शिक्षक नेतृत्व सामु चुनौतिको भारी

शिक्षक नेतृत्व सामु चुनौतिको भारी

२०८०, बैशाख ८ शुक्रवार

  • 7.4K
    SHARES

  • शिक्षक नेतृत्व सामु चुनौतिको भारी

    नेपाल शिक्षक संघको ९ औं राष्ट्रिय महाअधिवेशन २०७९ चैत्र २८-३० मा विभिन्न प्रस्तावहरु पारित गरेर सम्पन्न भएको छ । यसको ९ औं राष्ट्रिय महाअधिवेशन नयाँ नेतृत्व र निति समेत पारित गरेर सफलताका साथ सम्पन्न भएको छ । शिक्षकको हक हित प्राप्ति, लोकतान्त्रिक मूल्य र मान्यता, प्राज्ञिक स्वतन्त्रता, मानव अधिकार पक्षमा दह्रो रुपमा प्रस्तुत हुँदै आएको शिक्षकहरुका पेशागत संगठनहरु मध्ये सबै भन्दा ठुलो ८३ हजार सदस्य रहेको संगठित संस्था हो ।

    नेपाल शिक्षक संघको ९ औं राष्ट्रिय महाअधिवेशनको सम्मेलनबाट केही मुलभुत मुद्दाहरु जस्तै नयाँ शिक्षा ऐन, गुणस्तरीय शिक्षा, दरवन्दीको उचित व्यवस्थापन, दरवन्दी मिलान, विषयगत शिक्षक, इसिडी, विद्यालय कर्मचारी, तलव वृध्दि, राहत शिक्षक तथा उच्च माविका शिक्षकको दरवन्दी र स्थायित्व, संबैधानिक शिक्षक सेवा आयोगको स्थापना, स्थानीय तहमा गएको माध्यमिक तह सम्मको शिक्षालाई व्यवस्थापन लगायत थुप्रै विषय टडकारो रुपमा उठेको छ ।

    यस अधिवेशनमा यी माथिका उठेका मुल मुद्दाहरुलाई वर्तमान नयाँ नेतृत्वले अपनत्व लिएर अगाडि बढ्नु पर्ने देखिन्छ । तर मुलुकमा शिक्षामा देखिएको व्यापारिकरण र गैर जिम्मेवारी राजनैतिक दलको अदूरदर्शी नितिका कारण सो ज्यादै नै चुनौतिको रुपमा देखिएको छ । 

    शिक्षा ऐन आउछ कि आउदैन त्यो गर्भ मै छ । सत्ता गठवन्धनका शिर्ष नेताहरुसँगको हरेक भेटवार्तामा यो अधिवेशनमा पक्कै आउँछ भन्नु हुन्छ । शिक्षकहरुका भेला सभा सम्मेलनमा पक्कै ल्याएरै छाड्छौ भन्नु हुन्छ । तर संसदमा पेश हुने कतै कुनै छाँटकाँट देखिदैन । यसपटक शिक्षा ऐन र ५१ बुँदे माग मुद्दालाई सम्वोधन नहुने हो भने आन्दोलनमा होमिनु बाहेक अर्को कुनै विकल्प हुनु हुँदैन । 

    विगतमा नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको ५१ बुँदे सहमतिलाई प्रतिक्षारत शिक्षा ऐनमा कसरी सम्बोधन हुने हो त्यस तर्फ पनि चनाखो हुनुपर्ने दायित्व वर्तमान नयाँ नेतृत्वलाई छँदैछ । साथै ५ वर्ष भन्दा बढी नेपाल शिक्षक संघको अधिवेशन हुन नसकिरहेको सन्दर्भमा नेपाल शिक्षक संघले यसलाई सहज ढंगबाट महासंघको नेतृत्व लिएर शिक्षकका विगतदेखिका समस्या समाधान तर्फ केन्द्रित होस भन्ने चाहनालाई पुरा गर्नु पर्ने दायित्व पनि वर्तमान नेतृत्वमाथि चुनौति थपिएको छ । 

    विगत धेरै वर्षदेखि सामुदायिक विद्यालयमा राम्रो पठनपाठन हुँदैन भन्ने आम समुदायको हेर्ने दृष्टिकोणलाई समेत क्रमशः परिवर्तन सबै शिक्षकका पेशागत संगठनले सामुहिक रुपमा कार्यक्रम सहित अघि बढ्नु पर्ने देखिन्छ । राज्यबाट प्राप्त स्रोत र साधनको भरपुर प्रयोगले समेत नतिजा उल्लेखनीय नभएको हुँदा आम धारणा वन्नु स्वभाविकै नै मान्नु पर्छ । यस्तो भ्रम चिर्न पनि वर्तमान नेतृत्व सजग हुनै पर्छ । समुदायलाई आश्वस्त पार्न कार्यक्रम र नजिता संगसंगै लैजाने निति बनाउनु पर्दछ । 

    अतः अव नेपाल शिक्षक संघको नयाँ नेतृत्वले शैक्षिक गुणस्तर वृध्दि गराउन स्थानीय, प्रदेश र संघीय सरकारसंग मिलेर देशभर नै अभियान कै रुपमा कार्यक्रम चलाउनु पर्दछ । खस्कदो शिक्षालाई पुरुत्थान गर्न सबै सरोकारित पक्षको उत्तिकै महत्वपुर्ण भूमिका रहन्छ । वर्तमान नेपाल शिक्षक संघ त्यस दिशा तर्फ अगाडि बढ्न प्रेरित रहोस । 

    शिक्षक संघका नव निर्वाचित उपाध्यक्ष पन्तका अन्य पाठ्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्

    २०८०, बैशाख ८ शुक्रवार०१:५४:४३

    सुन्दर पन्त

    प्रतिक्रिया
    सम्बन्धित समाचार