नेपालमा दिन प्रतिदिन मूल्य वृद्धि भइरहेको छ यसका कारणहरु निम्नलिखित हुन सक्छन् । लगानी बढ्न नसकेका कारणले गर्दा यहाँ भनेजती उत्पादन हुन सकेको छैन, उत्पादन नभएपछि बजारमा बस्तुको अभाव हुन जान्छ र महङ्गी बढीरहेको छ ।
त्यती मात्र होइन देशमा बस्तु उत्पादन नभएपछि बाहिरबाट आयात गर्नु पर्यो यसरी आयातमा निर्भर अर्थतन्त्र हुँदा पनि महङ्गी बढ्छ । उपभोक्तालाई र कतिपय अवस्थामा ब्यापारीलाई पनि बजार मूल्य सम्वन्धी सुचनाको अभाव हुँदा पनि यो अवस्थाको सिर्जना हुन पुग्छ ।
ब्यापार ब्यवसाय भनेको विश्वास र निष्ठामा चल्ने हुन्छ तर यसमा निष्ठाको अभाव हुनजाँदा जथाभावी बस्तुको मूल्य बढेर जाने अवस्थाको सिर्जना हुन्छ । हामी कहाँ वस्तु उत्पादन नै नहुने त होइन तर कहिले काहिँ हामीले उत्पादन गरेको बस्तु खेतबारीमा नै सडेर जान्छ यो बजार सम्म पुग्न नै पाउदैन जसले गर्दा बजारमा बस्तुको अभाव हुन गई मूल्य बृद्धि हुन जान्छ ।
हामी कहाँ सबै भन्दा धेरै मूल्य बृद्धि पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धिको कारणले हुने गर्छ । पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि हुनासाथ वस्तुको ढुवानीमा सिधै असर पर्छ र मूल्य बृद्धि चाँडो चाँडो हुन्छ । नाफा कमाउने उद्धेश्यले सञ्चालन गरिएका ब्यापार व्यवसायहरुले आफ्नो फाइदाकालागी जथाभावी मूल्य बृद्धि गर्न थालेको अवस्थामा यसलाई सरकारी संयन्त्रले अनुगमन र नियन्त्रण गर्नु पर्छ तर नेपालमा यो संयन्त्र कमजोर हुदा सँधै उपभोक्ताले मूल्य बृद्धिको सामना गरीरहनु परेको छ ।
मानव पूँजी सबै भन्दा महत्वपूर्ण पूँजी हो तर नेपालमा यसको सहि सदुपयोग भएको अवस्था छैन । अझ अगाडी बढेर भन्नु पर्दा यसको पहिचान नै हुन सकेको छैन जसले गर्दा वौद्धिक पलायनको अवस्था सिर्जना भएर उत्पादन हुन नसकेको अवस्था पनि छ ।
कृषिमा आधारित हाम्रो अर्थतन्त्रमा विषेश गरेर श्रम प्रधान उत्पादन प्रविधिको बढी प्रयोग हुनाले र कृषिलाई आधुनीकीकरण गर्न नसक्नाले कृषिजन्य वस्तुको आयात बढ्दा हामीले मूल्य बृद्धिको सामना गर्नु परेको छ । कुनै समयमा "हरियो बन नेपालको धन" भनेर चिनिने नेपालमा वनको संरक्षणको अभाव त छँदैछ भने भएको बनलाई पनि दिगो विकासको अवधारणा अनुसार प्रयोग गर्न नसक्नु ठूलो समस्याको रुपमा रहेको छ ।
कतिपय विकासवादीहरुको भनाइ के छ भने वनलाई चलाउनु हुदैन, जस्तो छ त्यसलाई त्यही अवस्थामा जोगाई राख्नु पर्छ तर बास्तवमा हामीले यो गलत गरिरहेका छौ भएको बनलाई पुरापुर उपयोग गर्नु पर्छ तर एउटा बुढो रुख वनबाट काट्यो भने त्यो ठाँउमा दुईओटा विरुवाहरु लगाउनु पर्छ यसो गर्न सके जंगलमा काठ कुहिएर जाने र विदेशबाट महङ्गो मूल्यमा आफुलाई चाहिने काठ किनेर ल्याउने अवस्थाको अन्त्य हुन्छ । कोभिडले हाम्रो देशको सेवा क्षेत्रमा पारेको प्रभावले पनि हामीले मुल्य वृद्धिको सामना गर्नु परेको छ ।
धेरै पैसा कोभिडको डरले गर्दा उत्पादन मूलक क्षेत्रमा भन्दा घरजग्गा जस्ता अनुत्पादक क्षेत्रमा लगानि गरिएको छ । जसले गर्दा उत्पादनमूलक क्षेत्रमा पैसा अभाव छ । यी कारणहरुले मूल्यबृद्धि भई रहेको वर्तमान अवस्थामा यसको समाधानका लागी यीनै कारणहरुको समाधान वा निवारण खोज्नु पर्छ भन्ने मेरो बुझाई छ ।
