काठमाडौं । समाज परिवर्तशील छ र परिवर्तन संगै समाजका मूल्य(मान्यतामा परिवर्तन आउनु अस्वाभाविक त बिल्कुलै पनि होइन। यसर्थ परिबर्तित सन्दर्भमा “ईमान्दारिता” शब्दलाई पुनस् परिभाषित गर्नुपर्ने वा यसका गूढ अर्थ उपर ब्यापक छलफल गर्नुपर्ने आबश्यकता र सान्दर्भिकता पनि बढेर गएको देखिन्छ । जब-जब हाम्रो समाजमा सार्वजनिक खपतका बिषय-बस्तुहरुमा बहस शुरु हुन्छ तब-तब “ईमान्दारीता” शब्दको प्रत्यक्ष-परोक्ष र होडबाजीपूर्ण प्रयोग शुरु हुने गर्दछ ।
“.....हामी वीर त छौं तर, हामी बुद्धु छौं, बुद्धु छौं र त हामी बीर छौं, हामी बुद्धु नभईकन वीर कहिल्यै हुन सकेनौं.... ” कवि भूपीको कविताको यो अंशले हाम्रो समाजको यथार्थ अहिले पनि उस्तै बोलिदिएको छ । आम-जनता गरिबी र अभावकै कारण वीर र ईमान्दार हुन अभिशप्त छन् भने समयको परिवर्तन संगै विशिष्टतापूर्ण गुण भएका ईमान्दारहरुको संख्यामा पनि ब्यापक बढोत्तरी भएको छ ।
अठाह्र घन्टाको लोड-शेडींग र पन्ध्र दिन बिराएर मात्र धारामा पानी आउने अवस्थामा बिजुलीको मीटरबाट तार निकालेर वा बिजुलीको तारमा सोझै हुकबाट बिजुली उपभोग गर्न, मेशिन लगाएर धाराको पानी तान्ने ईमान्दार प्रयासका लागि जनता बाध्य थिए । कुलमान र मेलम्चीको आगमन पश्चात् यस्तो ईमान्दारिता देखाउने बाध्यता अहिलेलाई भने हटेको छ । दुई छाक खान र सामान्य जीवनयापनमा समेत दुरुह अवस्था हुँदा ईमान्दारिता गुमाउन पुगेकाहरुको कथा-व्यथाको चर्चा यहाँ गरिएको होइन ।
सार्वजनिक स्थान र सडक किनारामा ओछ्याइएको इँटा वा दुबो चोरी गर्न, पार्कको फूल उखेल्न, अनुस्सद्क अनुशासनको पालना नगर्नुमा, बिजुलीको र टेलिफोनको तार चोरी गर्नुमा कुनै बाध्यता लुकेको छैन। सार्वजनिक अस्पतालको औषधि चोरी गरेर होस् वा नीजि उद्ध्योगलाई फाईदा पुर्याउन जनकपुर चुरोट कारखानाको उत्पादनमा ठेडी कोचेर होस् वा उदयपुर र हेटौंडा सिमेन्ट कारखानालाई बिभिन्न बहानामा पटक-पटक बन्दगराई आयातित कम गुणस्तरको सिमेन्ट बिक्ने अवस्था सिर्जना गरेर होस्, कमिशन बुझाउन नखोज्नेका फाइल लुकाएर, ठेक्का-पट्टामा ठेकेदार फँसाएर, सार्वजनिक खरिद नियमावलीका प्राबधानको धज्जी उडाएर, सार्वजनिक जग्गालाई निजी नाममा दर्ता गर्ने व्यवस्था मिलाएर, सेटिंगमा भन्सारको बर्गिकरण नै परिवर्तन गराएर आफ्नो धनसार भर्ने इमान्दारिता देखाउनेहरुको पनि हाम्रो समाजमा कमी नै छैन ।
यस्तो प्रकारको इमान्दारिताको प्रबृत्ति र अवस्था कोभिड -१९ अर्थात् कोरोना महामारी देखापर्नु अघिका दुई -चार हप्ता, महिना वा दुई चार बर्षको उपज भने पक्कै होइन । यसअघि अर्थात् गत बर्ष कोरोनाको पहिलो लहर देखिँदाको समयमा समाजमा कोरोना महामारी को संक्रमण प्रति देखिएको अटेरीपना के त्यही एकदुई हप्ता वा महिनाको सेरोफेरोको उपज थियो र ? पक्कै पनि होइन । अन्य विकासोन्मुख मुलुकहरुमा जस्तै हाम्रा देशका मानिसहरुमा पनि केहि समान प्रवृत्तिहरु छन् । बिगत लामो समय देखि त्यसमा पनि २०४६ सालको राजनैतिक परिवर्तन सँगै यस्ता प्रबृत्तिहरुलाई थप मल-जल मिलेको छ ।
