खोपमा विभेद (अकथा )

खोपमा विभेद (अकथा )

२०७८, आषाढ १३ आइतवार

  • 1.9K
    SHARES

  • खोपमा विभेद (अकथा )

    काठमाडौं । आफ्नो काममा व्यस्त थिएँ । एउटा चिठी आयो । जब चिठी पढ्दै गएँ । मेरो उकुसमुकुस झन् बढ्दै गयो । त्यो चिठी  यहाँहरुको लागि पनि उपयोगी हुने देखेर मैले जस्ताको तस्तै पोस्ट गरेको छु । सबैले पढ्नुहोला अनि गरिब नेपालीको आग्रह अनुसार बिभिन्न भाषामा अनुवाद गरेर उहाँको सपना पुरा गर्नुहोला । 

    आदरणीय धनी तथा बिकसित देशहरू, 
    सर्वप्रथम नेपालको दुर्गम गाउँको निरिह वृद्धको बधाई छ कि यहाँँहरुले खोपमा आधिपत्य जमाउन सफल हुनुभएकोमा पैसा, शक्ति तथा पहुँच भएको कारण तपाईंहरुले खोप उत्पादन गर्नुभयो । खोपमा लगानी गर्ने तथा महँगो मुल्यमा किन्न सक्ने धनी देशलाई खोप वितरण गर्नुभयो र आफ्ना जनतालाई रोजीरोजी खोप उपलब्ध गराउनु भयो ।

    खोप लगाउन अनिच्छुक आफ्ना नागरिकलाई बियर, गाँजा, कार तथा करोडौंको चिट्ठा खोलेर समेत खोप लगाउन बाध्य बनाउनुभयो । साम, दाम, दण्ड तथा भेदको रणनीति अपनाएर भएपनि आफ्ना जनता तथा अर्थतन्त्र बचाउन यहाँहरुले गर्नुभएको योगदान स्वर्ण अक्षरमा लेखिनेछ । 

    बिहान खाए साँझ के खाने ? तथा साँझ खाए बिहान के खाने ? भनेर जीवन बिताएको गरिब देश नेपालको पिछडिएको गाउँको गरिब नेपालीको कुरा मेरै वडा अध्यक्षले त सुन्दैनन् भने तपाईंहरुले सुन्ने आशा गर्नु मेरो पागलपन हो भन्ने ठानेको छु । मलाइ लागेको थियो, संसार एउटा सानो फुलबारी हो । यो फूलबारीमा हरेक रंग, रुप, बासना र प्रजातिका फूलको उत्तिकै महत्व छ ।

    फूलबारीको झार भएपनि मैले अलिकति पानी, अलिकति मल तथा अलिकति स्याहार पाउँछु भन्ने मेरो सपना थियो । मैले सोंचेको थिएँ धनी, शक्तिशाली तथा सभ्य संसारले महामारीको समान पीडामा समान मल्हमपट्टी लगाउनेछ । कोरोना महामारीको डर, आतंक तथा कालो छायाँ मडारिएको बेला मैले आकास हेरेर भनेको थिएँ – यो कहालीलाग्दो रात बितेर सुनौलो बिहानी आउनेछ, काम नपाएर भोकै सुतेको बेला सपना देखेको थिएँ कि उज्यालो भएपछि पेटलाई पटुकाले कस्नु पर्नेछैन । 

    कोरोना भाइरसविरुद्ध खोपको आविष्कार भयो भन्ने सुनेर म खुसीले कहिले कुन फूल तथा कहिले कुन फूल चुमेको थिएँ । त्यो थोत्रो रेडियोले भनेको थियो कि ९२ वटा गरिब देशका २०% जनसंख्यालाई उत्पादन हुनेबित्तिकै खोप पठाइनेछ भनेर - नेपाल पनि गरिब ९२ देशको शिर्षस्थानमा छ भन्दा मेरो छाती गर्वले फुलेको थियो । संसारका १८० राष्ट्रले कोभ्याक्स सुबिधा अन्तर्गत हामीजस्ता गरिब देशलाई संगसंगै खोप दिने समाचार रेडियो बटार्दा सुनेको थिएँ । त्यसमा धनी देशले हस्ताक्षर धस्काएको मसी अझै सुकेको छैन रे ।

