काठमाडौं । नेपाली राजनीतिमा देखिएको वर्तमान दृष्य परिदृष्यहरु नयाँ र नौला होइनन् । नेपाली राजनेताहरु थुप्रै प्रतिकुलतामा गुज्रेर आउँदा पनि उनिहरुको चिन्तन शैली र राजनीतिक संस्कार, सोच र व्यबहारमा रत्ति पनि परिपक्वता नआएको महसुस गर्नुपर्दा निक्कै दुख लागेको छ । यस्तो परिदृष्य देखिनु घृणा र निन्दाको विषय भएको छ । राजनीतिको यो सुकुमवासी चरित्र कहिले र कसरी अन्त्य हुन्छ होला ? हरेक नेपालीका मनभित्रको प्रश्न हो यो ।
यो व्यवस्था भएन भन्यो र अर्को व्यवस्था ल्यायो, त्यो व्यवस्था पनि भएन भनेर फेरि अर्को व्यवस्था ल्यायो । त्यो दल भएन भनेर अर्को दललाई रोजेर ल्यायो । उ नेता भएन भनेर त्यो नेता ल्यायो, त्यो नेता भएन भनेर फेरि अमुकको ठाँउमा पुःन अमुक नेतालाई ल्यायो । नेपाली उखान निरन्तर दोहोरी रहन्छ “बाह्र वर्ष कुकुरको पुच्छर ढुंग्रामा हाल्यो ढुंग्रोबाट झिकेपछि जस्ताको तस्तै” ।
नेपाली राजनीतिमा देखिएको यो परिदृष्यले धेरैलाई नराम्ररी चोट पुगेको महसुस गर्न सकिन्छ । यस समयमा कुन व्यक्ति कुन पदमा कत्ति समय बस्यो, कति केजी शैक्षिक योग्यताका प्रमाण पत्र राखेका छन् । उमेरले कति वसन्त पार गरेर कत्तिको परिपक्व भयो । एक पछि अर्को अवसरबाट उसले के सिकेछ ? पढेर परेर भोगेर देखेर सुनेर हेरेर जीवनमा के कति परिवर्तन गराएछन्, भएछन् भन्ने कुरा दृष्यमा देखिन नआएको भए ज्यादै राम्रो हुने थियो जनताहरुलाई ।
धेरै नेतालाई खास्टो ओडाएर प्रस्तुत गरे गराएका घटना पनि यस समयमा झल्झल्ती संझनामा नाचिरहेका छन् । यस अर्थमा नेता र नेतृत्वको भर्याङ्ग चढेपछि निहित स्वार्थ पूर्तिका लागि गरिएका गलतकर्मका कारणले जनतालाई पटक पटक तिनका नाम र अनुहार प्रति घृणा जागेर आउँछ । कुनै चिन्तन र भिजन नभएका लागि भोट हाल्न लगाएर धेरै बुख्याँचाहरुको संरक्षण भएको रहेछ ।
कामका नभएर नामका यस्ता महामहिमहरुको चंगुलबाट देश र पार्टीलाई मुक्त गर्ने अभियानमा लिँदानै प्रधानमन्त्रीको सकारात्मक उद्देश्यले धेरैलाई झस्काएको कारणले कुसमयमा उहाँलाई भ्रष्टाचारको अभियोग लगाएर कर्म क्षेत्रबाट च्युत गर्ने योजना सफल बन्न, बनाउन नदिनुनै द्वन्दको मुलकारण हो भनेर बुझ्न सकिन्छ । केही दिन अगाडि पनि एक लेख मार्फत भनिएको थियो नवौं महाधिवेशनबाट पार्टी अध्यक्षमा निर्वाचित भए पछि दशौं महाधिवेशन नहुँदा सम्म र पुःन आमनिर्वाचन भएर अर्को परिणाम नआउन्जेल सम्मको पाँच वर्षको समय ओली समय हो भन्ने मेरो लाटो तर्क छ ।
