शिक्षकको बढुवा कहिले ?

शिक्षकको बढुवा कहिले ?

२०७८, पौष १३ मंगलवार

  • 4.4K
    SHARES

  • शिक्षकको बढुवा कहिले ?

    एउटा भाई र म २०४८ तिर नेपाल सरकारको जागिर संगसंगै खायौ । ऊ नेपाल प्रहरीमा सिपाहीमा जागिर खायो । मैले प्राथमिक शिक्षक पदमा जागिर खाएँ । भाई सिपाहीबाट हवल्दार ७ वर्ष मै भयो । हल्वदार भएको ४ वर्षमा एउटा ठुलै अपराधीलाई पक्राउ गरे वापत सरकारले एक प्रमोशन दियो  असई भइ हाले । ११ बर्ष कै बिच दुई पटक प्रमोशन भए ।

    त्यसैबीच देशमा २०५२ सालदेखि माओवादीको सशस्त्र द्वन्द्व शुरुवात भएको थियो । द्वन्द्व चरम रुपमा वढ्दै थियो। सरकारले सशस्त्र प्रहरी वल गठन गर्यो । प्रहरी सेवाबाट शसस्त्र जानेलाई एक तह बढुवा दिने नेपाल सरकारले निर्णय गर्यो । त्यस बेला माओवादी जनयुध्द चरम दिशामा अगाडि बढिरहेको थियो ।

    शसस्त्र प्रहरी वलमा जान जोकोहि पनि डराउँथे, भाई अलि आँटिलो थियो । उसले शसस्त्र जाने निर्णय गर्यो । नियम अनुसार एक तह बढुवा भयो । हेर्दाहेर्दै शसस्त्र प्रहरीको सहायक निरीक्षक भयो । हतियार सम्वन्धि तालिम लियो। बढो आत्मबल सहित विभिन्न मोर्चामा कर्तव्यपुर्वक सरकारले अह्राएको काम गर्यो । सरकारले केही संख्यामा दरवन्दी थप गर्यो । पढाई भने एस. एल.सी.मात्र थियो ।

    थप दरवन्दी आउना साथ पाँच वर्ष मै भाईको थप एक प्रमोशन भयो । शसस्त्र बलको निरीक्षक पदमा बढुवा भए । ७२-७३ सालतिर फाइल बढुवामा एक प्रमोशन भई डि.एस.पी भए । ४ वर्ष भयो उनी अहिले रिटाएर भएका छन् । एउटा सिपाही - हवल्दार-असई- सई- इन्स्पेक्टर हुंदै डिएसपी सम्म पाँच पटक बुट बजारेरै प्रमोशन भए ।

    भाई अहिले पेन्सनमा बसेको छ । नोकरी अवधिमा ६ महिनाकोलागि विदेश पनि गयो । राम्रै कमाई भयो भन्थ्यो । हिजो आज पेन्सनमा छ । भाई निकै खुसी छ ।

    यसैगरि......

    मेरो अर्को भाई नेपाल दुर संचारमा सेवा प्रवेश गर्दा ३ तहमा नियुक्ति भएको थियो । ऊ अहिले ३ पटक बढुवा भएर छैठौ तह अर्थात अधिकृत तहमा कार्यरत छ । भाईको पढाई भने एस.एल.सी.सम्म मात्र छ । निलो कोटमा निकै फुर्तिका साथ छातीमा परिचय पत्र झुण्डाएर कार्यालय आउने जाने गर्दछ । स्वदेशभित्र थुप्रै पटक र विदेशमा समेत २-२ पटक विदेशस्थित तालिम लिने सौभाग्य समेत पाएको छ । तलव भत्ता, सुविधा, वर्षै वर्ष बोनस, लाभांश विदा समेत राम्रै छ । ऊ पेशा र सेवासंग सन्तुष्ट छ ।

    त्यस्तै.....

    अर्को एउटा भाई छ निजामती सेवाको खरदार पदमा प्रवेश गरेको १७ बर्ष भयो । ८ वर्ष मै पहिलो फाइल बढुवा भएर नायव सुव्वा र अर्को ९ वर्षमा शाखा अधिकृत भएको छ । दुई पटकको बढुवा र राम्रो कमाई हुने कार्यालयमा बसेर ऊ दंग छ । आफ्नै घर गाडी छ । ऊ पनि निकै सन्तुष्ट छ ।

    त्यसै गरि......

