जहाँ मान्छेको स्वभाव नै बिना उद्यम नाफमुखी हुन खोज्छ ।

    त्यसर्थ, अन्त्यमा विश्वव्यापीकरणको प्रभावमा अल्झिएर हामीले गर्दै आएको बैंकिङ अभ्यासमाथि समाजशास्त्रीय कोणबाट सिद्धान्त र बहसको थालनी गर्यौँ भने मात्र दीर्घकालीन उपचार भेट्नसक्छौँ अन्यथा हाँगाबाट पलाएको प्राविधिक पक्षलाई मात्र केलाएर बस्यौँ भने हामी कहिले उँभो लाग्न सकदैनौँ। बिसूद्ध अंकगणितीय हिसाबले समाजमा जरो गाडेको कूनै पनि संस्थाको विश्लेषण हुन सक्दैन । 

    -लेखकः अधिवक्ता तथा अर्थ समाजशास्त्री हुनुहुन्छ ।)

    २०७८, बैशाख १७ शुक्रवार११:१७:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार