जेठ १९, काठमाडौं । सामाजिक सेवामा अव्वल अन्तर्राष्ट्रिय परोपकारी संस्था लायन्स क्लबको डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सन आगामी जेठ २१ र २२ (जुन ४-५) गते भर्चुअल माध्यमबाट आयोजना हुँदैछ ।
प्रत्येक जुलाई १ देखि जुन ३० सम्मको एक वर्षे कार्यकालमा तिव्र गतिमा उत्कृष्ट समाजसेवाका काम गरेर आफुलाई अव्वल स्थापित गर्ने कुरा चानचुने हुने कुरै भएन । योजना, कार्यान्वयन र नतिजालाई सन्तुलन पुर्याउन नसक्नेहरु प्रतिस्पर्धाको दौडमा आउनै मुस्किल संस्था हो लायन्स ।
यस्तै विजुली चम्किएको गति जस्तै रफ्तारमा काम गर्नुपर्ने संस्थाको अन्तरराष्ट्रिय डाइरेक्टरमा नेपालका लायन खगेन्द्र सिटौला सँगै लायन बालकृष्ण बुर्लाकोटी अन्तिम प्रतिस्पर्धामा छन् । यद्यपि दुवैले आफ्नो जित सुनिश्चित भएको दावी गरेका छन् ।
को हुन् लायन खगेन्द्र सिटौला र के छ योगदान ?
स्थायी घर भोजपुर भएका सिटौला सन् १९९७ मा लायन्स क्लब दिङला भोजपुरको संस्थापक सदस्य(चार्टर मेम्बर) को रुपमा रुपमा लायन्स क्लबमा प्रवेश गरेका थिए । उक्त क्लबमा उनले सन् २००२ -०३ को क्लब अध्यक्षका रुपमा काम गरे । त्यसै गरि २००२-०४ सम्म जोन चेयर पर्सन हुँदै उनी सन् २००४-०५का क्याबिनेट सेक्रेटरी बने भने २००६-०७का लागि डिस्ट्रिक ३२५ ए का डिस्ट्रिक गभर्नरको रुपमा चयन भए ।
सन् २०१२-२०१३ मा मल्टिपल डिस्ट्रिक ३२५ नेपालका काउन्सिल चेयरपर्सन भएर काम गरेका सिटौलाले सन् २००७-०८ देखि मल्टिपल डिस्ट्रिक ३२५ एल सी आइ एफको कोर्डिनेटर बने । त्यसैगरि उनले सन् २०१०-११ देखि २०१५-१६ सम्म मल्टिपल डिस्ट्रिक ३२५ लायन्स क्वेष्ट चेयरपर्सन हुदै सन् २०१३-१४ देखि २०१५-१६को जी एम टि मल्टिपल डिस्ट्रिक ३२५ कोर्डिनेटर रहेर काम गरिसकेका छन् ।
सन् २०१७ देखि सन् २०१९ सम्म जी एम टि एरिया लिडर मल्टिपल डिस्ट्रिक ३०५ पाकिस्तान तथा मल्टिपल डिस्ट्रिक ३२५ हुदै सन् २०१९ देखि हाल सम्म जी एटि एरिया लिडरको रुपमा सक्रिय हुदै आएका छन् । उनले ८ वटा अन्तर्राष्ट्रिय अध्यक्ष पदक, ४ लिडरसिप पदक, एल सी आइ एफ कन्ट्रीब्यूटर पदकका साथै धेरै अन्तर्राष्ट्रिय अध्यक्षका प्रमाणपत्र प्राप्त गरेका छन् ।
अन्तर्राष्ट्रिय लायन्सको क्षेत्रमा उनी गभर्नर हुँदा उनको गभर्नरकाल(२००६-०७)मा सर्वोच्च शिखर सगरमाथामा लायन्सको झण्डासमेत फहराउन सफल भएका थिए ।
सिटौला हाल सम्म ४ पटक अन्तर्राष्ट्रिय डाइरेक्टर इण्डोर्सी भएका छन् । उनी सन् २००८ मा डिस्ट्रिक ३२५ ए बाट सन् २०१० मा डिस्ट्रिक ३२५ ए बाट सन् २०१२ मा डिस्ट्रिक ३२५ ए १ बाट र हाल सन् २०२१ मा डिस्ट्रिक ३२५ ए१ बाट इण्डोर्सी भएका हुन ।

को हुन् लायन बालकृष्ण बुर्लाकोटी र के छ योगदान ?