हाम्रो संविधानको भावना र चाहना पनि त्यही भएर कानुनमा व्यवस्था गरेको होला । उहाँको म फोटो झुण्याउन मात्रै प्रधानमन्त्री बन्न चाहन्न भन्ने जिकिर देखिन्छ । उहाँको नाकाबन्दी देखिको अडान र समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनाले यसैलाई लक्षित गरेको छ । यो नै उहाँको मुख्य असहमति हुन सक्छ । प्रधानमन्त्रीका के कस्ता कमीकमजोरी आन्तरिक रुपमा रहेका छन् ति सबै भन्ने अधिकार जनतालाई छ र त्यो दिन पाँच वर्ष पुगे पछि आउनु पर्छ भन्ने जनचाहना देखिन्छ ।
मेरो तेश्रो नेत्रले नदेखेको पनि हुन सक्छ, तर बाहिरी भित्री दुवै नेत्रको नजरमा उहाँले यो भन्दा अगाडि खेलेका भुमिकाहरु अहिले सम्मका अन्य प्रधानमन्त्रीहरुले भन्दा धेरै राम्रो काम गरेकोमा दुई मत रहेको छैन । राम्रो गर्नु नै पनि यो देशमा अपराध मानिन्छ भन्ने विषय अनुभुति नभएको पनि कहाँ हो र ? ति बुझेर नै त्यसलाई बदल्न र परिवर्तन गर्नको लागि नेपाली जनताका हजारौं छोराछोरीले देश र जनताको नाममा प्रगतिशील परिवर्तनको नाममा निरङ्कुसताको विरुद्धको नाममा धेरैले गरेका संघर्षका योगदानको अनुभुति गर्न सकेका रहेछन् भन्ने अनुबोध हुन पुगेको छ ।
राजनेता मानेका मानिसहरु पशुविचार भन्दा माथि उठ्न नसकेका दृष्यले भने लेखकलाई पनि दुःखित बनाएको छ । देश र जनताको नाममा झुटको खेतिपाती चलेको रहेछ भन्ने भ्रम सिर्जना गरिदिएको छ । नीति मुखी नभएर नेता मुखी हुनेहरुको लज्जाबोध दृष्यले जनतालाई नै कुरिकुरी भईरहेको छ । जनताको नाममा राजनीति गरेको नभएर काम गर्नका दुखले भात पचाएका रहेछन् भनेर नेता र नेतृत्व पंक्ति प्रति जताततै जनआरोपहरु सुन्नु परेको शब्दबाणहरु यत्रतत्र नीरिह नेता कार्यकताले सुनेर नाजबाफ बन्नु परेको छ ।
नेता र नेतृत्वको द्वन्दको खेतिले धानखाने मुसो चोट पाउने भ्यागुतो भएको छ । नेतृत्व तहमा बसेका कैयौको तौर तरिकाले नेता हुन योग्यता नपुगेका बकपत्रका साक्षी मात्र रहेछन् । साँनो छँदा केटाकेटीमा गाईवस्तु चराउँदाको समयको यादहरु आईरहेका छन् । केटाकेटीहरुले झिना कुरामा झगडा मात्रै गर्दैनथे कुटाकुट समेत गरेर घर फर्कन्थे । कहिले काँही मारामारको अवस्था पनि आउथ्यो । आफ्नो यस्तो असामाजिक व्यवहार गुप्त राखेर घर फकन्थे । आफ्नो अभिभावकले थाहा नपाउन भनेर दुवैले दबाएर राख्तथे ।
आ–आफ्ना घरमा खाना खान्थे काम जे छ त्यो गर्दथे । रात भर सुतेर ब्युँझदा हिजोको झै झगडाको सबैकुरा बिर्सन्थे । भोली पल्ट फेरि बाटो उही कामदाम उही, खर्क उही, भोक तिर्खा उही, यि सवै दैनिकीमा फेरि पुनर ताजगी भएर नयाँ मेलमिलाप भएर खेल तमासा शुरु हुन्थ्यो । हिजोको द्वन्द पछिको रिक्तता मेटाउन भएको कठिनाईलाई सम्वादमा रुपान्तरित गरेर फेरि नयाँ दैनिकीमा फर्कन्थे । यो हाम्रोे जीवनका घटना हुन् ।
