काठमाडौं । डा.दिलनाथ दंगालसँग दिल बसेको १०० दिन पुगेको सुखद उपलक्ष्यमा हिजो बेलुका अर्थात २०७८ आषाढ ५ गते साझ ६ बजेदिखि ८:१५ बजेसम्म बसेको जुम बैठकमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा २४/२५ जना व्यक्ति व्यक्तित्वले दिलनाथलाई बधाई दिने र थप सफलताका लागि शुभकामना दिने कार्य भव्यताका साथ सम्पन्न भयो ।
उनले १०० अङ्कसम्म शिक्षा, अनुसन्धान, अर्थशास्त्र लगायत अन्य समसामयिक क्षेत्रमा छेडेको प्राज्ञिक वहसको खुलेरै प्रशंसा भयो । यस्ता धेरै नै उपलब्धिमुलक प्राज्ञिक वहसलाई उनले निरन्तरता दिउन भन्ने अपेक्षा प्रकट भयो । त्यस्तो अपेक्षा पूरा गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त भयो । निकै फराकिलो दिल भएका दिलनाथका दिलमा रमाउँदै आएको मलाई हिजो उनको दिल अलिक साँघुरिदै गए जस्तो लाग्यो ।
प्राध्यापक लगायत अन्य विविध क्षेत्रका विज्ञसङ्ग प्रेम गर्दै आएका दिलनाथले आफ्नो दिलमा लाखौं विद्यार्थी र पत्रकारलाई पनि अटाउने दृढता व्यक्त गरिसकेका रहेछन् जस्तो लाग्यो । आफ्नो प्रतिबद्धतामा निकै दृढ दिलनाथले विद्यार्थी र पत्रकारलाई समेत आफ्नो दिलमा अटाउन खोजेपछि उनको साँघुरिएको दिलमा अटाउन सक्दिन कि भन्ने भय उत्पन्न भएकाले उनको साँघुरिएको दिलमा समेत अटाउन सकियोस् भन्ने आशयले आज पुनः दिलनाथलाई यो प्रेमपत्र लेख्न मन लाग्यो ।
प्राध्यापक र अन्य विविध क्षेत्रका विज्ञलाई आफ्नो दिलमा विशेष स्थान दिदै आएका दिलनाथ एकाएक विद्यार्थी र पत्रकारसङ्ग लहसिन थालेछ्न ! प्राध्यापकवर्गले विद्यार्थीवर्गलाई भौतिक कक्षामा दिँदै आएको परम्परागत ज्ञान र जानकारी ईन्टरनेटबाटै प्राप्त गर्न उनी विद्यार्थीवर्गलाई निकै उकास्दै रहेछन् ! अब प्राध्यापकवर्गले त विद्यार्थीवर्गलाई त्यस्ता ज्ञान र जानकारीको भोक मात्र जगाइदिने हो । भोक मार्ने त्यस्ता परिकार पस्कन प्राध्यापकले विद्यार्थीलाई प्रोत्साहन गर्ने हो । मार्गनिर्देशन गर्ने हो । आवश्यक पृष्ठपोषण प्रदान गर्ने हो ।
अनि विद्यार्थीवर्गले निकै मेहनतका साथ खोज अनुसन्धान गरी पस्केका विविध स्वादका स्वादिला परिकारको स्वाद लिन प्राध्यापकवर्ग मुख मिठ्याउदै बस्ने हो । त्यस्ता स्वादिला परिकार सबैसँग बाडिचुडी खाने प्राज्ञिक वातावरण निर्माण गर्ने हो । अब अध्ययन अनुसन्धान कार्यमा प्राध्यापकवर्गको नेतृत्वमा युवा जोश जाँगरले लैस युवा विद्यार्थी लामबद्ध हुनैपर्ने परिस्थिति पैदा भएको भन्दै उनी विद्यार्थीसङ्ग पुरै लहसिन थालेछ्न् ।
अब विद्यार्थीवर्ग ३ घण्टे परीक्षामा मात्र सीमित नभै शैक्षिक शत्रभरी सक्रिय भएर सिकाइ र मुल्यांकनलाई सङ्गसङ्गै अघि बढाउन उनी विद्यार्थीवर्गलाई उकास्दै रहेछन् । पुरै शैक्षिक शत्रभरी मुल्यांकन हुने नवीन मुल्यांकन प्रणालीमा रमाउन विद्यार्थीवर्ग तयार हुनैपर्ने उनको तर्क र दावी रहेछ जस्तो लाग्यो ।
त्यति मात्र होइन, १०० दिनको उपलक्ष्यमा आयोजना गरिएको उक्त कार्यक्रममा उनले पत्रकारलाई पनि आफ्नो दिलमा सजाउन खोजे जस्तो लाग्यो । सत्यतथ्य समाचार सम्प्रेषण गर्न आतुर पत्रकार र गहन अध्ययन अनुसन्धानमार्फत सत्यको गहिराई चुम्न शैक्षिक शत्र भरी नै सक्रिय हुन तयार विद्यार्थीवर्गको संयुक्त मोर्चा निर्माण गर्न उनी हदैसम्म प्रयासरत छन् जस्तो लाग्यो । पत्रकार र विद्यार्थीवर्गको त्यो संयुक्त मोर्चा एकीकृत रूपमा अघि बढ्न सकेमा अरु थप सफलता हासिल गर्न सकिने उनको ठहर रहेछ जस्तो लाग्यो ।
