काठमाडौं । मदन भण्डारी वि.स (२००९-२०५०) नेपालका राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी, लेनिनवादी) का नेता हुनुहुन्थ्यो। जनआन्दोलन २०४६ मा बाममोर्चाबाट सकृय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी, लेनिनवादी) र मनमोहन अधिकारीद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले)गठन गर्न महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो।
उहाँकै नेतृत्वमा आम निर्वाचन २०४८ मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रूपमा एमाले स्थापित भएको थियो। उहाँले २०४९ को पाँचौ महाधिवेशनमा प्रतिपादित जनताको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) जनवादी राजनीतिमा अगाडि बढी आम निर्वाचन २०५१ मा देशको प्रमुख पार्टीको रूपमा स्थापित भयो ।
लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गर्नु चानचुने कुरा थिएन ।
नेपाली कम्युनिष्ट आन्दोलनका नायक तथा बिचारका खानी जननेता भन्डारी नेपाली कम्युनिष्ट आन्दोलनमा एक प्रमुख नेता र सिद्धान्तकार हुनुहुन्थ्यो । पञ्चायती कालरात्रीको त्यस कठीन समयमा उहाँको नेतृत्वमा प्रजातान्त्रिक आन्दोलनले एकपछी अर्को गरी अगाडी बढ्दै सफलताको शिखर पुग्यो ।
२०४६ मा ऐतिहासिक जनआन्दोलनको आँधिबेहरी भयो र तिस बर्ष लामो पञ्चायती निरंङकुश शासन धरासायी भयो । छिन्नभिन्नजस्तै भइरहेको कम्युनिष्ट आन्दोलाई उग्रवामपन्थी र दक्षिणपन्थी बिसर्जनको अवस्थाबाट जोगायर स्पष्ट सैद्धान्तिक र वैचारिक नेतृत्व प्रदान गर्नु मदन मण्डारीको बिषेश गुण, कौसल र नेतृत्व क्षमता थियो ।
सामन्तवाद विरोधी आन्दोलनका अगुवा र कम्युनिष्ट आन्दोलनका एक प्रसिध्द नेता कमरेड भण्डारीले अघि सार्नुभएको विचारले नेकपा (एमाले) मा वैचारिक मार्गदर्शनको काम गर्यो ।
संविधानको सर्वोच्चता, बहुलबादी खुला समाज शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा आवधिक निर्वाचन, बहुदलिय प्रतिस्पर्धात्मक प्रणाली, बहुमतको सरकार र संबैधानिक प्रतिपक्ष, कानुनीराज्य लगायतका विशेषता सहितका राज्य प्रणालीबाट कल्याणकारी जनबादी व्यवस्था सुदृढीकरण, बिकास र समाजबादमा संक्रमण गर्ने भौतिक तयारी सम्बन्धी ठोस दृष्टिकोण सहित जनताको बहुदलीय जनबादलाई भण्डारीले अगाडि ल्याउनु भयो पार्टीभित्र नयाँ जनवादको बहस चलिरहेका बेला भण्डारीले वैधानिक सङ्घर्ष र राजनीतिक प्रतिस्पर्धामा जोड दिनुभयो ।
नेकपा (एमाले) को २०४९ मा सम्पन्न पाँचौं महाधिवेशनले तत्कालिन महासचिव भण्डारीको प्रस्तावलाई जनताको बहुदलीय जनवादका रुपमा अनुमोदन गर्यो ।
पोखरामा पार्टीको कार्यक्रम सिध्याएर चितवनमा अखिल नेपाल महिला संघको कार्यक्रमको जिल्ला अधिवेशन लगायत तराईको पार्टी कामको सिलसिलामा देशी बिदेशी साँठगाँठका कारण दासढुंगामा भण्डारीको सुनियोजित षडयन्त्रका साथ हत्या गरियो। २०५० साल जेठ ३ गते नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा अप्रिय घटना घट्यो।
कम्युनिष्ट आन्दोलनमा शान्तिपूर्ण धाराका एक चिन्तक भण्डारीको दुर्घटनामा परी मृत्यु भयो। यद्यपि, भण्डारीको अवसान आकस्मिक दुर्घटना हो वा षड्यन्त्रपूर्ण हत्या ? यो विषय भने आजसम्म बहसमै छ। प्रतिभाशाली विचारक, र प्रखर सिर्जनात्मक क्षमता भएको जननेता भण्डारीको असामहीक निधनले नेपाली राजनीतिलाई अपुरणीय क्षति पुगेको छ ।
जननेता भण्डारीको उपस्थिती भौतिक रुपमा नभएता पनि उहाँले प्रतिपादन गर्नु भएका विचारहरुले नेपाली राजनीतिलाई सधैं मार्गनिर्देशन गरीरहनेछन् । जननेता मदन भण्डारीले भनेजस्तै “एउटा व्यक्ति मर्दा श्रीमती विधुवा हुन्छे, छोराले बरखी बार्छ तर एउटा राष्ट्रभक्त छोरो मर्दा राष्ट्र टुहुरो हुन्छ र इतिहासले बरखी बार्छ” उहाँको अनुपस्थितिमा उहाँकै भनाई देशका लागि चरितार्थ हुन पुगेको छ ।
मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनबादलाई अरु परम्परागत विचारभन्दा फरक यी विशेषताले बनाएका छन् ।