यहि कुरालाई नै मनन् गरेर होला जननेता मदनकुमार भण्डारीले राजनीतिक दल र तिनका नेता कार्यकर्ता एकअर्काका साथी साथी भएर रहने हुनाले नै राजनीतिमा स्थायी शत्रु हुदैन भनेर भनेको । हाम्रा नेता र नेतृत्वको सर्वमहाज्ञान देखेर दुःख लाग्दछ । ति गोठालाहरु जतिको पनि रहेनछन् कि क्या हो ? देश विदेश परिचित हाम्रा द्वन्दवादी नेता र नेतृत्वहरुको स्मरण क्षमता ।कुरा सुन्दा लाज लागेर आउँछ, देश बोक्ने नेताहरुको कमण्डलु बोक्ने विचारले ।
नेपाली जनताको विनम्रता पूर्वक आग्रह छ हरेक काम बुझेर गरौं । कामहरु करले होईन रहरले गरौं । राजनीति नीजि स्वार्थसिद्धका लागि होइन, देश र जनताको स्वार्थ र हितका लागि गरौं । जनताको तर्फबाट दशअम्ली जोडेर निवेदन छ । एक बहालवाला प्रधानमन्त्री र सात पूर्व प्रधानमन्त्रीहरु एक राउण्ड टेवलमा बस्नु होस् ।
समस्या मात्रै बोकेको र समाधान नभएको कुनै त्यस्तो विषय छैन जो सम्वाद र अन्तरकृयाबाट निकास निस्कन नसक्ने रहोस् । त्यतिले नपुगे सवैदलका प्रमुख नेताहरु बस्नु होस् यो दशोटा नाटक देखाउनुको कुनै औचित्य छैन । नीजि स्वार्थका लागि द्वन्द सृर्जना गर्नु र त्यो स्वार्थका लागि अनावश्यक र अनाधिकृत सपोर्टको जमात तयार गर्नु त्यस्तालाई सपोर्ट गर्नु कुनै पनि राजनीतिक संस्कार र चरित्र होइन । व्यक्तिवादी चरित्रको देशलाई खाँचो छैन । जो कसैको पनि व्यक्तिवादी चरित्रले देश र जनतालाई लाभ पुग्दैन ।
व्यक्तिवादी स्वार्थ सिद्धिको समयलाई सकिन्छ र ल्यागतले भ्याउछ भने सामुहिक स्वार्थ सिद्धिमा रुपान्तरण गरेर अघि बढौं । अझै पनि, अहिले पनि र भोलि पनि देशलाई नेता र नेतृत्वको खाँचो रहेको छ र रहिरहने छ । होइन भने जनताले दिएको आजसम्मको सम्मान पनि कतै घृणामा रुपान्तरण हुने दिन नआओस् । सकिन्छ भने जनचाहना अनुसार सरकार र पार्टी संचालन गरौं सकिन्न भने कुर्सी छोडेर घरमा बसौं । तपाईहरु भन्दा धेरै कुशलतापूवक देश चलाउने नेपाली छोराछारीको यहाँ कमिरहेको छैन ।
नेकपाका पूर्व दुई नेता मध्ये एक नेताले अर्कोलाई भनेको सुनिएको थियो भुँईको लोभले टिप्न खोज्दा हातको गुम्ने खतरा रहन्छ । धेरै चुदुर बुदुर नगरेको राम्रो भन्ने कुरा दन्त्य कथा जस्तो लागे पनि त्यो यथार्थतामा सत्यमा परिणत भै सकेको छ । अहिले पनि नेकपा एमालेमा सम्मानित आदर्णीय नेताज्यूहर अहिले सम्म जे कमाउनु भयो र सिर्शाषनमा राज भएको त्यसैमा चित्त बुझाउनु सबै भन्दा राम्रो हुनेछ । खास गरि माधवकुमार नेपाल र झलनाथ खनालले पार्टीका अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्धको द्धन्द गैह्र राजनीतिक र गैह्र कानुनी रहेको छ ।