गोलभेंडाको मूल्य बढ्दा होस् या प्याजको मूल्य बढ्दा अझै बढी किनेर संग्रह गर्ने: भारत संगको सम्बन्धमा कटुता आउँदा जोखिमको बिचार नै नगरी लागेपुगे जति भनसुन वा बल मिच्याई गरेर ग्याँस, पेट्रोल, डिजेलको संग्रह गर्ने हामी नै थियौं । ग्याँस, पेट्रोल, डिजेल जस्ता बस्तुहरुको संग्रहले त व्यक्ति र परिवार समेतको ज्यानै जोखिममा पारेकै पनि हो र थुप्रै दुर्घटनाहरु निम्त्याएकै पनि थियो । सम्झनुस त नाकाबन्दीका ती दिनहरु ।
लकडाउन अघि नै यथेष्ट खाध्यान्न संग्रह गर्नेस सामाजिक संजालमा केही खबर आउने बित्तिकै हल्लाकै भरमा सकेजतिका बस्तु समेत संग्रह गर्ने तपाईं हामी नै हौँ । एक समय थियो जतिबेला स्थानीय निकायको निर्बाचन हुन सकिरहेको थिएन र स्थानीय प्रशासन हाम्रा कर्मचारीहरुको अधीनमा थियो । सम्झनुस ! के त्यसबेलाको सार्वजनिक सेवा गुणस्तरीय थियो ? सामान्य रुपमा ईमान्दार कर्मचारीहरु ओझेलमा परी बढी ईमान्दार कर्मचारीहरुको चलखेलले सर्वत्र भ्रष्टाचार मौलाई जनता वाक्क-दिक्क भएको र त्यहि बेथिति हटाउन स्थानीय निर्वाचनमा जानु निकै हतार भएको होइन ? त्यस्तो थिएन भन्ने लाग्दा ती समयका सूचना-संचारका अभिलेखहरु पल्टाई हेरे हुन्छ ।
अधिकांश सरकारी कार्यालयहरुको प्राङ्गणमा हेर्दा हुन्छ, लाखौँ लाख पर्ने सवारी साधनहरुको थुप्रो । सामान्य मर्मत गर्दा चलाउन सकिने सवारी साधनहरुका निकाल्न मिल्ने र लैजान सकिने सम्मका पुर्जाहरु निकालेर बेकम्मा पारिएका छन् । अफिस क्वार्टरका अन्य सामानका त कुरै छोडौँ पर्दा र कार्पेट सम्म पनि संगै लैजाने, अफिसमा बस्दा पंखा र हिटर दुवै एकै पल्ट चलाई “लुटको धनमा फुपुको श्राद्ध” भन्ने उखान चरितार्थ गराउने, सेवाग्राहीको सरल कार्यलाई बिभिन्न नियम कानूनको प्राबधानको डर-त्रास देखाई अतिरक्त सेवा शुल्कस् चतुर्याईपुर्वक असुल गर्नेकार्यमा हाम्रा उच्च-ईमान्दारीताको गुण भएका कर्मचारीहरु कतै पछि परेका छन् र ? भन्सार, मालपोत, कर, यातायात जस्ता कार्यालयहरुले त यस्ता उच्च-ईमान्दारीताको गुण भएका कर्मचारीहरुको सम्बन्धमा विशिष्टता नै हासिल गरेको खबर आई नै रहन्छ । सोध्नुस त, पन्ध्र रुपैयाको सामानलाई एकसय पचासमा खरिद नगरी साबिक मुल्यमा नै खरिद गर्नुपर्छ भन्ने बेईमान राष्ट्रसेवकहरु तपाइँको कार्यालयमा कार्यरत त छैनन् (?) केहि प्रतिशत नजराना नलिईकनै कतै ठेकेदारहरुको बिल समयमै भुक्तानी भै गएको त छैन ?
