काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.महेशराज दाहालको निजी निवासमै प्रवेश गरि कालोमोसो छर्कि दुर्व्यवहार गर्नेलाई अविलम्ब कारवाही गर्न नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले माग गरेको छ ।
यही जेष्ठ २९ गते आयोगका अध्यक्ष दाहाललाई कालोमोसो दलि दुर्व्यवहार तथा आक्रमण गरिएकोमा प्राध्यापक संगठनले कडा आपत्ति जनाएको हो ।
अध्यक्षलाई कालोमोसो दल्नेहरु सत्ताधारी विद्यार्थी संगठनका नेता रहेका पनि प्राध्यापक संगठनले जनाएको छ । विभिन्न विश्वविद्यालयका पदाधिकारी माथि सिलसिलेवर रुपमा आक्रमण जारी रहेको भन्दै संगठनले चिन्ता समेत व्यक्त गरेको छ ।
कतै पदाधिकारीको कुर्सी जलाउने त कतै प्राध्यापकको कुर्सी नै रुखमा झुण्ड्याउने कार्य भईरहेकोमा सरकार मुकदर्शक भएर रमिते बनेको संगठनको आरोप छ ।
"विद्यार्थी संगठनका नाममा भईरहेका यस्ता ज्यादतीका कारण पनि नेपालमा अध्ययन गर्ने विद्यार्थीको संख्या निरन्तर घटदै गएको र यस्ता अराजक, अमर्यादित, अशोभनीय, र नियोजित जबरजस्त घटनाको सङ्गठन घोर भत्र्सना र निन्दा गर्दछ", संगठनको विज्ञप्तिमा भनिएको छ ।
स्वस्थ प्रतिस्पर्धा मार्फत नेपालका विश्विद्यालयका पदाधिकारीहरूको नियुक्ति हुनु पर्नेमा नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले निरन्तर आवाज उठाइ आएको समेत संगठनले जनाएको छ ।