नेकपाको नेता र कार्यकर्ता भनेको अवसरवादी हुनु हुदैन । ठिकलाई ठिक र वेठिकलाई वेठिक भन्न सक्ने क्षमताको हुनुपर्दछ । हाम्रा लागि सवै बराबर भए पनि रानीतिक दक्षता र प्रशासनिक निर्णय क्षमतामा अहिले सम्मका समकालिनमा केपी ओलीको अव्वल दक्षता र क्षमता रहँदा रहदै पनि पार्टी भित्रको आन्तरिक द्वन्द ब्यबस्थापनमा देखिएको कमिकमजोरीलाई उहाँले पनि आत्मसात गरेर जानु पर्दछ । अन्यले पनि घर बिगार्ने जस्तो घटिया काममा पराईको साथ सहयोगमा सरण पर्नु राजनीतिक भुल मात्रै नभएर गम्भिर अपराध पनि हो ।
राजनीति स्वार्थ सिद्धिको साधन बन्नु हुदैन । यदि कसैले राजनीति स्वार्थ सिद्धिको साधनमात्रै बनाउन चाहन्छ भने जनता र कार्यकर्ताले त्यस्ताको उपचार समयानुसार खोज्दै जानेनै छन् । नेता र नेतृत्व सँग सानो अनुरोध तपाईहरु मूलको पानी बन्ने कि ढलको पानी बन्ने ? पानी त पानी नै हो, सबै तपाईहरुको हातमा रहेको छ । तपाईहरुलाई भ्रम नरहोस हामी बेगरपार्टी र देश चल्दैन । त्यो भ्रमबाट नेताहरु मुक्त रहनु होस् । यो गणतन्त्र नेपाल निर्माणको मैदानमा रहेर यसलाई सिन्दुर जात्रा गरेर ल्याउने निकै ठूलो ईमान्दार राजनीतिक पंक्ति मैदानमा रहेको छ ।
आन्दोलन नै गर्ने भए भ्रष्टाचार बिरुद्धको आन्दोलन शुरु गर्नुहोस् । कमिशन र बेथिति बिरुद्धको आन्दोलन सुरु गर्नुहोस् । प्रधानमन्त्रीले अगाडि सारेको समृद्ध नेपाल निर्माणको अभियानमा अपुग विषयका लागि खाका अगाडि सारेर आन्दोलन गर्नुहोस् । अनिमात्र कमाएको राजनीतिक शाख जोगिने छ । नत्र आजसम्म कमाएको सवै राजनीतिक सामाजिक ईज्जत टुकुचामा रुपान्तरित नहोला भन्न सकिन्न । मूलको जल कि ढलको जल ? आफ्नैं हातमा रहेको स्मरण गराउन चाहन्छु ।
हेर्दै हुनुहुन्छ नि प्रदिप ज्ञवालीले मन्त्री पद छोडेर पनि सकारात्मक चिन्तनको हैसियतले सामाजिक संजालमा छाउनु भयो, कोही उपप्रधानमन्त्री नियुक्ति पछि पनि सामाजिक संजालको लखेटाईमा परेका छन् । पदहरु नै सम्पूर्ण कुरा होईनन् । एक माघले जाडो पनि त जादैन । राजकीय पद परित्याग गरेर पनि गणेशमान सिंह युगयुग सम्म सर्वाेच्च कमाण्डर भएर बाँचिरहेछन् र भविष्यमा पनि बाँचिरहने छन् ।
संस्थापक महासचिव पुस्पलाल श्रेष्ठले कुनै पनि राजनीतिक पदको लाभ नलिएर पनि नेपाली कम्युनिस्ट आन्दोलनको सिर्शाषनमा सँधैभरी रहिरहेका छन्, रहिरहने छन् । केही स्वार्थीहरुलाई प्रधानमन्त्रीले मन्त्री नबनाई दिएको आक्रोसले पार्टी र देशमा आगो सल्कन सुरु भएको छ । यो डढेलोले वनमात्रै जलाउदैन आँगो झोस्नेहरुलाई पनि खरानी बनाउन बेर लाउँदैन भन्ने हेक्का राख्नु जरुरी छ । सम्माननीय प्रभानमन्त्रीज्यूका पनि कैयौं अपरिपक्व कमिकमजोरी हुन सक्लान् त्यसको लागि पनि समय आउनेछ । सबैले हैसियत अनुसारको व्यवहार गर्दै गएमा समस्याको समाधान आफै हुँदै जानेछ ।
लेखक वामपन्थी विश्लेषक गौतमका थप रचना पढ्न यहाँ क्लिक गर्नुहोस् ।