    खोपको बारे नकारात्मक हल्लाको आँधीबेहरी मैले पनि सुनेको थिएँ । बैज्ञानिक अनुसन्धान र आविष्कारमा हामीले विश्वास गर्नुपर्छ भनेर मैले चौतारोमा झगडा नै गरेको थिएँ । त्यो बेला मलाई विश्व स्वास्थ्य संगठनदेखि बिल गेट्सको एजेन्ट भन्न बाँकी राखेनन् । खोले खान नपाएको मलाइ डलर खायो भन्ने आरोप सहेर भएपनि विज्ञानको वकालत गरिरहें । 

    छिमेकी देश भारतले नेपाललाई १० लाख डोज एस्ट्राजेनेका खोप निशुल्क दियो । सेनालाई १ लाख डोज पनि उसैले निःशुल्क दियो । सरकारले अग्रिम भुक्तानी गरेको २० लाख मात्रा मध्ये १० लाख मात्रा तुरुन्तै पठायो । त्यहि बेला कोभ्याक्स सुबिधाबाट ३ लाख ४८ हजार मात्रा पठायो । आहा! यस्तो पो छिमेकी भनेर मैले भारतलाई अँगालो कसें । कोभ्याक्सबाट २०% जनसंख्याको लागि १ करोड ३० लाख मात्रा खोप आउँछ भन्ने समाचारको विश्वास गरें ।

    मनमा लाग्यो, अर्को छिमेकीले किन नेपाल बिर्स्यो होला ? पहिले ३ लाख, अनि ५ लाख भन्दै जम्मा ८ लाख खोप चीनले दियो । स्वास्थ्यकर्मी तथा अन्य अग्रपंक्तिका व्यक्तिले लगाएपछि ६५ बर्ष काटेका बुढाबुढीको खोप लगाउने पालो आयो । मैले बुढीलाई हिड खोप लगाउन जाऔं भनेर निकै बिन्ती गरें ।

    भारतको सेनामा जागिर खाने छोराले पनि खोप लगाउन भनेको थियो । ब्रिटिश सेनामा काम गर्ने ज्वाइले पनि खोप लगाउन भनेका थिए । उसले भनी – खोप लगाए मरिन्छ अरे बुढा ! म त मरेपनि जान्न । कान्छो छोरा, बुहारी र छोरीको खोप लगाउने पालो आएन । जे होस्, मैले खोप लगाएँ । ८ हप्तामा दोस्रो मात्रा पाउने कागज बोकेर घर फर्किएँ । 

    भारतमा कोरोना महामारीको दोस्रो लहरले त्यहाँ ठूलो असर गर्यो । खुला सिमाना भएकोले नेपालमा पनि त्यो लहर भित्रियो । अक्सिजन, अक्सिजन बेड, आइसीयु, भेन्टिलेटर तथा स्वास्थ्य जनशक्तिको अभावले गर्दा नेपालमा ठूलो संकट उत्पन्न भयो । सुबिधा नआएपनि महामारीको दोस्रो लहर गाउँमा आयो । सामान्य अक्सिजनको अभावले गर्दा यो उमेरमा मैले बुढी गुमाउनु पर्यो । कल्कलाउँदो छोरो गुमाउनु पर्यो । गर्भवती बुहारी गुमाउनुपर्यो ।

    छोरी घरमा गएकी थिई । ३ हप्ता आइसीयुमा मृत्युको रेखालाई स्पर्श गरेर उ जीवनरेखामा फर्किई । यहाँभन्दा ठूलो पीडा मेरो लागि अरु के नै होला ? म मरेको भए यो अवस्था देख्नुपर्ने थिएन । हे भगवान ! यो देख्नु र सुन्नुभन्दा पहिले किन मेरा आँखा र कान फुटेनन् ? खोप लगाउन पाएको भए उनीहरु बाँच्ने थिए भनेर थकथकी लागिरह्यो । 

    पीडाको पहाड बोकेर भएपनि जीवन चलाउनु पर्दोरहेछ । मैले पहिलो मात्रा खोप लगाएको १० हप्ता नाघ्यो । दोस्रो मात्रा खोपको तनाब सुरु भयो । रेडियोले चिनाएका जनस्वास्थ्यविज्ञले त्यो बेला भनेका थिए – सरकारले आधा खोप स्टकमा राखेर अर्थात् दोस्रो मात्राको सुनिश्चित गरेर मात्र पहिलो मात्रा खोप दिनुपर्छ । पछि थाहा भयो । आएका सबै खोप लगभग सकिएका रहेछन् । देशभरमा मजस्ता अधकल्चो खोप पाउने १४ लाख रहेछन् । 

