काठमाडौं । नेपाली शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासङ्घमा लफडा भएको छ ।
महासङ्घका महासचिव लक्ष्मी किशोर सुवेदीद्वारा गत चैत्र १६ गते सामाजिक सञ्जालमा सम्प्रेषित सूचनाका कारण महासङ्घमा आवद्ध शक्तिशाली संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन महाधिवेशनमा सहभागि नहुने भएपछि आजबाट शुरुहुनु पर्ने दोस्रो महाधिवेशन नै धरापमा परेको हो ।
शिक्षक संगठनले एक विज्ञप्ति नै जारी गरि महाधिवेशनमा सहभागि नहुने जनाएको छ । महासङ्घमा नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ लगाएत १४ वटा घटक संस्थाहरु आवद्ध छन् ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको बैशाख ७ र ८ गतेको राष्ट्रिय समितिको बैठकको निर्णय अनुसार पदसोपानका नाममा महासङ्घको विधान विपरीत एक पक्षीय ढङ्गले जिल्ला समितिहरू घोषणा गरेको लगाएतका कारण जनाउँदै सहभागी नहुने घोषणा गरेको हो ।
२०७८ सालमा नविकृत अभिलेखलाई आधार मान्दै गरिएको महासचिवको सूचनाले सो सालमा सेवानिवृत्त भएका, मृत्युवरण गरेका शिक्षक समेत प्रतिनिधि हुने अवस्था सिर्जना भएको छ भने विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षकहरू सदस्यताबाट वञ्चित हुने भएका छन् ।
त्यस्तै, आवद्ध संगठनको अभिलेख घटाई आफ अनुकुल जिल्ला समिति र प्रतिनिधि चयन गरिएकामा विधानको दफा ७(१) आकर्षित हुनुपर्ने संगठनका राष्ट्रिय समिति सदस्य राम प्रसाद ढकालले बताए ।
माघ २९ गते जारी भएको महासङ्घको पत्रको आधारमा विधान बमोजिम स्थानीय, जिल्ला अधिवेशन सहमति नजिक पुगेको अवस्थामा सुवेदीको चैत्र १६ को सामाजिक सञ्जालमा सम्प्रेषित सूचनानै महाधिवेशन भाँडिनुको कारण देखिएको संगठनले जनाएको छ ।
त्यस्तै, २०८० को ताजा सदस्यता प्रमाणीकरण गरी विधान सम्मत स्थानीय, जिल्ला र प्रदेश अधिवेशनहरू सम्पन्न नभएकाले नेपाल शिक्षक महासङ्घको विधान बमोजिम पालिका, जिल्ला र प्रदेश अधिवेशन गरी महाधिवेशन गर्नका लागि घोषित महाधिवेशन स्थगनको अनुरोधलाई नेपाल शिक्षक महासङ्घले बेवास्ता गरेकाले दोस्रो महाधिवेशनमा सङ्गठनको सहभागिता नहुने बताइएको छ ।
दोस्रो महाधिवेशन वैशाख १० - १२ गते सम्म तोकिएको छ ।