उही घन्टीमा सरकारी र निजी दुवै शिक्षण संस्थामा एकै पटक अध्यापन कार्य गर्नसक्ने, खेताला शिक्षकको व्यवस्था गर्नसक्ने, बीसौं बर्षको कार्यकालमा एकदिन पनि कक्षा कोठामा नगई प्राध्यापक हुन र अनुसन्धान बिनाका अनुसन्धाता हुनसक्ने बिज्ञ: एकै समयमा कार्यकक्ष, परीक्षाहल, बैठक र भोज भतेरमा उपस्थित हुनसक्ने ईमान्दारिताको विशिष्टता हासिल गरेका अवतारी प्राध्यापक-कर्मचारीहरुको हाम्रो विश्वविध्यालयहरुमा पनि कुनै कमी छैन ।
कक्षामा कहिल्यै उपस्थितहुनु नपर्ने, पाठ्यपुस्तक र पाठ्यक्रमको सम्पर्कमै कहिल्यै नआई परीक्षामा बस्ने र अव्वल अंकमा उत्तीर्ण पनि हुनसक्ने, त्यसो पनि हुन नसके भर्ना भएकै आधारमा सबैले उत्तीर्ण हुनपाउनु पर्ने जिकिर गर्ने असल बिध्यार्थी हीतमुखी बिध्यार्थी नेता र तिनकै परोक्ष वकालत गर्ने शिक्षा बिज्ञ एवं परीक्षामा चीट चोर्न पाउनुलाई अधिकारको रुपमा बुझेर चीट चोराउन नपाउँदा ढुंगामुढा गर्ने, नक्कल गर्न नदिन कडाईगर्ने गुरुहरुको गोरूचुटाई गर्न आफै अघिसर्ने वा आफ्ना सन्ततीलाई प्रेरित गर्ने ईमान्दार आदरणीय अभिभावकज्यूहरु पनि हाम्रै समाजमा यथेष्ट हुनुहुन्छ ।
सनसनी सृजना गरी सूचनाको ब्यापार गर्ने, अपुष्ट र भड्काउ समाचार लेख्ने र प्रसारण गरेर नाम-दाम कमाउन लागिपरेका र बिज्ञापन नपाउँदा ब्यबसायीलाई थर्काउने संचारकर्मी हुन् वा बादी-प्रतिवादी दुबैका तर्फबाट मुद्दा लडेर धनकुम्ल्याउने कानून ब्यबसायी । अरुका रचना चोरेर आफ्नो नाममा छपाउने साहित्यकारस राष्ट्रियताको ढोंग गर्दै बिदेशी दुताबासबाट बक्सिस बुझ्ने राजनैतिक एजेन्ट होउन् वा समाज सुधारका नाउँमा विदेशीकै बिखन्डनबादी एजेन्डाको प्रचार–प्रसार गरी डलर कमाउन पल्केका एनजीओ-आइएनजीओ कर्मीस बिदेशी धर्मको प्रचार गर्न सहयोग गर्ने धर्म प्रचारक होउन् वा धर्मका नाउँमा जातीय विभेद र शोषणलाई प्रश्रय दिने हिन्दुवादी पण्डाहरु हाम्रै समाजमा निवास गर्नुहुने सबै एक-से-एक इमान्दारिताका नमूना पात्रहरु हुन् ।
मौकामा चौका हान्न खप्पिस र अवसरको सदुपयोग गर्दै मिसावट गरेर गुणस्तर, तौलमा र मुल्यमा ठगेर होस् वा खरिद मूल्यमा कैयौं गुणा बढी मूल्य लिई जनता ठगेर पनि ईमान्दार बनिरहन सक्ने ब्यापारी-ब्यबसायीको यहाँ कुनै कमि छैन । कृत्रिम अभाव सिर्जना गर्न त यिनले ईश्वर-प्रदत्त गुणनै लिएर आएका छन् ।
उद्ध्योगका नाउँमा सहुलित दरमा कच्चा पदार्थको ठुलो परिमाण आयात गर्ने तर आधा भन्दा बढी मात्रा सीमापारी नै बिक्रि गरेर स्वदेशी उद्ध्योग संचालन गर्ने ईमान्दार उद्ध्योगपति होउन् वा नेपालमा जोडजाड कम्पनी चलाएर पनि मलेशियाको पाम आयल पनि नेपालबाटै निर्यात गरेर स्वदेशमा औद्योगिकीकरणको जग मजबूत बनाइ रहेका महान् उद्यमीहरु वा भारतबाट आयातित बिषादी प्रयुक्त तरकारीको आयात केही रोकिदिँदा कोकोहोलो मच्चाउने तर नेपाली कृषकहरुका उत्पादनले बजार मूल्य नपाउँदा चुँ पनि नगर्ने उपभोक्ता अधिकारकर्मी: सबै हाम्रै समाजका ईमान्दार प्रतिनिधिहरु होइनन् र ?