कुनै पनि वर्ग, व्यक्ति, संस्था वा पार्टी संविधानभन्दा माथि हुन सक्दैन । संविधान सबैको निम्ति अनुल्लंघनीय हुनुपर्दछ ।समाजको निरन्तर प्रगतिलाई संविधानले निकास दिन सक्नुपर्दछ। संविधानको सर्वोच्चता कायम गर्नुपर्छ ।
प्रत्येक व्यक्तिलाई जनता र राष्ट्रको निम्ति सोच्ने, बोल्ने तथा आफ्ना अनुभूतिहरू व्यक्त गर्ने स्वतन्त्रता हुनुपर्दछ । बाहिरी दुनियाबाट अलग, बन्द र एकोहोरो समाज हुनुहुँदैन । त्यसकारण नेपाली समाज बहुलवादी खुला समाज हुनुपर्छ भन्ने उहाँको मान्यता थियो ।
शक्ति पृथकीकरणको सिद्धान्त शक्ति व्यक्तिको हातमा मात्र होइन संस्थाको हातमा पनि अति केन्द्रिकरण हुनुहुँदैन । एउटै संस्था कार्यकारी, विधायकी र न्यायिक अधिकार प्रयोग गर्ने केन्द्रीय शक्ति हुनुहुँदैन ।
साँचो अर्थमा कम्युनिष्टहरू नै मानव अधिकारको सबभन्दा दृढ योद्धा हुन् र हुन सक्छन्। मानव अधिकारको रक्षा कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण तत्व हो र हुनुपर्दछ ।
बहुदलीय प्रतिस्पर्धा प्रणाली राज्य र त्यसका राजकीय निकायहरू सम्पूर्ण जनताको चासो र सरोकारका विषय हुन् । त्यसमा एउटा मात्र पार्टीको एकाधिकार हुनुहुँदैन । वर्गीय विविधता भएको समाजमा अनेकन राजनीतिक पार्टीहरू हुन सक्दछन् । तिनलाई संविधान बमोजिम राजनीतिक प्रतिष्पर्धा गर्ने स्वतन्त्रता दिनुपर्दछ ।
जनताले एकपटक गरेको निर्णय संधैको निम्ति शाश्वत हुन सक्दैनन् । निर्वाचन–विचार, कार्यक्रम र नीतिहरूको आधारमा निश्चित आवधिक निर्वाचन हुनुपर्दछ भन्य एउटै नीति र कार्यक्रम भित्र व्यक्ति मात्र रोज्न पाउने व्यवस्था सारतत्वमा लोकतान्त्रिक हुन सक्दैन ।
बहुदलीय पद्धतिको मूल तत्व संगठित प्रतिष्पर्धा हो । अर्को मूल तत्व बहुमतको सरकार र अल्पमतको विपक्ष हुने संवैधानिक व्यवस्था हो । सरकारको विपक्षमा वैधानिक रूपमा काम गर्न पाउने प्रणाली लोकतान्त्रिक प्रणाली हो ।
कुनै पनि व्यक्तिमाथि कानून अनुसार अधिकार प्राप्त निकायको औपचारिक निर्णयबाट मात्र दण्डित गर्न सकिने व्यवस्थालाई कानूनको शासन भनिन्छ । सरकार र शक्ति हातमा भएको कुनै पनि निकाय वा व्यक्तिले स्वेच्छाचारी ढंगले काम गर्न पाउने छैनन् र ती सबै प्रचलित कानून अनुसार गरिने छन् ।
जनताको जनवादी व्यवस्था अपेक्षाकृत लामो समयसम्म रहने सामाजिक व्यवस्था भएको हुनाले यसलाई चरणवद्ध रूपमा अगाडि बढाइने छ । जनताको जनवादी व्यवस्थाको सुदृढीकरण गरिने छ ।
पहिलो चरण मा पुरानो व्यवस्थाका शोषणका अवशेषहरू सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने।,
दोश्रो चरण मा नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसाबले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने ।
तेश्रो चरण समाजवादमा संक्रमणको निम्ति केन्द्रित भएर भौतिक तथा सांस्कृतिक तयारी गर्ने ।
वैदेशिक पूँजी र प्रविधिको सवालमा नीतिगत रूपमा ढोका बन्द गरिने छैन । संविधान र ऐन कानूनको सिमाभित्र राष्ट्रिय हितलाई ख्याल राखेर विदेशी पूँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग गरिने छ ।
नयाँ समाजको निर्माणमा सकारात्मक योगदान गर्न नचाहने र त्यसको विरोध र ध्वंसमा लाग्ने सामन्ती जमिन्दार बाहेक अरूलाई जमिनको क्षतिपूर्ति दिइने छ । क्षतिपूर्तिलाई उद्योग, व्यापार र व्यवसायतर्फ स्थानान्तरित गराउने नीति लिइने छ ।
पञ्चशिलको सिद्धान्त अनुरूप वैदेशिक सम्बन्ध कायम गरिने । आफ्नै प्रत्यक्ष पहलबाट अन्तर्राष्ट्रिय समर्थन जुटाउने ।क्रान्ति र निर्माणको ठोस व्यवहारिक विषयलाई बेवास्ता गरेर केवल सैद्धान्तिक आग्रहबाट बैदेशिक नीति निरुपित नहुने ।
नेतृत्व र अधिनायकत्व मार्फत सेवा, पहलकदमी र प्रतिष्पर्धाद्वारा नेतृत्व प्राप्त गर्ने । अधिनायकत्व शव्दको सट्टा आम रूपमा जनताको जनवादी राज्यसत्ता शव्दको प्रयोग गर्ने ।
जनताको बहुदलीय जनवाद यो नेपाली सन्दर्भको नयाँ जनवाद हो । नयाँ जनवादी क्रान्तिको सारतत्व र यस कार्यक्रममा थप १४ विशेषतालाई व्यक्त गर्ने गरि जनताको बहुदलीय जनवाद नामाकरण गरिएको हो ।
(-लेखक अनेरास्ववियु केन्द्रीय सदस्य हुन् ।)