अव पटक पटक मूल्य बृद्धि हुने पेट्रोलियम पदार्थ तीर हेर्ने हो भने नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ८३.४९ रुपैयाँमा खरिद गरेर उपभोक्ताबाट ५७.७३ रुपैयाँ कर उठाँउछ । त्यसबाहेक निगमको खर्च स्वरूप २.०३ रुपैयाँ, ढुवानी भाडा ५.०१ रुपैयाँ र मुनाफा भनेर ५.३२ रुपैयाँ जोड्दै १ सय ३६ रुपैयाँमा बिक्री गर्ने गरेको छ । यसरी विक्री गर्दा उसलाई १७.५८ रुपैयाँ घाटा भएको जनाईएको छ ।
त्यसैगरी डिजेल ८२.२१ रुपैयाँमा खरिद गरेर ४०.४१ रुपैयाँ कर लगाई निगमको खर्च १.५९ रुपैयाँ, ढुवानी भाडा ३.७७ रुपैयाँ र पेट्रोलियम बिक्रेता मुनाफा स्वरूप ४.१७ रुपैयाँ जोडेर रु ११९मा बेच्दा १३.१४ रुपैयाँ घाटा भएको र ग्याँस प्रतिसिलिन्डर रु १६१४ मा खरिद गरेर रु २७९ करलगाई, ११.६६ रुपैयाँ निगमको खर्च तथा रु ३२८ विक्रेताको नाफा र खर्च जोडेर रु. १५७५ मा बेच्दा निगमलाई ६ सय ५७ रुपैयाँ घाटा हुने जनाईएको छ ।
यो तथ्यांक हेर्दा दिन प्रतिदिन भई रहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धीबाट राहत पाउनकालागी पेट्रोलियम पदार्थमा भएको अनावश्यक करको भार कम गर्नु पर्छ, चुहावट रोक्नु पर्छ । डिलरहरुको कमीसनमा पुर्नविचार गर्नु पर्छ, वोनसमा कमी गर्नु पर्छ ।
अनैतिक ब्यापार हुने गरेको भए रोक्नु पर्छ, सूचना लिक भएर कृतिम अभावको सृजना हुन दिनु हुँदैन, कहिले काहिँ तेल लोड गरेर राती १२ बजेबाट मूल्यवृद्धि हुने गरेको सुनिएको छ यसले निगमको घाटा बढ्छ भने उपभोक्ता मारमा पर्छन् यसको बारेमा पनि सरकारले सोच्नु पर्छ ।
मूल्यमा कार्टेलिंग नहुनेगरी आयल निगमको एकाधिकारको अन्त्य हुनुपर्छ । भारतबाट आउने तेल विचौलिया मार्फत उतै जाने प्रबृत्तिलाई रोक्नु पर्छ, पब्लिक इन्टरप्राइजेजहरुको पूर्ति बढाउने तिर लाग्नु पर्छ । पेट्रोल पम्पहरु सरकारी निगरानी र नियन्त्रमा हुनु पर्छ वा सरकारी तवरबाट मुख्य शहरहरुमा धेरै पेट्रोल पम्पहरु खोल्नु पर्छ ।
तत्काल पेट्रोलियम पदार्थकको मुल्य घटाउँदा आयल निगमलाई हुने घाटा सरकारले बिभिन्न माध्यमबाट पुरा गरिदिनु पर्छ । जनताको पक्षबाट पनि मूल्य वृद्धि प्रति सजगचाहिँ हुन पर्छ । यसकालागी मूल्य बृद्धि हुनासाथ कम पेट्रोलियम पदार्थ खर्च गर्ने वानीको विकास गर्नु पर्छ जस्तो नजिकै भए पैदलै जाने आदी । बिद्यूतको युनिट मुल्य घटाई यसको प्रयोग बढाएर पेट्रोलियम पदार्थको आयात क्रमशः घटाउदै जानु पर्छ, जसले गर्दा पनि मूल्य नियन्त्रणमा रहन्छ ।
अहिले बैंकमा निक्षेप बढेको छैन भने कर्जा लगानीमा भने आक्रामक रुपमा बढेकाले तरलताको अभाव कायमै छ । जसले गर्दा व्याजदरमा समय समयमा बृद्धि हुने गरेको छ । गत साउन देखिनै रेमिट्यान्सका साथै पर्यटन लगायतका क्षेत्रको आम्दानी घट्नु, सरकारले समयमै बजेट खर्च गर्न नसक्नु र आयात उच्च वृद्धि भएसँगै बैंकमा निक्षेप बढ्न नसकेको हो ।
केहि समय अगाडी बैंकहरूमा देखिएको व्याजदर प्रतिस्पर्धा फेरी दोहोरिने हो भने कोभिड–१९ का कारण प्रभावित भएको अर्थतन्त्र थप प्रभावित हुने देखिन्छ ।
यसबाट बच्नकालागि बैंकिङ क्षेत्रको अभिभावक संस्था नेपाल राष्ट्र बैंकले बेलैमा सोच्नु पर्छ साथै बैंकहरुका बीचमा यसअघि भएका भद्र सहमति तथा छलफलका निर्णयअनुकूल बैंकको ब्याजदरलाई सिंगल डिजिटमा नबढ्ने गरी कायम गर्न र मुलुकको आर्थिक अवस्था सकारात्मक नभएसम्म यो व्यवस्थालाई निरन्तरता राख्नलागि पहल गर्नु पर्छ जसले गर्दा बजारमा लगानी बढ्न गई मुल्य बृद्धि केहि हदसम्म भएपनि नियन्त्रणमा रहन सक्छ ।