स्थायी घर धादिङ्ग भएका बुर्लाकोटी सन् २००८-२००९ मा लायन्स क्लब काठमाडौं गोङ्गबुका चार्टर प्रेसिडेन्टको रुपमा लायन्स क्लबमा प्रवेश गरेका थिए । त्यसै गरि २०१२-१३ मा जोन चेयर पर्सन हुँदै उनी सन् २०१६-१७ का लागि डिस्ट्रिक ३२५ बी १ का डिस्ट्रिक गभर्नरको रुपमा चयन भए । सन् २०१७-२०१८ मा मल्टिपल डिस्ट्रिक ३२५ नेपालका काउन्सिल चेयरपर्सन भएर काम गरेका बुर्लाकोटी त्यस यता सन् २०१९ देखि एरिया लिडरको रुपमा काम गरिरहेका छन् ।
बुर्लाकोटीले लायन्स क्लब मल्टिपल डिस्ट्रिक ३२५ नेपालमा चेयरपर्सन रहँदा मल्टिपलमा लायन्स फन्डको सुरुवात गर्दै विभिन्न मेगा परियोजनाहरु नेपाल भित्र्याउन सफल भएका थिए भने रि-डिस्टिकिङ कमिटीको गठन गर्दै ४ वटै डिस्ट्रिक र रि-डिस्ट्रिक गरी १५ वटा डिस्ट्रिक बनाउने निर्णय गराउन सफल भए । यस सँगै अब नेपालमा डिस्ट्रिक्टको संख्या बढ्ने निश्चित भएको छ ।
त्यस्तै बुर्लाकोटीले अन्तर्राष्ट्रिय सम्मेलनको दर्ता मल्टिपलमा नै गर्ने अवधारणालाई पनि व्यवहारिक कार्यान्वयनमा ल्याए जसले गर्दा लायन्सहरुले दर्ता रकम रद्द गरेर सजिलै रकम फिर्ता पाउन सक्छन् ।
लायन्स अहिले विश्वका २ सय भन्दा बढी देशहरुमा फैलिएको छ । उनले लायन्सको सय वर्षको इतिहासमा पहिलोपटक आफ्नो कार्यकालमा १०० वटा क्लब खोल्न सफल भएका थिए । उनले त्यतिबेला २ हजार ८ सय ६३ सदस्यता बिस्तार गर्दै सय एमजेएफ योगदान गराउन पनि सफल भएका थिए । उक्त समयमा उनलाई विश्वकै १ नम्बर गभर्नरका रुपमा पुरस्कृत गरिएको थियो ।
बुर्लाकोटीकै नेतृत्वमा नेपाल लायन्स फाउण्डेसनमा १ करोड ३१ लाख ५० हजार रुपैयाँ रकम थप भएको थियो । सामाजिक अभियानमा निरन्तर सक्रिय रहँदै आएका बुर्लाकोटीले लायन्स अन्तर्राष्ट्रियको सिकागो कन्भेन्सन, लस भेगस कन्भेन्सन र इसामे एसिया फोरम कोलकातामा पनि आफ्नो महत्वपूर्ण प्रस्तुति राखिसकेका छन् । हालै मात्र पोखरामा १०० बेडको कोरोना अस्पताल समेत लायन बुर्लाकोटीकै नेतृत्वमा संचालनमा आएको छ ।
कस्तो छ अंकगणित ?
लायन्सको नेपालमा डिस्ट्रिक्ट ३२५ ए१, ए२, बी१ र बि२ गरी चार वटा डिस्ट्रिक्ट छन् । चारवटै डिस्ट्रिक्टमा गरि २९६८ मतदाता रहेका छन् । जस अन्तरगत डिस्ट्रिक्ट ३२५ ए १ मा ६०१, ए २ मा ४४९, बी १ मा ११६८ र बी २ मा ७५० मतभार संख्या रहेको छ । लायन बालकृष्ण बुर्लाकोटी डिस्ट्रिक्ट ३२५ बी १ बाट प्रतिनिधित्व गरिरहेका छन् भने लायन खगेन्द्र सिटौला डिस्ट्रिक्ट ३२५ ए १ बाट प्रतिनिधित्व गर्दैछन् ।
लायन्सको २५ वर्षे यात्रामा अनवरत रहेका सिटौला र १३ वर्षे यात्राका क्रममै नेपालको लायन्सलाई अन्तरराष्ट्रिय उचाईमा पुर्याउन सफल बुर्लाकोटीको भिडन्त हेर्दा मतभार संख्या र अन्तरराष्ट्रिय उचाई अध्ययन गर्दा युवा बुर्लाकोटी सिटौलाका लागि भारि हुने निश्चित देखिएको छ ।
यसअघि नेपालबाट अन्तरराष्ट्रिय डाइरेक्टरमा सञ्जय खेतानले भूमिका निर्वाह गरिसकेका छन् । खेतान अहिले लायन्सको अन्तर्राष्ट्रिय अध्यक्षको दौडमा छन् । नेपालमा लायनिजमको शुरुवात गर्ने श्रेय भने स्व.पुर्व प्रधानमन्त्री मातृका प्रसाद कोइरालालाई जान्छ । उनले सन् १९७१ मा विधिवत रुपमा नेपालमा लायनिजमको शुरुवात गरेका थिए ।
यो पनि पढ्नुहोस् - लायन्स मल्टिपल काउन्सिल चेयरपर्सनमा मनबहादुर रोका