    रेडियोले भन्यो – भारतसंग किनेको खोप त्यहिँ महामारी फैलिएकोले दिने सम्भावना छैन । एउटा खबर आयो । बेलायतले नेपाललाई २० लाख डोज खोप तुरुन्तै पठाउने भयो । नेपालको ऐतिहासिक सम्बन्ध भएको बेलायतले गुन चुकाउने भयो भनेर हामी १४ लाख बुढाबुढी मख्ख पर्यौं । अर्को समाचार सुनें – डेनमार्कले १४ लाख खोप दिने रे ! यप पटक पनि निकै खुसि लाग्यो ।

    अमेरिकाले त्यहाँ थुप्रिएको करोडौं खोपमध्ये बुढाबुढीलाई दोस्रो मात्रा पुग्ने खोप दिने भयो रे ! मैले भनें – अमेरिकाको जय होस् । सरकारले चीनसँग ५० लाख मात्रा र अमेरिकासंग ५० लाख मात्रा खोप किन्ने समाचार सुनें । रुसबाट खोप किन्ने प्रकिया पुटिनको टेबुलमा पुग्यो भन्ने हल्ला सुनें । सबै हल्लाले आश्वासन मात्र दिए, खोप दिएनन् । 

    astragenica.png

    हाम्रो राष्ट्रपतिले चीनका राष्ट्रपतिसंग खोप सहयोग मागेपछि चीनले १० लाख मात्रा नेपाललाई दिने भयो । राष्ट्रपतिलाई मनमनै धन्यबाद दिएँ । राष्ट्रपतिले भारत, बेलायत, अमेरिकाका समकक्षीलाई फोन गर्नुभएको खबर सुनें । तर खोप आउने खबर सुनिन । 

    हामी १४ लाख बुढाबुढीलाई एस्ट्रेजेनेकाको खोप चाहिथ्यो । पहिलो टिका भारतको लगाएका हामीलाई दोस्रो टिका चीनको लगाउन नमिल्ने रहेछ । रेडियोले पोहोरदेखि भनिरहेको छ, हामीले छिट्टै ३ करोड नेपालीलाई खोप लगाउँछौ । मलाइ पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको याद आयो ।

    अहिलेको जमानामा त्यसो गर्न मिलेन । दुधको दुध पानीको पानी बोल्ने बिज्ञहरुले भने – सरकारले खोपको लागि प्रयास गरिरहेको छ तर खोप तुरुन्तै आउने छाँट छैन । हामी बुढाबुढीलाई खोप पठाउँदा संसार नै हलचल हुने अवस्था आएछ । राजनीतिबारे बोल्ने मन थिएन । महामारीसंगै सुरु भएको कुर्सिको राजनीतिले नेपाल थिलोथिलो भएको छ । महामारी र खोप कहिल्यै पनि राजनीतिको प्राथमिकतामा परेन ।

    एक नेताले अर्को नेतालाई भन्छन् – यो भारतपरस्त, यो चीन परस्त, यो अमेरिकी लबीको, यो युरोपियन युनियनको .... भनेर आरोप प्रत्यारोप गरे । तर आआफ्ना हृदयराष्ट्रबाट खोपको पहल गर्न उनीहरुको मुखमा माउथ प्लास्ट लाग्यो । हामीले पहिलो मात्रा लगाएको १४ हप्ता पुगिसकेको छ । खोपको आशा पनि मनदेखि नै मरेको छ । तर मन उद्देलित छ - खोपका ठूला भट्टीको बीचमा रहेर पनि हामी चिसै बस्न बाध्य भयौं ।

    अमेरिका, क्यानाडा तथा केहि युरोपेली मुलुकमा एस्ट्रेजेनेका खोपको करोडौं मात्रा स्टक गरेर राखिएको छ तर प्रयोग गरिएको छैन । ती देशमा फाइजर र मोडेर्ना लगाइएको छ । कतिपय देशमा त एस्ट्रेजेनेका खोप एक्सपायर भएर नष्ट गरियो रे ! हामी जुन खोप नपाएर छटपटीमा छौं, उता त्यहि खोप नष्ट गरिदैछ । यो भन्दा ठूलो अमानवीय सोंच अरु के होला ?

    के गरिब देशका जनता मान्छे हैनन् ? के गाभी, सेपी, कोभ्याक्स, डब्लुएचवो, युएन लगायतका संस्था धनी देशका प्रोजेक्ट हुन् ? आफैले बनाएको खोप वितरणको सिद्धान्त लागु भए र नभएको अनुगमन र निगरानी गर्नुपर्दैन ? के हामी नेपालमा जन्मिनु नै हाम्रो लागि अभिशाप हो ?

