वीरगञ्ज । मधेश प्रदेश अन्तर्गत वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३० बजे सम्म मात्र विद्यालय संचालन गर्न सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ । महानगरको आइतबार बसेको बैठकले गर्मी बढेसँगै आजदेखि विद्यालयको पठनपाठन सीमित अवधिमा मात्रै गर्न निर्देशन दिएको हो ।
आइतबार बसेको बैठकले हाल शिक्षणको समयावधिमा हुने क्षतिलाई पछि मिलान गर्ने गरी शैक्षिक क्षतिलाई न्यूनीकरण गर्नका लागि अर्को सूचना जारी नभएसम्मका लागि जेठ २८ गतेदेखि बिहान १०ः३० बजेभित्र पठनपाठन सक्ने गरी कक्षा सञ्चालन गर्ने समयावधि व्यवस्थापन गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ ।
यसअघि पनि बिहानी शत्रमा पठनपाठन हुँदै आईरहेको महानगरमा गर्मी बढेसँगै महानगर शिक्षा समितिको २०८१ जेठ १४ गते बसेको बैठकले जेठ १६ गतेदेखि १८ गतेसम्मको लागि तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गरेको थियो ।
यस महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय छन् । सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय रहेको छ ।