आफु पदमा र शक्तिमा रहँदा तातो भुत्लो केहि नगर्ने तर अवकाश प्राप्ति पछि भने हरेक कुरामा उपदेशको वर्षा गर्ने देखि शरीरमा शक्ति र पाखुरीमा ल्याकत छँदा बिदेशीको जागिर खाएर अन्ततस् स्वदेशको मायाले ओतप्रोत भई फर्किएर नेपाल आई शानदार बंगला भित्र बिदेशी मदिरा र स्वदेशी सुकुटीको स्वाद चाख्दै ‘देश त खत्तमै पारे नी !’ भनेर चिन्ता व्यक्त गर्दै विदेशको गाथा गाउने अति सम्बेदनशील ईमान्दार महापात्रहरु पनि के कम छन् र ? नेपालको बस्तुस्थिति बुझ्दाबुझ्दै पनि अमेरिका, बेलायत, सिंगापुर र स्विट्जरलैंड संग दाँजेर तर्क गर्ने महामहिम नागरिक अगुवाहरुले आफ्नो वाक्पटुतामा अर्धशिक्षित जनसमुदायलाई दिग्भ्रमित पार्ने इमान्दारिता देखाएकै छन् ।
राजनीतिकर्मीहरुको इमान्दारिता त झनै बखान गरिसक्नुकै छैन । भू-कम्प पिडितको सहयोगार्थ आएका सामाग्री कुम्ल्याउने, शहीदका नाउँमा आएको रकम पचाउने, लडाकुका रकम लुकाउने, स्थानीय र प्रदेशको बजेट आयाराम-गयाराम पार्ने जस्ता कार्यमा महारत हासिल छ यिनीहरुलाई । केन्द्रीय र स्थानीय रुपमा सँधै जन-प्रतिनिधी चुनिएका प्रदेश र स्थानीय सरकारमा हैकम जमाउँदै आएका, पटक–पटक पदासीन भएर सत्ता र शक्तिमा हाली–मुहाली गर्दै हरेक निर्वाचनमा हामी देशको मुहारै फेर्छौं भन्दै निर्वाचित भएका यी अग्रज मनुवाहरूले ‘हाम्रो प्रदेशको अस्पतालहरुमा न भेन्टिलेटर न अक्सिजन छ, केहि व्यवस्था गर्न नसक्ने यो पंगु र अनुत्तरदायी सरकार हो’ भनेर आकाश तिर फर्केर गालीको थुक निकालेर बर्तमानलाई थुक्दा त्यही थुकको छिटा आफ्नै मुखमा आउंछ भन्ने चैं कसरी बिर्सिएका ? दुबैतिर धार भएका बगरेका चुपी जस्ता जीब्रो भएका यी नेताहरु अझै भन्दैछन् – “आज हामी सरकारमा हुने थियौं भने ....” को थेगो लगाउँदै “हलो अड्काएर गोरू चुट्न खप्पिस” यस्ताहरुको मुखमा तपाइँलाई दुई हत्केला भरीको लोप्वा ख्वाईदिउँ जस्तो लाग्दैन ? समग्रमा हाम्रो समाज यी र यस्ता थुप्रै ईमान्दार मनुवाहरुले भरिएका छन् भनेर नबुझेर भयो त ?
प्रतिपक्षीले आरोप लगाए जस्तै सरकारमा बसेकाहरु अति अयोग्य नै छन् रे ! तर के त ! प्रतिपक्षमा बसेकाहरुको कुनै दायित्व नै हुँदैन ? स्थानीय सरकार र प्रदेश सरकारमा त तिनीहरुको अझै हालीमुहाली पनि छँदैछ । फेरी यिनको पार्टीको राजनैतिक संजाल कतिबेला काम आउँछ ? सरकारलाई ईमान्दारिता र सक्षमताको उपदेश दिँदैगर्दा त्यहि उपदेश यिनलाई लागु हुन्न ? यिनले गरेको भीडभाडबाट चैं कोरोना सर्दैन ? जसरी हुन्छ बर्तमान सरकारलाई बिस्थापित गरेर आफ्नो सत्ता स्थापित गर्न यो महामारीमा पनि ज्यानै छाडेर लाग्नु चैं सत्त्तालिप्सा होईन ?