    अर्को एउटा छिमेकी भाई छन् । उनी कानुन सेवाको सुव्बा पदमा प्रवेश गरेको ७ वर्ष मै पहिलो पटक बढुवा भएर अधिकृत भए । अर्को ९ वर्षमा उप-सचिव भएका छन् । सरकारी वकिल भएर कार्यरत छन् । दुई पटकको बढुवा र राम्रो कमाई हुने भएर ऊ दंग छ । काठमाडौमा एक रोपनीको जग्गामा तीन तल्ले घर किनेर चार जनाको परिवार सहित निकै सन्तुष्टका साथ बसेका छन् ।

    फेरि यसैगरि.....

    यस्ता सयौं सयौ उदाहरण छन् । यी त प्रतिनिधी घटनाहरु मात्र हुन । शिक्षकहरुका सयौ कुण्ठा र आक्रोस छन् । शिक्षण जस्तो पवित्र पेशामा निष्कलंक अविरल यात्रामा थुप्रै शिक्षक खुसी छन् । आफ्ना शिष्यका प्रगतिमा मख्ख हुने शिक्षक पनि थुप्रै छन् ।

    कतिपय शिक्षकहरुलाई शिक्षण पेशा भन्दा राम्रो अवसर आउदा पनि यही पेशा खुसीका साथ अपनाउने पनि थुप्रै छन् । कतिपय शिक्षकहरु जीवन निर्वाह गर्न कठिनाई परेका कारण आक्रोस, पिंडा, कुण्ठा पनि छ । 

    फेरि त्यस्तै......

    म हामी शिक्षक २०४६ -०४८ सालमा नियुक्ती भएको २०६३ साल सम्म न बढुवा न सरुवा न मान न सम्मान। ०५२ साल नतिजा ०६० सालमा । ०६०/०६३ सालको स्थायी न बढुवा न मान न सम्मान । त्यस बीच एक दुई पटक बढुवा सुची  निकाल्यो त्यो बढुवा सुचीमा पर्दैनन वा पारिदैनन् ?

    शिक्षक सेवा आयोगका पदाधिकारीको नियुक्तिको ढिलाईले नियमित कामहरु समेत अवरुध्द छन् । २०७५ सालदेखि  नियमित रुपमा हुने फाइल बढुवा परीक्षाका कार्यक्रम स्थगन भएका छन् । 

    फेरि त्यसै गरि...... 

    कुनै कालखण्डमा तल्लो तहमा लियन राखेर माथिल्लो तहमा अस्थायी नियुक्त हुने अवसर थियो । केही शिक्षकहरु अस्थायी बढुवा हुन्थे । ती व्यवस्था अहिले खारेज भएका छन् । त्यसबेलाको अस्थायी पदहरुको विज्ञापनबाट केही शिक्षकहरु स्थायी भए ।

    त्यती बेला ती स्थायी शिक्षकहरु २०५०, २०६०, २०६३ सम्मका शिक्षकहरु आज सम्म पनि फाइल बढुवामा परेका छैनन । न बढुवाको परीक्षा नै भएको छ । भएपनि १-२ पटक भयो, २-४ सिटमा हुन्थ्यो । सयौको संख्यामा आवेदन पर्थ्यो । १-२ जनाले त मौका पाउथे ।

    २०६० सालदेखि नियुक्त भएका कार्यरत  शिक्षकहरु आज सम्म पनि बढुवा हुन सकेका छैनन, एकाध बाहेक । शिक्षकहरु २० औ वर्षदेखि बढुवा भएका छैनन् । यत्ती नै अवधिमा अन्य क्षेत्र जस्तै परराष्ट्र, कानुन, शिक्षा सेवा र निजामती सेवामा नियमित रुपमा बढुवा भैरहेका छन् नियमित तवरबाट। निजामती, शिक्षा, कानुन, परराष्ट्र, कतै त्यस्ता कर्मचारी १०-१२ वर्षभित्र बढुवामा नपरेका छन् त ?

