नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय परिषद भोलिदेखि

नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय परिषद भोलिदेखि

२०८०, श्रावण ५ शुक्रवार

  • 1.5K
    SHARES

  • नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय परिषद भोलिदेखि

    पाटन । नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय परिषद भोलिदेखि ललितपुरमा शुरु हुँदैछ । 

    वि.सं. २०३६ सालमा स्थापित मुलुककै जेठो संगठनको रुपमा रहेको शिक्षक संगठनको दुई दिन सम्म चल्ने परिषदलाई महत्वका साथ हेरिएको छ । परिषदमा महाधिवेशन पश्चातको एक वर्ष अवधिको समिक्षा, वर्तमान कार्ययोजना तथा भावि रणनीतिका बारेमा मसिनो ढंगले छलफल गरिने संगठनले जनाएको छ ।

    त्यस्तै विधान संसोधन गर्ने कार्य सूची समेत रहेको बताइएको छ । त्यस अघि बुधवार र विहिवार राष्ट्रिय समितिको चौथो पूर्ण बैठक बसी सांगठनिक, आर्थिक तथा महिला विभागको प्रतिवेदनका साथै विधानमा संसोधित हुनु पर्ने विषयमा पनि छलफल गरेको थियो ।

    शिक्षकका समस्या तथा हकहितका सम्बन्धमा शिक्षक महासंघले हालसम्म खेलेको भूमिका, संस्थागत विद्यालयका शिक्षकको तलव, सेवा एवं सुरक्षाका सम्बन्धमा समेत परिषदमा गहन छलफल हुने अनुमान गरिएको छ । हाल शिक्षक महासंघको अध्यक्षमा नेपाल राष्ट्रिय शिक्षक संगठनको तर्फबाट कमला तुलाधरले नेतृत्व गरिरहेकी छन् । 

    त्यसै गरि विगत ९ महिना देखि विवादित बन्दै आएको सल्लाहकार संरक्षक राख्ने विषयले पनि निकास पाउने अनुमान गरिएको छ । विधानमै नभएको पद सिर्जना गरिएको भन्दै सदस्यहरुले विरोध गर्दै आएकामा परिषदले अन्तिम निर्णय दिने बुझिएको छ । 

    परिषदमा भाग लिन देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षक गरी ४ सयको संख्यामा सहभागी हुने संगठनले जनाएको छ ।

    २०८०, श्रावण ५ शुक्रवार०८:३५:५३
    प्रतिक्रिया
    सम्बन्धित समाचार