महामारी शमन गर्नसक्ने रामबाण औषधि त यिनीहरु संग पनि छैन । कि कुनै जादुको छडी छ जो सत्ताको साँचो र पदको उर्जाले मात्रै चल्छ ? बिगतमा पटक-पटक यिनले सत्तारोहण गर्दा देखिएकै पनि हो । सत्ता परिवर्तनको खेलमा रुमल्यायेर सक्रिय युवा जनशक्तिको उर्जाशील समय र गतिलाई दिग्भ्रमित पार्न सत्तापक्ष भन्दा यी कम जिम्मेवार हुन् र ? यति नै श्रम र समय अहिलेको अवस्थामा नागरिकहरुलाई चेतनशील बनाउन खर्च गरेको भए कति उपलब्धिपूर्ण हुन्थ्यो होला । त्यसैले आदरणीय ईमान्दार नेतागणहरु आम जनता उपर ओंठे सहानुभूतिको बर्षा मात्र नगरिदिनुस ।
चिनी उत्पादकहरुबाट ठगिएका गरीब कृषकबाट खरिद गरिएको उखुको मूल्य नतिरेर ठालु पल्टिएकाहरु बिरुद्ध तिनकै निवासमा धर्ना दिन जानुपर्नेमा मण्डलामा रुमल्याएर सरकारको बिरुद्धमा नाराबाजी गराई सोझा कृषकलाई अल्मल्याउने को हुन् ? चार हजारमा बेच्नुपर्ने उपकरणलाई चौधहजारमा बेच्नसक्ने र अक्सिजनको संकट परेको बेला सरकारी अस्पतालहरुलाई कम आपूर्ति गरेर नीजि हस्पिटलहरुलाई महंगोमा बेच्न पल्किएका कृत्रिम अभाव सिर्जना गर्नसक्ने खुबी भएका ईमान्दार उत्पादकहरुको के कमी छ र !
यथार्थमा यस्तै-यस्तै ईमान्दार र असल मानिसहरुकै कारण आम-जनता अति नै पीडामा छन् । बेईमान त ती निरीह र निमुखा जनता, गरिबी र अभावले पिल्सिएका, योग्यता भएर पनि अवसर नपाएका, जागीरमा भएर पनि जाबो शहरमा घरजग्गा जोड्न, सन्तानलाई राम्रो पढाउन र बुढी आमा र बुढा बाबुको उपचार गर्न र श्रीमतिलाई कहिल्यै राम्रो साडी र साधारण गहना पनि जोड्न नसक्ने पिलन्धरे जनता पो हुन् त ! खानलाई गाँस र बस्नलाई बासको जोहो गर्न नसकेका, शारीरिक अपांगता भएर पनि म अपांग हुँ र मलाई दया होइन काम देऊ भन्न नसक्ने गरी मधुरो स्वरमा “म फरक ढंगले सक्षम हुँ ।
खोई मलाई कामको व्यवस्था गरिदिएनन् त ! ” भनेर गुनासो मात्रै गर्नसक्ने अबस्थामा पुर्याइएकाहरु पो हुन् । कमारा मुक्ति पछि पनि कमारो नै रहेका, पुग्दो खाना नभएका र नाना च्यातिएका दाइजो दिन नसकेर अबिबाहित बसेका वा बिबाहित भएर पनि दाइजो नल्याएको निहुँमा आधा शरीर जलाईएका र उत्पीडनमा परेका, दलितका नाउँमा ठूलाबडाले मारेर नदीमा मिल्काईदिएका निर्दोष सन्तानका बाबु-आमा, दिदी-बहिनीहरु पो हुन् त अस्सली बेईमानहरु ।
यस्तो बहुआयामिक हाम्रो समाजमा दिल्लीमा देखिएको कोरोना महामारी र अक्सिजनको अभावको सूचनाबाट प्राप्त ज्ञानलाई सम्भावित जोखिमको पर्वाह नै नगरी यथा समयनै घर-घरमै अक्सिजनको जोहोगर्न धनाढ्य र नव-धनाढ्यहरुले अप्रतिम सचेतनता देखाए । किनकि उनीहरुलाई थाहा छ कि नेपालमा बिगतमा कहिल्यै त्यस्ता पर्याप्त संरचनाहरु निर्माण भएका पनि छैनन् र तत्काल त्यसो हुन नसक्ने लख काट्न गाह्रो पनि त भएन । अनि त ! आफु सुरक्षित पनि होइने घरमा बसेर सरकारलाई तथानाम गालीगलौज गर्न पनि पाइने सुवर्ण अवसर सजिलै कहाँ जुट्छ र ! तत्परता होस् त यस्तो पो ! अनि यस्तो तत्परता देखाउनसक्ने जागरुक धनाढ्य र नव धनाढ्यहरुको दुरदर्शिता स्तुतियोग्य मानु पर्दैन त ?