    लामो समय सम्म बढुवा नभएको कर्मचारीहरुको केही उदाहरण छन् त पक्कै छैनन १ यसर्थ २० औ वर्ष समय सम्म पनि बढुवा नहुने शिक्षकहरुले कुन उच्च मनोबलले कक्षाकोठामा अध्यापन गराउने ? गराईराख्ने ? यो देशभरिका आम शिक्षकहरुको प्रश्न हो । 

    अनि फेरि त्यसै गरि ......

    म कार्यरत विद्यालयले वि.स.२०५९ सालदेखि एस.एल.सी.र एस.ई.इ. परीक्षा दिन थालेको हो । आज सम्म विद्यालयको नतिजा राम्रै छ । साथै म आफुले पढाएको विषयमा एस.एल.सी.र एस.ई.इ. मा आज सम्म एउटा विद्यार्थी अनुतिर्ण भएका छैनन् ।

    एउटा शिक्षकको त्यो मेहनत मुल्यांकन गर्ने पद्दति शिक्षा सेवामा अर्थात शिक्षकको हुँदो रहेनछ । विद्यार्थी उत्तीर्ण भए, विद्यार्थी खुसी भए हामी शिक्षक त्यसै गदगद हुन्छौ । 

    अझै फेरि त्यसै गरि .....

    सरकारको भनाई र गराई नै फरक फरक छ । सरकारले भन्ने एउटा गर्ने अर्कै हुन्छ । वर्षेनी बजेटमा संकुचन हुँदै गएको छ । शिक्षा र शिक्षण पेशा मर्यादित बनाउनु पर्नेमा स्वयम् सरकार नै १७-१८ थरिका शिक्षकहरुलाई वर्गिकरण गरेको छ । तह र तलवमान फरक फरक छ ।

    शिक्षकको सुरक्षा र स्थायित्वको कुनै जिम्मेवारी लिँदैन । निजी क्षेत्रलाई प्रश्रय दिइरहेको छ । शैक्षिक गुणस्तर दिनानुदिन खस्कँदो छ । अनुगमन र निरीक्षण फितलो हुँदैछ । माध्यमिक तह सम्मको शिक्षा स्थानीय तहलाई जिम्मा दिए पछि सरकार शिक्षाबाट पन्छन खोजेको प्रष्ट नै छ । 

    अन्तमाः......

    भनिन्छ शिक्षक समाजको ऐना हो । असल शिक्षाले समाज, राष्ट्र सहजै रुपान्तरण हुन्छ। शिक्षामा भएको लगानी चाऊचाऊ फ्याक्ट्री मुनाफा आए जस्तै तत्कालै आउँदैन । यो त लगानी गरेको २० औ वर्ष पछि बल्ल नतिजा देखिन थाल्छ । हाम्रा शासक वर्गहरु चाऊचाऊको मुनाफा झै तत्काल खोज्छन ।

    यस्तो विषय सरकारलाई कसले बुझाउने ? सरकारले कहिले बुझ्ने ? चल्तीफिर्ती पार्टी र नेता, कुम्भकर्ण जस्तो सरकार, गोही जस्तो शिक्षाविद्, अजिंगर जस्तो प्रशासन, चिल जस्तो स्थानीय सरकार, विद्यालय आफ्नै पेवा ठान्ने प्रधानाध्यापक, हाँस जस्तो शिक्षकका ट्रेड युनियन, कौवा जस्ता शिक्षकबाट अझै यो मुलुकले केही पाउन सक्दैनन् । 

    शिक्षामा परिवर्तन अर्थात पुनर्जागरण हुनु जरुरी छ । समय सापेक्ष ऐन कानुन, देशको हावा,पानी माटो, सुहाऊँदो शिक्षा निती, विश्व परिवेश अनुसार शिक्षा प्रणाली, आवश्यकता अनुसार लगानीमा बृध्दि, सक्षम शिक्षक, कुशल प्रशासक, चुस्त दुरुस्त अनुगमन, उत्तरदायी अभिभावक, लगनशील विद्यार्थीबाट मात्र मुलुक समृद्धी र समुन्नत हुन्छ । यसमा कसैको दुइमत हुदैन ।

    शिक्षक संघका उप-महासचिव पन्तका अन्य पाठ्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्

    २०७८, पौष १३ मंगलवार०६:२१:१७

    सुन्दर पन्त

    प्रतिक्रिया
    सम्बन्धित समाचार