    मलाई लागेको थियो, यो महामारीले मानवताको पाठ सिकाएको छ । मैले सपनामा देखिरहन्छु – केहि शक्तिशाली देश खोपको पहाडमाथि बसेका अनि हाम्राजस्ता अल्पविकसित देश भुइंमा बसेर हात फैलाइरहेका - यो भन्दा कठोर बिम्ब अरु के हुन सक्छ ?

    भारतको स्वतन्त्रताको लागि नेपालले बगाएको रगत के पानी थियो ? अहिले भारत तथा बेलायतको सुरक्षामा कार्यरत गोर्खा फौजका बाआमा यहाँ खोप नपाएर छटपटाइरहेको अवस्थामा त्यहाँ रहेका छोराछोरीको कस्तो मानसिकता होला ? साँध जोडिएको चीनले अन्य देशलाई खोप बिक्रि गरिरहँदा नेपाललाई झुलाउनुको कारण के होला ? बीर गोर्खालीले बेलायतलाई इतिहासदेखि लगाएको गुनको के कुनै मुल्य छैन ?

    अमेरिकामा रहेका लाखौँ नेपालीको शरीर अमेरिकामा भएपनि उनीहरुको मन खोपको प्यासले तड्पिएका आफ्ना परिवारमाथि भएको तथ्य अमेरिकाले कहिले बुझ्ने ? ऐतिहासिक सम्बन्ध भएको रुसको खोप नेपालीको पाखुरामा पर्यो भने के नेपाली अछुत हुन्छन् ? के १४ लाख खोप भारतले नेपाललाई दिंदा रोटीबेटीको सम्बन्ध बिग्रिने हो ?

    खोपको यो असमान र विभेदकारी वितरणको बिरुद्ध किन आवाज उठ्न सकेको छैन ? हतियार, सुन र पैसा भए स्टक गरेर राख्न मिल्थ्यो । तर खोपको एक्सपायर डेट हुन्छ ।  खोपमा राष्ट्रबाद, भूराजनीति, आफ्नो अनुकुलको सरकार, लम्पसारबाद जस्ता तत्व किन मिसिएका होलान् ?

    गुनासो उतामात्र हैन यता पनि कम छैन । खोप उत्पादक देशसंग समन्वय राख्न नसक्ने राजदुतहरुलाई के होलिडे मनाउन राज्यले विदेश पठाएको हो ? यहाँ रहेका बिदेशी नियोग र राष्ट्रको समस्याप्रति कुनै साइनो नभएको हो ? के हाम्रो परराष्ट्र नीति पुरै असफल भएको हो ?

    के शक्तिशाली राष्ट्रलाई नेपालको उपादेयता सकिएको हो ? के नेपालका थिंक ट्यांक र नेपालीमुलका सिनेटर, ब्यबसायी आदिले मातृभूमि बिर्सेका हुन् ? आतंकबादीले समेत विपत्तिको समयमा युद्धबिराम गर्छन् - के नेपालमा कुर्सिको युद्धलाई महामारी समाधानहेतु युद्धविराम गर्न सकिदैन ?

    खोपको तृष्णाले ओंठमुख सुकेको बेला नेपालमै बल्ग्रेती पाइने मास्क, पंजा, पिपीई लगायतका स्वास्थ्य सामग्रीको साटो खोप पठाउन लबिंग गर्न सकिदैन ? दोस्रो लहरमा अक्सिजनको अभाव हाम्रो लागि अभिशाप बनेको थियो भने तेस्रो वेभमा खोप हाम्रो लागि अभिशाप बन्ने खतरा बढेको छ ।

    अमेरिका लगायत बिकसित देशमा बालबालिकालाई समेत खोपको सुरक्षाघेरामा रखिदैछ भने हाम्रा बालबालिका अनलाइन पढाइको नाममा घरभित्र कैद हुनुको बिकल्प हाम्रो सामु देखिएको छैन । अबोध बालबालिकाले पनि धनी र गरिब राष्ट्रको विभेद भोग्नुपर्ने बिडम्बना २१ औं शताब्दीको कुरूप पक्ष हो । सानो तथा गरिब मान्छेले ठूला कुरा गरेकोमा क्षमाप्रार्थी छु । 
    उहि उपेक्षित 
    श्री गरिब नेपाली 
    घोप्टेभिर, नेपाल

    २०७८, आषाढ १३ आइतवार०८:५८:०८

    डा. रविन्द्र पाण्डे

    प्रतिक्रिया
    सम्बन्धित समाचार