सरकार पक्षकालाई एकोहोरो सत्तालिप्साको आरोप लगाइरहेका यिनीहरु अधिकांशले अरुलाई उछिनेर आफै पहिल्यै खोप लगाई सकेका छन् । अहिले त्यसकै प्रभावले टाठो भएर आफ्नो सत्तालिप्साको ढाकछोप गर्न ठुलो-ठुलो स्वरमा जनताको समस्यामा आफैले चासो दिएकोमात्र नौटंकी गर्दैछन् । बस्तुत: यिनीहरु आफैले भने राम्रोसंग बुझेका छन् कोरोना बिरुद्धको खोप प्राप्त गर्नु अहिले त्यति सहज छैन । स्वयं उत्पादनकर्ता मुलुकहरु नै पनि पर्याप्त उत्पादन गर्न र आफ्नै आबश्यकता पनि पूरा गर्न सकिरहेका छैनन् । भारतको न्यायालयले त यसको निर्यातमा नै रोक लगाएको अवस्था छ ।
अनि जनताको चासो र चिन्ता आफूलाई मात्रै छ र अरु त सबै जल्लाद मात्रै हुन् जस्तो गरि सामाजिक संजालमा प्रस्तुत हुने यिनीहरुले फलानो-फलानो देशमा त आयो रे ! सबैले लाई नै सके रे ! भयो रे ! भनेर फलाकेर भ्रम सृजना गरी हिँड्नु भन्दा हिजो कुटनीतिक उँचाई बनाएका दिग्गज नेता र कुटनीतिज्ञहरुले पनि पहल गरिदिए हुन्न ? आखिर अहिले त आम जनतालाई सहयोगको खाँचो छ । ती दिग्गजहरुले यस्तो सत्प्रयासमा लाग्ने अवसर किन गुमाउनु ? अहिलेपनि कोरोनासंग निर्भय भई भोज-भतेर गर्ने, सामुहिकरुपमा मेलापात जाने, कोरोना भगाउन देवी-देवता भाकल गर्दै पशुबलि दिने र सामुहिकरुपमा पुजाआजा गर्ने, हाट-बजार जाने, मास्क नलगाउने र लगाईहाले पनि चीउँडोमा लगाउने जस्ता गतिविधिहरु यथावत् नै छन् ।
आफन्त र चिने-जानेकाबाट कोरोना सर्दैन भन्ने भ्रममा रहेकाहरुलाई सचेत बनाउन र जनता आफ्नो स्वास्थ्य प्रति आफै जागरुक भई संक्रमणको दर घटाउन प्रेरित गर्ने र आ-आफ्नो वडा र स्थानीय तहमा गई इमान्दारितापूर्बक स्वयं सेवकको भूमिका निर्वाह गर्ने र भोकले पिडित आजका भुँईमान्छेहरुलाई थोरै भएपनी सहयोग गरे हुँदैनथ्यो ? तर यी बिचरा ईमान्दार मनुवाहरुलाई आफ्नै पीडाको भारी ठुलो छ । “चमडी जाए पर दमडी नजाए” लाई मुलमन्त्र बनाएका इमान्दारिताका यी नमूनाहरुलाई कोटी-कोटी प्रणाम !!!
क्रमश....................
(-लेखक जोशी पद्मकन्या बहुमुखी क्याम्पस बागबजारमा सह-प्राध्यापक (अर्थशास्त्र) का रुपमा कार्यरत छन् ।)
लेखकका थप रचना पढ्नका लागि यहाँ क्लिक गर्नुहोस् - कोरोना संक्रमणको महामारीमा खलपात्रहरुको प्रपन्च
यो पनि पढ्नुहोस् - समाजवाद तर्फको यात्रामा पर-निर्भरताको तगारो