काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेस लगाएतका विपक्षी दलहरू उनीविरुद्ध आगामी निर्वाचनसम्मै कार्यगत एकता गर्ने सम्भावना बढेको छ ।
कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल पक्ष तथा अन्य दलले प्रतिनिधिसभा पुनस्र्थापनाको कानुनी र राजनीतिक लडाइँमा गरेको कार्यगत एकतालाई हेर्दा आगामी निर्वाचनसम्मै निरन्तरता दिने सम्भावना बढेको हो ।
करिव दुई तिहाईको जनमतलाई खरानी बनाउँदै संसद विघटनको अवस्थामा ल्याई पुर्याउने पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल भन्दा कमजोर शासक आधुनिक नेपाली राजनीतिले विरलै देख्ला । आफ्नै सरकार ढाल्न कोटेश्वर र खुमलटारमा योजना बैठक त करिव ३०० पटक बसिए भन्ने सुन्दा जनता नै राजनीति देखि विरक्तिएका छन् ।
निर्वाचन सम्म सहयोगीको रुपमा र महाधिवेशन पश्चात पार्टीमा जिम्मेवारी बढाउँदै प्रचण्ड- माधव अगाडि बढेका भए अबको २० वर्ष सत्ता राजनीति कम्युनिष्टमय हुने भयो भन्ने कुरा स्वयं कांग्रेसले पनि स्विकारिसकेको अवस्था थियो ।
धैर्यता गुमाउँदै सत्ताको चरम महत्वाकांक्षा बढ्दै गएपछि प्रचण्ड र माधवले के चाँहि गरेनन् ओली र ओली सरकार ढाल्न ? संसार साक्षी छ ओली पक्षधरले भन्दै आएको छ ।
राजनीतिका चतुर खेलाडी ओली सामु एक पछि अर्को विकल्पविहिन अवस्था आउने क्रममा नै संसद विघटनको वातावरण बनेको हो भन्नलाई त्यत्ति गार्हो देखिएन, विश्लेषकहरुको भनाई छ ।
लोकतन्त्रको हिमायती मान्ने कांग्रेसले संसदीय व्यवस्थामा अर्को पार्टीका सांसद चोरेर ३० रात नकट्ने प्रधानमन्त्री दावी गर्न जानु नै गलत थियो भन्ने कुरा बिर्सिएको आज जनताले महशुस गरेका छन् । कम्युनिष्ट बिग्रिए कांग्रेस त छ नी अर्को चुनावमा कांग्रेसले बहुमत ल्याएर ५ वर्ष स्थिर सरकार दिने छ, देश बिकास गर्ने छ भन्नेहरुलाई आफैंले खण्डित मात्रै गरेन, यो ऐतिहासक भुलको क्षतिपुर्ति आगामी चुनावमा चुकाउने सम्भावना बढेर गएको छ ।
कांग्रेसको कदमले आगामी निर्वाचनमा बहुमत नै ल्याए पनि उसका रुष्ट सांसदले अहिले माधव नेपालको समूहले गरे जस्तै अर्को पार्टीको सरकार बनाउन मद्धत गर्ने छन् । फलतः निर्वाचन भएको तेस्रो वर्षबाट यहि कथा दोहोरिने निश्चित छ ।
व्यवस्थालाई नै घृणा जगाउने कांग्रेसको यस्तो आत्मघाती कदमले तत्कालै निर्वाचन भईहाले प्रचण्ड माधवलाई ठुलै क्षति पुग्ने आँकलन विज्ञहरुले गरिरहेका छन् ।
संसद विघटनका क्रममा बनेको मोर्चाबन्दीबाट माओवादी केन्द्रका प्रवक्ता उत्साहित हुँदै भन्छन्, ‘अहिले हामी माथिदेखि तलसम्म नै कार्यगत एकताका पक्षमा छौं। प्रतिगमनविरुद्ध एकजुट भएका छौं, यसलाई निरन्तरता दिइनेछ’ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि उनीविरुद्ध विपक्षी दलहरूको मोर्चा बनेको थियो। अहिले त्यही मोर्चाले आगामी निर्वाचनसम्मै सहकार्य गरी अघि बढ्ने सहमति गर्ने अनुमान जानकारहरुले गरेका छन् ।
विसं.२००४ सालमा स्थापना भएको पुरानो पार्टी कांग्रेस रुख चिन्हका नाममा लोकप्रिय छ । घामको तापबाट जोगिन रुखको सितलता जरुरी छ भन्ने बुढापाकाहरु गाउँघरमा प्रशस्तै भेटिन्छन् । सहरमा बसेको छोरो कम्युनिष्ट पार्टीको वकालत गर्दै घर पुग्यो भने घरै प्रवेश गर्न नदिनेहरु पनि अझै जिवित छन् ।
केपी ओलीको नेतृत्वले जस्तै कांग्रेसले दुई दुईपटक बहुमतीय सरकार निर्माण गर्यो । दर्जन पटक भन्दा बढि यस पार्टीका नेता प्रधानमन्त्री भए । संख्यामा धेरै भए पनि विकासको मोडलको जग बसाउन गर्नु पर्ने उल्लेखनिय काम गर्न सकेन भन्ने आरोपबाट कांग्रेस गुज्रिरहेको छ ।
विपिकै सपना अन्तरगत तयार भएको पुर्वी नेपाललाई जोड्ने बैकल्पिक बाटो बनेपा-बर्दिवास, तिर्खाएका काठमाडौं बासीलाई वरदान सावित मेलम्चीका सपना देखाउन सके पनि अन्य नेताबाट आशातित काम नभएको जनताको आरोप छ ।
प्रधानमन्त्री ओली सपना बाँड्न माहिर छन्, कांग्रेस नेता गगन थापाले भन्दै आएका छन् । "ओलीले सपनामात्र बाँडिरहेका छैनन् काम पनि गर्दैछन् भन्ने महशुस गरेरै मोर्चा नामको बैशाखी टेक्दै ओलीसँग लड्ने अवस्थामा कांग्रेस पुगेको हो ?" जनताका प्रश्नछन् ।