यसरी १०० दिनसम्म दिलनाथको फराकिलो दिलमा बस्न सफल भएपनि अब त्यो दिलमा विद्यार्थी र पत्रकार समेत बस्न थालेपछि दिलनाथको दिल निकै साघुरिदै गएको कुरा मलाई गहिरैसङ्ग अनुभुति भयो । यसरी विद्यार्थी र पत्रकारलाई आफ्ना दिलमा स्थान दिदै गएका दिलनाथका दिलमा अटाउन अब विद्यार्थीले पस्केका परिकारमा रमाउनैपर्ने परिस्थिति पैदा भएजस्तो लाग्यो । अझै विद्यार्थी र पत्रकारको संयुक्त मोर्चासङ्ग मिलेर ती स्वादिष्ट परिकारको स्वाद लिन पाइयो भने मात्र अब दिलनाथका दिलमा अट्न सकिने निश्कर्ष निकाल्न म हिजो साँझ बाध्य नै भए । अनि उनलाई यो अर्को प्रेम पत्र लेख्न आतुर भएँ ।
त्यसरी प्राध्यापक, विद्यार्थी र पत्रकार समेत मिलेर ती स्वादिष्ट परिकार उत्पादन गर्न समाजका अन्तरकुन्तरसम्म पुग्न सकियो भने दुनियाँका दिलमा बस्न सकिने दिलनाथको अर्को निश्कर्ष रहेछ जस्तो लाग्यो । त्यति धेरै गहन अध्ययन अनुसन्धान र दुस्खकष्ट गरेर उत्पादन गरेको ज्ञान गाउँ गाउँ र वस्तीवस्तीसम्म सम्प्रेषण गर्न सकिएन भने त्यो ज्ञानको यसै मृत्युु हुन सक्ने खतरा देखेर पनि ती गाउँगाउँ र वस्तीवस्तीबाट विश्वविद्यालयमा प्रवेश गरेका विद्यार्थीका मनमुटुमा बस्न उनी यसरी आतुर भएका रहेछन् जस्तो लाग्यो ।
उनी त समग्र समाजलाई नै खुला विश्वविद्यालयमा बदल्न पो आतुर भएका हुन् कि जस्तो पनि लाग्यो । गाउँगाउँ र टोलटोलमा रहेको त्यो अर्ग्यानिक ज्ञानको प्रशोधन गरेर संसारभर छर्न पनि उनी युवा विद्यार्थीवर्गसँग त्यसरी लहसिएका हुन् कि जस्तो पनि लाग्यो । त्यस्तो अर्ग्यानिक ज्ञानको व्यापक प्रचारप्रसार गर्नकै लागि भनेर नै होला उनी पत्रकारवर्गलाई पनि आफ्नो दिलमा त्यसरी सजाउन थालेका । यसरी विद्यार्थी र पत्रकारसङ्ग बढी नै लहसिन थालेका दिलनाथका दिलमा स्थान सुरक्षीत गर्न अब थप मेहनत गर्नैपर्ने रहेछ जस्तो लाग्दैछ ।
जे होस् दिलनाथसङ्ग दिल बसेको १०० दिनमा उनको दिल निकै साघुरिदै गएको भएतापनि उनको साघुरिएको दिलको कुनै न कुनै कुनामा अटाउन सकियोस् । प्राध्यापक र विविध क्षेत्रका विज्ञले बढी स्थान ओगटेको दिलनाथको दिलमा युवा विद्यार्थीवर्ग र पत्रकारजगतले बलियो डेरा जमाउन खोजे पनि म एकजना प्राध्यापक समेत उनको दिलमा अटाइरहन सकौ भनेर पनि आज म उनलाई यो अर्को प्रेमपत्र लेख्दैछु ।
दिलनाथका आगामी यस्ता गुणस्तरीय प्राज्ञिक कार्यक्रम अझै बढी सफल बन्दै जाउन । त्यस्ता कार्यक्रम थप सफल बन्दै जाने कुरा हिजो साँझ सम्पन्न उक्त कार्यक्रमको समापन पश्चात् उनले सामाजिक संजालमार्फत व्यक्त प्रतिबद्धताबाट समेत थप पुष्टि भएको छ । उनका कार्यक्रमलाई असफल पार्न आतुर कतिपय नकारात्मक पात्र र प्रवृत्तिलाई समेत ठेगान लगाउदै १०० अङ्कसम्मको सफल यात्रा गरेका उनलाई त्यस्ता चुनौती थप अवसर बन्दारहेछ्न भन्ने कुरा उनको त्यो मननीय र मर्मस्पर्शी विचार पढ्दा प्रष्ट हुन्छ ।
नकारात्मक सोच र चिन्तनले ग्रस्त पात्रले उनलाई हानेका ढुङ्गा भेला गरेर एक सुन्दर घर बनाउने क्षमता उनीसँग रहेछ भन्ने कुरा उनको त्यो निकै मार्मिक र मननयोग्य १०० दिने अनुभव र अनुभुति पढ्दा सबैलाई थाहा हुन्छ । त्यो अद्भुत क्षमताका धनी दिलनाथलाई यस्ता उपयोगी कार्यक्रम आयोजना गर्ने थप उर्जा र शक्तीको कहिल्यै अभाव नहोस । चाडै २०० औं भागको कार्यक्रममा थप उत्साह र उमंगका साथ सहभागी बन्न पाइयोस् । हार्दिक शुभकामना ।